सभामुख सापकोटा र इजरायलका राजदूत गोडेरबीच भेट – Nepal Press

सभामुख सापकोटा र इजरायलका राजदूत गोडेरबीच भेट

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि इजरायलका राजदूत खनान गोडेरबीच शिष्टाचार भेट भएको छ ।

सिंहदरबारस्थित कार्यकक्षमा बिहीबार भएको भेटमा सभामुख सापकोटाले राजदूत गोडेरलाई सफल कार्यकालका लागि शुभकामना दिए ।

सभामुख सापकोटाले नेपाल र इजरायलबीच ६० वर्ष लामो कूटनैतिक सम्बन्ध रहेको चर्चा गर्दै दुई देशबीच भावनात्मक हिसाबले पनि सम्बन्ध प्रगाढ रहेको बताए । उनले इजरायलले कोरोना नियन्त्रण र आम नागरिकलाई खोप लगाउने कार्यमा प्राप्त गरेको सफलताका लागि बधाई ज्ञापन गरे ।

सांसद सुरेन्द्र कार्कीको संयोजकत्वमा नेपाल-इजरायल संसदीय मैत्री समूह रहेको जानकारी गराउँदै सभामुख सापकोटाले दुई देशका संसद-संसदबीचको सम्बन्धलाई जीवन्त बनाउन दुवै देशबाट पहल र प्रयत्न हुने विश्वास व्यक्त गरे ।

सभामुख सापकोटाले इजरायलले कृषि क्षेत्रमा गरेको प्रगति प्रशंसनीय रहेको बताउँदै नेपालीहरूलाई इजरायलले रोजगारीको अवसर दिएकोमा धन्यवाद ज्ञापन गरे ।

राजदूत गोडेरले नेपाल र इजरायलबीच राम्रो सम्बन्ध रहेको बताउँदै अझ धेरै गर्न सकिने सम्भावना रहेको चर्चा गरे । उनले दुवै देश भूगोलका हिसाबले साना भए पनि भाषा, संस्कृति र परम्परामा धनी रहेको बताए ।

राजदूत गोडेरले इजरायलका ५० प्रतिशत नागरिकले कोरोना विरुद्धको दुबै डोज खोप लगाइसकेको जानकारी गराउँदै कोरोना विरुद्धको लडाईंमा नेपालले सफलता हासिल गर्ने विश्वास व्यक्त गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर