दूरसञ्चार सेवाका गुनासा सुन्न सञ्चारमन्त्रीले थाले सांसदसँग अन्तर्क्रिया – Nepal Press

दूरसञ्चार सेवाका गुनासा सुन्न सञ्चारमन्त्रीले थाले सांसदसँग अन्तर्क्रिया

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दूरसञ्चार सेवा सम्बन्धी सबै गुनासा तत्काल सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मन्त्री गुरुङले दूरसञ्चार सेवामा सबैको पहुँच कायम राख्दै यसको सेवालाई गुणस्तरीय र सर्वसुलभ बनाउन सुुझाव दिन संघीय संसदका सांसददेखि स्थानीय तहका जनप्रतिनिधि तथा विज्ञलाई आग्रह समेत गरेका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबारबाट काठमाडौंमा सुरु गरेको ‘दूरसञ्चार सेवाको पहुँच, प्रवाह र गुणस्तर सम्बन्धी अन्तरक्रिया’ कार्यक्रमको उद्घाटन गर्दै गुरुङले टेलिफोन, इन्टरनेटलगायतका दूरसञ्चार सेवामा देखिएका समस्याबारे जानकारी लिने र ती समस्या समाधानमा लागिपर्ने बताए ।

‘इन्टरनेट, टेलिफोनलगायतका सेवामा सबैको पहुँच पुर्‍याउन तथा गुणस्तरीय सेवा प्रवाहका लागि सरकार प्रतिबद्ध भएर लागि परेको छ,’ मन्त्री गुरुङले भने, ‘स्मार्ट नेपाल बनाउने सरकारको यो अभियानमा सबैलाई साथ दिन म आह्वान गर्दछु ।’

मन्त्री गुरुङले सबै स्थानीय तहको शिक्षा, स्वास्थ्य संस्थाहरूमा इन्टरनेट सेवा पुर्‍याउने कामलाई सरकारले तीव्रता दिएको पनि स्पष्ट पारेका छन् ।

कार्यक्रममा प्रदेश १ का संघीय संसदका सांसद र विज्ञहरूको उपस्थिति रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *