स्व. हिमालय शमशेरको कालजयी अन्तर्वार्ता (एक ऐतिहासिक दस्तावेज) – Nepal Press
नेपाल प्रेस आर्काइभ

स्व. हिमालय शमशेरको कालजयी अन्तर्वार्ता (एक ऐतिहासिक दस्तावेज)

काठमाडौं । ९४ वर्षको उमेरमा यात्रारत छन् हिमालय शमशेर जबरा । वृद्धावस्थाले शारीरिक रुपमा गले पनि मानसिक रुपमा अझै तेज छन् । तन्नेरीको जस्तो स्मरणशक्ति छ । उनीसँग  कुरा गरिरहँदा वृद्धावस्थाको झल्को आउँदैन ।

राणा प्रधानमन्त्री देव शमशेरका खलक हुन् हिमालय शमशेर । राणा परिवारका भए पनि उनमा प्रजातन्त्रको चेत थियो । उनी स्वयम् राणाविराधि आन्दोलनमा सक्रिय सहभागी भएका थिए ।

राणाले आफ्नो जीवनकालमा कहिल्यै आराम गरेनन् । १४ वर्षमा मेट्रिक पास गरेका उनी नेपाल सरकारको सचिव हुँदै नेपाल राष्ट्र बैंकको पहिलो गर्भनर बने । राजा महेन्द्रले राष्ट्र बैकको स्थापना गरेर मासिक ८ सय तलव खानेगरी गभर्नरको नियुक्ती दिँदा उनको उमेर मात्र २९ वर्ष थियो ।

राणाको नेतृत्वमा राष्ट्रबैंकले नेपालको वित्तीय क्षेत्रमा उथलपुथल नै ल्याएको थियो । नेपालमा भारतीय नोटको प्रचलनलाई हटाउनेदेखि अनेकन वित्तीय सुधारका कामहरु राष्ट्र बैंकले गर्यो । राजा महेन्द्रको प्रेरणा र मार्गदर्शनले आफू सफल भएको उनी बताउँछन् ।

राष्ट्रबैंकबाट रिटायर्ड भएपछि पनि उनी निस्क्रिय बसेनन् । उनले केही समय संयुक्त राष्ट्रसंघको उच्च पदमा काम गरे । त्यसपछि व्यवसायमा पनि लागे । हिमालयन बैंकदेखि हिमालयन डिस्टिलरीसम्म उनले स्थापना गरेका हुन् ।

नेपाल राष्ट्र बैंकको पहिलो गर्भनरका रुपमा कार्यसम्पादन गर्दाखेरिका थुप्रै स्मरणीय अनुभवहरू छन् राणासित । नेपाल प्रेससँगको कुराकानीमा उनले उत्साहका साथ पुराना दिन यसरी सम्झिए :

यसरी खुल्यो राष्ट्र बैंक

म गभर्नर भएको करीब ६५ वर्ष पूरा भएछ । आज सम्झन्छु, नेपालको वित्तीय क्षेत्र कति साँघुरो थियो त्यसबेला । तराईमा नेपाली नोट चलनचल्तीमा थिएन । नेपाली मुद्रा कानूनग्राही पनि भएको थिएन । तराईमा मालपोत तिर्दा, अड्डाको दस्तुर बुझाउँदा सबै भारु नै प्रयोग हुन्थ्यो ।

काठमाडौंको मखन (इन्द्रचोक) मा सराफीहरुले नेरु र भारुको सटहीदरमा खेलबाड गरिरहन्थे । लाउरेहरुले पेन्सन थापेर आउँदा सस्तोमा भारु साट्ने अनि दशैंताका मालसामान किन्नका लागि भारु चाहियो भने उनीहरुलाई महंगो मा बेच्ने । यता नोटको भाउ बढ्ने वित्तिकै कपडा, खाद्यान्न, औषधी सबैको भाउ एकैपटक बढ्ने । यसले त्यो समयमा उपभोक्ता निकै मार्कामा परे । यसले गर्दा भारु र नेरुको सटहीदरको मापदण्ड तोक्नैपर्ने भयो । नेपाली नोट प्रचलनमा ल्याउनु अति जरुरी देखियो ।

यही अवस्थालाई विचार गरेर नै राजा महेन्द्रले राष्ट्र बैंक स्थापनाका लागि पहलकदमी लिनुभएको थियो । राष्ट्र बैंक स्थापना गर्न्का प्रमुख कारण नेपाली मुद्राको प्रयोगलाई देशव्यापी बनाउनु नै थियो । तर, यो सजिलो काम थिएन । तराईका मान्छेको हाट–बजारदेखि विहबारी सबै भारतमा हुन्थ्यो । त्यसैले उनीहरु भारु नै चलाउँथे । त्यहाँ भारुलाई विस्थापित गरेर नेपाली मुद्रा प्रचलनमा ल्याउनु चुनौतिपूर्ण काम थियो ।

अहिलेको विशालबजारको ठीक अगाडि सिंघमान तुलाधरको घरलाई राष्ट्र बैंकको केन्द्रीय कार्यालय बनाइएको थियो । कार्यालय खोलियो, तर कुर्सी–टेवल बजारमा पाइँथेन । त्यतिबेला अड्डाखानामा कुर्सी–टेवल नराखी हाकिमहरु अलि अग्लो ठाउँमा र अरु कर्मचारी चकटीमा बसेर काम गर्थे । तिघ्रामा कागज राखेर लेख्ने चलन थियो । हामीले चाहिँ जसरी–तसरी टेवल–कुर्सीको जोहो गर्न सफल भयौं ।

कार्यालय बनेपछि कर्मचारी चाहियो । त्यो बेला राष्ट्र बैंकमा जागिर खाने कर्मचारी खोज्न पनि निकै मुस्किल परेको थियो । देशभरी अर्थशास्त्रमा एमए गरेका जम्मा चारजना थियौं । पढेका मान्छे नै पाउन गाह्रो अवस्था थियो । निकै दुखले कर्मचारी व्यवस्थापन गरियो । त्यसपछि अहिले विशालबजार भएकै ठाउँमा धु्रवशम्सेरको घर भाडामा लिएर त्यहाँ नोट विभाग राख्यौं । अर्को बैंकिङ विभाग हनुमानढोकामा स्थापना गरियो ।

त्यसबेला देशमा अर्थतन्त्रका जानकार नै नगण्य थिए । सरकारी कर्मचारीले आर्थिक शब्दावली नै बुझ्दैनथे । म अर्थसचिव थिएँ । राष्ट्र बैंकको ऐनको मस्यौदा बनाउने जिम्मेवारी आयो । म यस काममा जुटेँ ।

हामीले बनाएको मस्यौदालाई कानून मन्त्रालयले पास गर्नुपथ्र्यो । तर, त्यतिवेला कानून मन्त्रालयका कर्मचारीले ऐनमा उल्लेखित अर्थवाणिज्यका शब्दावली नै बुझेनन् । उनीहरुलाई पुरानो फौजदारी, देवानी ऐनको मात्र ज्ञान रहेछ । शब्द नबुझेर उनीहरुले ऐन नै पास गर्न सकेनन् । पछि प्रोफेसर रत्नबहादुर विष्ट, जो अर्थशास्त्री हुनुहुन्थ्यो, कानून सचिव भएर आएपछि बल्ल उहाँले पास गरिदिनु भयो ।

यसरी विस्थापित गरियो भारु

राजाले मलाई गभर्नर बन्न प्रस्ताव गर्नुभयो । मैले पनि सहजै हुन्छ भने । पाँच/छ महिना गृहकार्य गरे । २०१३ वैशाख १० गते म पहिलो गभर्नर नियुक्त भएँ ।

पहिलो गभर्नर हुँदा सुरुमा त मलाई केही नौलो लागेन । उच्चपदस्थ सरकारी जागिरको अनुभव थियो नै । साथै राजाले नियुक्त गरेपछि यो–यो काम गर है भनेर मार्गदर्शन गर्नुहुन्थ्यो । म त्यसैमा लागेँ । तर, उहाँले दिएका लक्ष्यहरु हासिल गर्न भने सजिलो थिएन । वास्तवमा असाध्यै, असाध्यै गाह्रो भएका थियो । फेल हुन्छु कि भन्ने डर पनि नलागेको होइन । तर, अन्ततः सफल भएँ । त्यो सफलतामा मलाई अहिल पनि गर्व लाग्छ ।

यसो सम्झन्छु, कसरी गरिएछ त्यत्रो काम । सबैलाई प्रेरणा पनि दिएँ । कैलालीदेखि इलामसम्म राष्ट्र बैंकको शाखा उपशाखा, डिपोहरु खोलेर एकैदिन भोलीबाट नेरु मात्र चल्ने, भारु नचल्ने घोषणा गर्दा सफल हुन्छु कि हुन्न भन्ने डर थियो । तर, सफल भएँ ।

भारुलाई नेपालीमा परिवर्तन गर्दा सटही दर निर्धारण गर्न पनि वास्तवमा निकै कठिन काम थियो । मैले तीन वर्ष लगाएर त्यसमा अनुसन्धान गरेँ । कैलालीदेखि इलामसम्म रहेका राष्ट्र बैंकको शाखाबाट त्यो क्षेत्रमा भारु कति चलनचल्तीमा छ भन्ने सबै तथ्याङक संकलन गर्यौ । पछि सबैं तथ्याङक हेरेपछि भारु एक सय रुपैयाँको एक सय साठी रुपैयाँ हुने गरी सटही दर निर्धारण गरियो ।

त्यतिखेर राखिएको भारतीय रुपैयाँको विनियम दर अहिलेसम्म पनि कायम छ । तर अब यो दर परिवर्तन गर्ने बेला भयो । वैज्ञानिक ढंगले अध्ययन गरेर अब परिवर्तन गर्नु पर्ने छ । तर, यो विनियमदर परिवर्तन गर्न एउटा सरकारले मात्र सक्दैन । यसका लागि नेपालका सबै अर्थशास्त्री मिलेर अन्य विभिन्न राजनीतिक दलको समेत सहकार्यमा सामूहिक निष्कर्ष निकाल्नु पर्छ । यो काम देशमा शान्ति र राजनीतिक स्थिरता भएको बेलामा गर्नु पर्छ ।

राष्ट्र बैंकको गभर्नर हुनुभन्दा अगाडि म पाँच वर्ष अर्थ सचिव थिएँ । त्यसबेलामा मलाई महसुस भयो कि मैले वित्तीय क्षेत्रमा जान्नुपर्ने धेरै कुराहरु छन् । त्यसपछि म विदा लिएर युएनको फेलोसीपमा गए । अमेरिका, क्यानाडा, बेलायत पुगेँ ।

त्यहाँको अध्ययनबाट मैले आम्दानीभन्दा खर्च कहिल्यै बढी गर्नु हुँदैन भन्ने पाठ सिकेँ । यदि हामीले आम्दानीभन्दा खर्च धेरै गर्यौं भने त्यो देशको मुद्राको भाउ घट्छ । त्यस्तो स्थिति नआओस भन्नका लागि ‘अशतोमा सद्गमय्’ भन्ने मन्त्रलाई राष्ट्र बैंकको लोगोमा राखिएको हो । साथै कुबाटोमा नजान सन्देश पनि हो । राष्ट्र बैंक श्री ५ को सरकारको वित्तीय सल्लाहकार पनि भएको हुँदा सरकारलाई पनि सत्यको बाटोमा हिँड भनेको हो ।

अर्थसचिवमा पनि सफल

गभर्नर हुनुअघि मैले नेपाल सरकारको अर्थ सचिव भएर पाँच वर्ष काम गरिसकेको थिएँ । म अर्थ सचिव हुँदा पनि नेपालको अर्थतन्त्रमा युगान्तकारी काम भए ।

राणा शासनकालमा देशमा अर्थ मन्त्रालय नै थिएन । आम्दानी–खर्च गोप्य राख्ने चलन थियो । म अर्थ सचिव भएपछि लक्ष्य के त ? भन्ने लाग्यो । अर्थ सचिवको काम भनेको सरकारको आम्दानी–खर्च सार्वजनिक गर्ने र बजेट ल्याउने नै हो । मैले बजेट पनि ल्याएँ ।

देश विकासका लागि पैसा चाहियो । त्यसका लागि सरकारको आम्दानी बढाउनु पर्यो । त्यतिबेला सरकारको आम्दानी मुख्यगरि मालपोतबाट आउथ्यो । तर त्यतिले नपुगेपछि विराटनगर, भैरहवा, विरगञ्जलगायतका ठाउँमा भएका भन्सार अड्डालाई आधुनिकरण गर्यौ । र, सरकारको आम्दानी बढायौ । त्यसपछि आयकर विभाग, अन्तशुल्क विभाग खडा गर्यौ ।

अर्को कुरा हाम्रो वित्तीय प्रणालीलाई आधुनिकीकरण गर्नका लागि आर्थिक नियमावलीहरु सबै नयाँ बनायौं ।

पहिले र अहिलेको अर्थतन्त्र

६०/६५ वर्ष अघि नेपालको नेपालको भौतिक संरचना अवस्था साह्रै नाजुक थियो । बाटोघाटो थिएन, सडक सञ्जाल थिएन । नेपालको अर्थतन्त्र त्यसवेला पकेट–पकेट मात्र थियो । जस्तो विराटनगरबाट पूर्वी पहाडलगायत त्यताका सबै क्षेत्रका लागि सामान जोगमनीबाट ल्याइन्थ्यो । काठमाडौंका लागि विरगञ्ज र भैरहवाबाट सामान आपूर्ति हुन्थ्यो । नेपाली मुद्रा तराईमा पनि चल्न थालेपछि नेपालमा अर्थतन्त्रको एकीकरण भयो ।

बैंक आउनुअघि सरकारको आम्दानी खर्च मुलुकी खाना र कौशीबाट हुन्थ्यो । सबै आम्दानीजति मुलुकी खानामा बचत हुन्थ्यो । खर्च गर्नुपर्दा उपत्यकाको खर्च कौंशीबाट हुन्थ्यो । जिल्ला–जिल्लामा माल अड्डाले गर्थ्यो ।

राष्ट्र बैंक खडा भएपछि यसका शाखाबाट आम्दानी र खर्चको व्यवस्थापन हुनु थाल्यो । यसले राष्ट्रको ढुकुटी हाम्रो हातमा आयो । राज्यको ढुकुटीलाई राष्ट्र बैंकले ठूला–ठूला पर्खाल लाएर सुरक्षित राख्थ्यो । फलामको ढोका लगाएर २÷३ वटा ताल्चा लगाएर राखिन्थ्यो । अहिले त राष्ट्र बैंकको ढुकुटी आधुनिकरण भइसकेको छ ।

यसवेलामा अहिलेको जस्तो बैंक–वित्तीय संस्था कहाँ थिए र ? नेपाल बैंक मात्र थियो । त्यसको कार्यशैली ठ्याक्कै हिन्दुस्तानका बैंकको जस्तो थियो । नेपाल बैंकबाट पैसा झिक्दा चेक (पास बुक) लिएर एकाउण्टमा गयो । एकाउन्टमा पैसा छ कि छैन, फेरी अर्को विभागमा गयो । त्यहाँ सही मिल्यो कि मिलेन भनेर हेर्यो । त्यसपछि क्यासियरकोमा गयो । यसरी चारैतिर घुमिरहनुपर्थ्यो फनफनि ।

नयाँ सडकमा पैसा झिक्न जाँदा टोकन लिएर बजारमा गइ किनमेल गरेर फर्किँदा बल्ल भुक्तानीको पालो पाइन्थ्यो । आफ्नो एकाउण्टमा कति पैसा छ भनेर थाहा पाउनु पर्यो भने पास बुक दिएको दुई दिनपछि मात्र पासबुकमा लेखेर दिइन्थ्यो । सारै ‘स्लो सिस्टम’ थियो ।

अहिले बैंकिङ क्षेत्र धेरै नै विकसित भयो । त्यही प्रणाली चलिरहेको पछिसम्म । निजी क्षेत्रको नविल बैंक आएपछि यसले नेपालको बौंकिङ क्षेत्रमा टोकन र पासबुक वाला प्रणालीको अन्त्य गरी कम्युटराइज्ड प्रणाली भित्र्यायो । यसले सेवाग्राहीलाई साह्रै सजिलो गराएको छ ।

अहिले नेपालका बैंक तथा वित्तीय क्षेत्रमा भएको प्राविधिक विकासले मलाई खुसी तुल्याउँछ । प्रविधिले चाँडै नै फड्को मार्यो । अहिले त बैंकिङ कामका लागि बैंक धाउनै पर्दैन । प्रविधिले इ–बैंकिङबाट घरमा बसी–बसी सबै काम गर्न सकिने अवस्था छ । अब त पेपरलेस नै भइसक्यो क्यार । तर, यसको धेरै जोखिम पनि छ । सफ्टवेयर सिस्टम एकदमै बलियो हुनु पर्छ । खातामा राखिएको कुरा शंका लागेमा हेर्न सकिन्थ्यो तर, यसमा त सबै कम्युटरमा हुन्छ । कसैले ह्याक गरेमा सबै खत्तम हुन्छ ।

साथै आगलागी, भूकम्पजस्ता घटनामा यसरी कम्युटरमा राखिएका चिजहरु नष्ट हुन सक्छ । यसैले यो जोखिमतर्फ पनि ध्यान दिनुपर्छ ।

राणा शासनको विरोध

सन् १९४० को दशकमा भारत ब्रिटिसकै उपनिवेश थियो । त्यहाँ प्रजातन्त्रको आन्दोलन शुरुभन्दा अगाडि र भइसकेपछिको समयमा म भारतमा नै थिएँ । र, ममा पनि क्रान्तिको छाप परिसकेको थियो ।

त्यसबेलामा एमए जाँच दिएर नेपाल आउँदै थिए । नेपालमा पनि केही न केही गर्नु पर्छ भन्ने लागिरहेको थियो । फर्केर आउँदा मुम्बइमा सुवर्ण समशेरसँग भेट भयो । उहाँले देश र देशवाशीको प्रगति तथा उन्नतिका लागि नेपालमा रहेको जहानीया राणा शासनको अन्त्य गर्नुपर्छ भन्नुभयो । हामीले दुई दिन लगाएर छलफल गर्यौं ।

दुई दिनमा म कन्भिस्ड भएँ । २००५ सालमा नेपाल प्रजातान्त्रिक कंग्रेसको सदस्यता लिएँ । त्यो बेलामा कग्रेसको सदस्य हुनु भनेको देशद्रोह जस्तै नै थियो । तीमाथि म त राणा परिवारको सदस्य । सबै कुरा लुकेर गर्नुपर्थ्र्यो । उहाँहरुले एउटा टाइपर दिनु भयो र त्यसले पर्चा बनाएर म पर्चा छर्ने काम गरेँ । साथै नातेदार र चिनजान भएका सबैलाई सहमत गराउन थालेँ । सब काम गोप्यरुपले काम गर्ने र गराउने काम गरेँ तर अर्थ सचिव भएपछि एकैपटक राजनीति सबै छोडे ।

नेपाली नोटमा आधुनिकीकरण

त्यो समयमा नेपाली नोट हिन्दुस्तानको नासिक सेक्यूरेटी प्रेसमा छापिन्थे । राष्ट्र बैंक आएपछि भारतबाट छापिदैं आएको नोटलाई परिस्कृत गर्नुपर्यो भनेर अन्तर्राष्ट्रिय टेण्डर आह्वान गर्यौं ।

त्यसबेला अमेरिकी र वेलायती कम्पनीहरु आएका थिए । त्यसमा वेलायतको डिरारु भन्ने कम्पनीको प्रस्ताव सबैभन्दा राम्रो देखियो । उनीहरुले नेपालका प्रसिद्ध ठाउँहरु हेरेर नोटको नयाँ डिजाइन नै बनाएर ल्याए । त्यो साह्रै राम्रो र आकर्षक थियो । त्यसवेला दुई/पाँच/दश/पचास र सय रुपैयाँको नोट छाप्यौं ।

नासिकबाट आउने नेपाली नोटमा ‘सेक्यूरेटी थ्रेड’ थिएन । तर पछि बेलायतले छापेको नोटमा स्कयूरेटी थ्रेड राखियो । पहिलाका नोट नक्कल गर्न सकिन्थ्यो तर पछि आएका नोट नक्कल गर्न नसकिने भयो । साथै नोट निष्काशन गर्दा पहिला देशको सेक्यूरेटी सुरक्षण राख्नु पर्ने वाध्यता थिएन । तर, पछि मेरो पालामा नोट निष्काशन हुँदा सेक्यूरेटी सुरक्षण पचास प्रतिशत सुनचाँदी राख्यौं । साथै नोट झुत्रा भएपछि त्यसलाई विस्थापित गर्ने र जलाउने कार्य पनि थाल्यौं ।

त्यसवेलामा हजारको नोट छापिदैंनथ्यो । एक सयसम्मको मात्र नोट थिए । र, हामीले बाकस बाकसमा पैसा ल्याउने गथ्र्यौं । मैले पहिलो गभर्नरका रुपमा सही गरेको पैसा जतन गरेर राखिनँ ।

किताब लेख्दै

अहिले ९४ वर्षको भएँ । अहिलेसम्म मेरो स्मरण शक्ति ठीकठाक छ । कहिलेकाही अलिअलि विर्सन्छु ।

यो उमेरमा व्यस्त हुनु पर्ने रहेछ । अहिले दुईवटा किताव निकाल्नमा व्यस्त छु । एउटा ‘क्रोनिकल अफ दी राणाज’ हो । यसमा जंगवहादुरदेखि मोहनसमशेरसम्मको समयमा भएका दरवारको आर्किटेक्चरबारे वर्णन गरिएको छन् । यसैगरी राणाहरुको प्रशासन क्षेत्र, कुटनीति, त्यसवेलाको संस्कृति, साहित्य लगायतका कुरा लेख्दैछौं । यो मैले मात्र लेख्ने होइन, अरुको पनि साथ छ । साथै, अर्को मेरो जीवनी एउटा पब्लिकेशनले लेखिरहेको छ । यसका लागि मैले अन्तरवार्ता दिइरहेको छु ।

दैनिक अझै पनि किताव पढ्छु । म विहानै चाँढै उठ्छु । योगा गर्छु, हिँड्छु, विविसी सुन्छु र अखवार पनि पढ्छु । दिउँसोको खाना खाएपछि एकछिन सुत्छु । साथै म लगायत चार जना साथी हप्ताको दुई–तीन दिन तास खेल्छौ । ब्रीज भन्ने एउटा गेम छ, त्यही खेल्छौं । म ९० वर्षको हुन्जेलसम्म गल्फ खेल्थे । पाँच–सात किलोमिटर हिँड्थे । ९० वर्ष पुगेपछि खेल्न छाडेँ । अहिले पनि शारीरिक व्यायाम गर्छु ।

अवकास जीवनमा पनि सक्रिय

मलाई २०१७ सालमा गभर्नरबाट राजीनामा गर्न लगाइयो । त्यस बेलामा मेरा तीन जना छोराछोरी थिए । आमाले भात पकाउनु हुन्थ्यो । भात खान पाइन्थ्यो । तर, वास्तवमा भन्नुहुन्छ भने हामी देवशमशेरका सन्तान भए पनि प्रशस्त धनसम्पत्ति थिएन ।

मेरो कमाइ नै सबै कुरा थियो । मैले जागिर छोड्दा घरको आर्थिक पाटो निकै कमजोर भयो । राणाको छोरालाई केको कमी होला र भन्ने सबैले सोच्छन् । बुबाको घर थियो । अंशबण्डा भएको थिएन । तीन जना छोराछोरी थिए । भात खान र सुत्न मात्रै पुगेर भएन । एक वर्ष निकै दुःख भयो । त्यसपछि मैले पैसा कमाएको त युएनमा जागिरे भएपछि मात्र हो ।

मैले युएनमा जागिर खाँदा नेपाल जस्तो अविकसित मुलुकका मानिसलाई प्रमुख जिम्मेवारी दिइँदैनथ्यो । तर मैले २४ वर्ष काम गरेँ र प्रमुख जिम्मेवारीमा नै काम गरेँ । नेपालीका लागि यो एउटा गौरवको विषय हो । म मेरिटका आधारमा नै छानिएको थिएँ । श्रीलङ्का, अफ्गानिस्तान, बर्मा, इन्डोनेसिया, पाकिस्तानमा युएनको प्रमुख भएर काम गरेको थिए । म १९८६ मा यूएनको जागिर सकेर नेपाल फर्किएँ । त्यसवेला मलाई लाग्यो, अब काम गर्दिन ।

मैले १४ वर्षमा मेट्रिक पास गरेँ । कलेजमा पनि धेरै पढ्थेँ । अर्थ सचिव भएदेखि काममा जोतिएको जोतिएै गरेँ । अब अवकास जीवन आराम गरेर बिताउँछु भन्ने थियो । गल्फ खेल्ने, ब्रिज खेल्ने, किताब पढ्ने गरेँ । तर, ६ महिना बितेपछि साह्रै बोर पो लाग्यो । त्यसपछि व्यवसायमा हात हालेँ । गोर्खा ब्रुअरी कम्पनी खोलेँ । टुबोर्ग, काल्सवर्ग वियर मैले ल्याएँ ।

तर, मजस्तो सरकारी कर्मचारीले व्यापार गर्न जानिदो रहेनछ । व्यापारमा ऐन–नियम मिचेर काम गर्नुपर्दो रहेछ । मैले त सकिनँ । उद्योग भएपछि सुनको अण्डा नै पार्छ भन्ठानेर सबैले पैसा माग्ने । नसकिने भयो । त्यसपछि वियर उद्योग बेचिदिएँ । त्यसपछि हिमालयन बैंक खोले । बैंकमा सबै कुरा पारदर्शी हुन्छ । जालझेल धेरै हुँदैन ।

(नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालयशमसेर जबराको २०७९ माघ २२ गते बिहान ९५ वर्षको उमेरमा निधन भएको छ । नेपालको अर्थ सचिव भइसकेका हिमालय शमशेर श्री ३ महराजा तथा सुधारवादी राणा प्रधानमन्त्री देव शमसेरका नाति हुन् । हिमालय शमशेरले नेपाल प्रेससँग एक वर्षअघि दिएको अन्तर्वार्ताका क्रममा बोलेका धेरै कुराहरू इतिहासको दस्तावेजसमेत बन्न सक्छन् । राणाको निधनप्रति शोक व्यक्त गर्दै नेपाल प्रेसको अर्काइभमा रहेको उनको जीवनसँग सम्बन्धित कालजयी अन्तर्वार्ता पुनः प्रकाशन गरेका छौं । – प्रधान सम्पादक)

प्रतिक्रिया

One thought on “स्व. हिमालय शमशेरको कालजयी अन्तर्वार्ता (एक ऐतिहासिक दस्तावेज)

  1. हिमालय समसेर हुनुहुन्छ भन्ने मैले सोचेको पनि थिइन । उहाले सहि गरेका नोट हरु मैले पनि चलाएको थिय । उहाँ रहनु भएकोमा म अत्याधिक खुसी भए फोटो देख्दा झन खुसी भय ।उहाको दिर्घायुक्को कामना ।पुरानु मान्छे माया पनि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *