इँटा भट्टामा राज्यमन्त्रीको अनुगमनः कानून बमोजिम नभए कारवाही – Nepal Press

इँटा भट्टामा राज्यमन्त्रीको अनुगमनः कानून बमोजिम नभए कारवाही

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विश्वकर्माले ललितपुरको महालक्ष्मी नगरपालिकामा सञ्चालित इँटा भट्टाको अनुगमन गरेकी छन् ।

आफ्नो नगरमा सञ्चालित इँटा भट्टाबाट निस्कने धुवाँको कारण अत्याधिक प्रदुषण भएको स्थानीयले गुनासो गरेपछि राज्यमन्त्री विश्वकर्मा अनुगमनको लागि पुगेकी थिइन् ।

अनुगमनका लागि राज्यमन्त्री विश्वकर्मासहित उद्योग विभागका महानिर्देशक जीवलाल भुसाललगायतको टोली बुधबार महालक्ष्मी नगरपालिका पुगेका थियो ।
महालक्ष्मी नगरपालिका-४ मा सञ्चालित आरके इँटा चिम्नी र केसी इँटा भट्टाको राज्यमन्त्री विश्वकर्माले अनुगमन गरेकी हुन् ।

नगरलाई प्रदुषण गर्ने किसिमले सञ्चालित भएका इँटा भट्टाहरु कानुनी रुपमा गैरकानुनी ढंगबाट सञ्चालित भएको भन्दै कानुन अनुसार कारबाही हुने अनुगमनपछि मन्त्री विश्वकर्माल बताइन् ।

‘यहाँ सञ्चालित इँटा भट्टाले स्थानीयलाई धेरै असर गरेको रहेछ । कानुन अनुसार कारबाही गछौं ’, राज्यमन्त्री विश्वकर्माले भनिन्, ‘स्थानीय स्तरमा सञ्चालित इँटा भट्टाको व्यवस्थापन प्रदेश सरकारले गर्छ। मैले प्रदेश सरकारलाई भन्नेछु ।’

इँटा भट्टाबाट निस्कने धुवाँको कारण महालक्ष्मी नगरपालिकाका स्थानीयवासी २ दशकदेखि आक्रान्त छन् ।

राज्यमन्त्री विश्वकर्मासँग अवलोकनमा सहभागी उद्योग विभाग महानिर्देशक भुसालले सञ्चालित भट्टाको कागजात समेत जाँच गरेको बताएका छन् ।

‘हामीले सञ्चालित भट्टाको कागजातसँगै अवस्थाको जाँच गर्‍यौं । हेर्दा यसले स्थानीयलाई असर गरेको रहेछ । यो हामी मतहत पर्दैन । प्रदेश सरकार अन्तर्गत पर्ने भएको हुँदा हामी प्रदेश सरकारसँग समन्वय गरे व्यवस्थापनको लागि अगाडी बढ्छौं,’ महानिर्देशक भुसालले भने ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *