हुलाकी राजमार्गका १३ प्याकेज सडकको निर्माण सकियो – Nepal Press

हुलाकी राजमार्गका १३ प्याकेज सडकको निर्माण सकियो

काठमाडौं । भारत सरकारको ८ अर्ब रुपैयाँ सहयोगमा निर्माणाधीन हुलाकी राजमार्गका १४ मध्ये १३ प्याकेजका सडक निर्माण सम्पन्न भएको छ ।

निर्माण सम्पन्न भएका सडकहरु भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त रुपमा समर्पित गरेका हुन् ।

नेपाल सरकारले तराई क्षेत्रका सडक पूर्वाधारलाई स्तरोन्नति गर्ने सम्बन्धमा भारत र नेपालबीच भएको सहमति अनुरुप दश अत्यन्तै आवश्यक सडकको पहिचान गरेको थियो ।

हुलाकी राजमार्गका नामले चिनिने ती सडकहरुले पूर्व पश्चिम राजमार्गमा अवस्थित प्रमुख शहरहरुलाई भारत–नेपाल सीमासंग पनि जोड्दछन् । यो राजमार्गले प्रदेश १ , २ र लुम्बिनी प्रदेशका २ सय ८४ भन्दा बढी वडा, १ सय ४९ गाउँ, १८ गाउँपालिका, एक उप महानगरपालिका र एक महानगरपालिकाका जनतालाई जोडिन मद्दत गर्दछ ।

नेपालस्थित भारतीय दूतावासले जारी गरेको विज्ञप्तीमा निर्माण सम्पन्न गरिएका सडकहरुले सडक विभागले निर्धारण गरेको मापदण्ड अनुरुप रहेको जनाइएको छ । ती सडकमा ढल, बसोबास क्षेत्रमा रेलिङ सहितको पदमार्ग , सडक चिन्ह र अन्य सडक सुविधाहरु समेत राखिएको छ । सो परियोजना अन्तर्गत ६ सय ५२ भन्दा बढी कल्भर्ट र १ सय ११ किलोमिटर भन्दा बढी ड्रेनेज नेटवर्क समेत निर्माण गरिएको छ ।

नेपाल सरकारको मोडालिटी र भारत सरकारको आर्थिक सहयोगमा सञ्चालित परियोजना अन्तर्गत १० सडकलाई १४ वटा प्याकेजमा विभाजन गरिएको थियो ।

भारतीय दूतावासले यस परियोजनाको निर्माणबाट नेपालको तराई क्षेत्रको सडक पूर्वाधारलाई स्तरोन्नति गर्न सहयोग पुर्याएको र दुई देशका जनताबीचको सम्बन्धलाई अझ प्रगाढ बनाएको भारत सरकारले विश्वास लिएको विज्ञप्तीमा उल्लेख छ ।

भारत सरकारकै आर्थिक सहयोगमा भारतको जयनगरदेखि नेपालको कुर्थासम्म अन्तरदेशीय रेलमार्गको निर्माण सम्पन्न भइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *