राष्ट्रपतिले अनावश्यक दबाब दिएको भन्दै ब्राजिलमा तीनवटै सेनापतिद्वारा राजीनामा – Nepal Press

राष्ट्रपतिले अनावश्यक दबाब दिएको भन्दै ब्राजिलमा तीनवटै सेनापतिद्वारा राजीनामा

ब्राजिलमा सेना, नौसेना र हवाई सेनाका प्रमुखहरूले एकसाथ राजीनामा दिएको त्यहाँको रक्षा मन्त्रालयले बुधबार जानकारी दिएको छ । राष्ट्रपतिले सेनामाथि अनावश्यक दबाव दिने प्रयास गरेको विरोधमा उनीहरुले राजीनामा दिएको बताइएको छ ।

राष्ट्रपति जइर बोल्सोनारोले राजनीतिक सङ्कट जेलिरहेका यस अवस्थामा पुनः सेनातर्फका तीन ओटा उच्च पदबाट राजिनामा आएको समाचार जनाइएको छ । राष्ट्रपतिसँग मतभेद भएर ब्रजिलका सेना, नवसेना तथा हवाई सेनाका प्रमुखहरूले एकसाथ राजीनामा दिनु ब्राजिलको इतिहासमा सन् १९८५ पछिको पहिलो घटना भएको बताइएको छ ।

गत सोमवार मात्रै आफ्ना विदेश तथा रक्षामन्त्री दुवैले राजीनामा दिएपछि मन्त्रिपरिषद् पुनर्गठन गर्न बोल्सोनारो बाध्य भएका थिए । बोल्सोनारोका समर्थक मानिएका विदेशमन्त्रीले सांसदहरूको आलोचनापछि राजीनामा दिएको भोलिपल्टै सेना, नौसेना र हवाई सेनाका प्रमुखहरूको राजीनामा आएको बताइएको छ ।

सन् २०१९ को जनवरी बोल्सोनारोले सत्ता सम्हालेयताकै सबैभन्दा ठूलो राजनीतिक सङ्कटको सामना गर्नुपरेको छ। कोरोना भाइरस सङ्क्रमणको कारण विश्वमा दोस्रो स्थानमा परेको ब्राजिलमा कोरोनाभाइरस महामारीलाई लिएर राष्ट्रपतिको लोकप्रियता खस्कँदो अवस्थामा रहेको छ ।

ब्राजिलमा कोरोनाभाइरसका कारण अहिलेसम्म तीन लाख १४ हजार व्यक्तिको ज्यान गइसकेको छ भने एक करोड २५ लाखमा सङ्क्रमण पुष्टि भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *