मेलम्चीको जस लिने प्रयासमा कांग्रेसले बनायो भिडियो – Nepal Press

मेलम्चीको जस लिने प्रयासमा कांग्रेसले बनायो भिडियो

काठमाडौं । मेलम्ची निर्माण सम्पन्न भएसँगै यसको जस लिन राजनीतिक दलहरुबीच होडबाजी चल्दै आएको छ ।

वर्तमान सरकार र सत्तारुढ दल एमालेले त जस खोज्ने नै भयो, सत्ता गठवन्धनको सहयात्री नेकपा माओवादी र प्रतिपक्षी नेपाली कांग्रेस पनि मेलम्चीमा आ–आफ्नो योगदानको प्रचारमा तल्लीन छन् ।

यो प्रतिस्पर्धामा नेपाली कांग्रेस चाहिँ एक कदम अगाडि बढेको छ । कांग्रेसले मेलम्चीको आयोजनाको बारेमा भिडियो नै बनाएर जस लिन खोजेको हो । कांग्रेसका प्रचार विभागले तयार पारेको भिडियोमा कांग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराईले ‘मेलम्चीको सपना देखेको’ उल्लेख छ ।

भिडियोमा वाचकले भन्छन्, ‘आउनुहोस, मेलम्ची नदीको निर्मल जललाई स्वागत गरौं काठमाडौंमा । सन्त नेता कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी ल्याएर काठमाडौंलाई पिलाउँछु भन्दा धेरैले पत्याएकै थिएनन् ।’

त्यसपछि भट्टराईले गरेको एउटा भाषणको भिडियो क्लीप समावेश छ । भाषणमा भट्टराईले ठट्यौली पारामा भनेका छन्, ‘अब जिताउनुस।।। अब म पानी ल्याउँछु, त्यही मेलम्चीकै पानी ।’

त्यसपछि वाचक फेरि भन्छन्, ‘त्यो दिन आज आइपुग्यो । यस घडी हामी किशुनजी सँगै स्मरण गर्छौं नेपाली कांग्रेस।ले गरेको त्यो निर्णय । आर्थिक र भौतिक सहयोग गर्ने विदेशी मित्रहरु । सक्षम इन्जिनियरहरुले निर्माण गरेको उत्कृष्ट डिजाइन । प्रगतिमा ईंटा थप्ने पछिल्ला सरकार एवं राष्ट्रसेवक कर्मचारी । आभार प्रकट गरौं । सिन्धुपाल्चोकवासीलाई । मेहनति श्रमिकहरुले बगाएको पसिना र सुरुङ निर्माण सिलसिलामा दुर्घटनामा जीवन गुमाएका हाम्रा आफन्त, इन्जिनियर र श्रमिक ।’
अन्तमा भनिएको छ, ‘बधाइ नेपाली कांग्रेस ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर