नेपालमा अझै अटिजमका बारेमा जनचेतनाको अभाव छः अटिजम केयर नेपाल सोसाइटी – Nepal Press

नेपालमा अझै अटिजमका बारेमा जनचेतनाको अभाव छः अटिजम केयर नेपाल सोसाइटी

काठमाडौं । नेपालमा अझै पनि अटिजमका बारेमा जनचेतनाको अभाव रहेको अटिजम केयर नेपाल सोसाइटीले जनाएको छ । सानो उमेरमा बच्चाले नबोल्दा पछि बोल्छ भन्ने सोचाईले पछि गएर धेरैले अटिजमको समस्याबाट गुज्रिनुपरेको सोसाइटीले जनाएको हो । सोसाइटीका अध्यक्ष डा.सुनिता मलेखु अमात्यका अनुसार विश्वमा नै अटिजमको समस्या बढ्दो क्रममा रहेको भन्दै अमेरिकामा गरेको अनुसन्धान अनुसार ५४ जना बालबालिकामध्ये एक जनामा अटिजम हुने गरेको छ ।

अटिजम केयर नेपाल सोसाइटीले चैत्र २० अर्थात अप्रिल दुइमा हुने चौधौ अन्र्तराष्ट्रिय अटिजम जनचेतना दिवसको पुर्वसन्ध्यामा गरेको अन्तरक्रिया कार्यक्रममा डा. अमात्यले नेपालमा यस्ता समस्या भएका बालबालिका धेरै रहेका र केहीले उपचार नपाएको केहीले गलत उपचार गरेको बताइन् ।

‘बौद्विक अपांगता (सुस्त मनस्थिति) र अटिजम धेरै फरक छ’ उनले भनिन्, ‘सुस्त मनस्थिति भएका मध्ये धेरैमा अटिजमको समस्या हुन्छ ।’ अटिजम ठुलो हुँदै जादाँ निको हुने समस्या नभएको पनि स्पष्ट पारिन् । बच्चाको उमेर बढेसँगै समस्या र चुनौति पनि फरक–फरक हुँदै जाने उनको भनाई थियो । ‘अटिजम एक किसिमको अपांगता हो ।’ उनले भनिन् ‘यो जीवन भरी रहन्छ ।’ नेपालले अटिजम भएका बालबालिकाको जनगणना गर्नुपर्ने उनको माग थियो ।

सोसाइटीले चैत्र २० गते अर्थात अप्रिल दुइमा भर्चुअल माध्यमबाट अन्र्तक्रिया गर्न लागेको हो । सोसाइटीले चैत्र २१ गते शुक्रबार भर्चुअल माध्यमबाट मार्किङ अटिजम अर्वानेस डे मनाउने भएको छ । यसैगरी, चैत्र २५ अर्थात अप्रिल सातमा सोसाइटीले अटिजम भएका बालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्य र अभ्यासको लागि क्रियट आर्ट फर अटिजम गर्ने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *