आरबीबी-एनभीए लिगमा नेपाल पुलिस क्लबको विजयी सुरुआत – Nepal Press

आरबीबी-एनभीए लिगमा नेपाल पुलिस क्लबको विजयी सुरुआत

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले आरबीबी-एनभीए राष्ट्रिय भलिबल लिगमा विजयी सुरुआत गरेको छ । त्रिपुरेश्वर राष्ट्रिय खेलकुद परिषद्को कमर्डहलमा भएको खेलमा पुलिसले नयाँ बजार सामाजिक युवा क्लबलाई ३-० को नतिजामा पराजित गर्‍यो ।

पहिलो सेटमा पुलिसविरुद्ध दोहोरो संख्यामा अंक जोड्न नसकेको नयाँबजारले २५-९ को नतिजा विभागीय हेभिवेटलाई सुम्पेको थियो । दोस्रो सेटमा फाइटिङ स्प्रिट देखाएको नयाँबजारले २१ अंकसम्म पुलिसलाई प्रतिस्पर्धा दिएको थियो ।

सुरुआती दुई सेट जित्दै उच्च मनोबलसहित तेस्रो सेटका लागि कोर्टमा उत्रिएको नेपाल पुलिसले २५-१६ को नतिजासहित जित सुनिश्चित गर्‍यो ।

विजयी पुलिसले आगामी खेलमा २१ गते बुलबुले रारा क्लबसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, पराजित नयाँबजारले भोलि हेल्प नेपाल स्पोर्ट्स क्लबको सामना गर्नेछ ।

प्रतियोगिताको विजेताले ३ लाख, दोस्रो हुनेले १ लाख ५० हजार र तेस्रोले ७५ हजार प्राप्त गर्ने भलिबल संघले बताएको छ । प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ ६ टीमले प्रतिस्पर्धा गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीले १०र१० हजार पाउँनेछन् ।

प्रतिभावान र उत्कृष्ट खेलाडीलाई राष्ट्रिय टोलीको प्रशिक्षणका लागि छनोट गरिने संघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *