चार महिनापछि डोरमणि र अष्टलक्ष्मी एकै बैठकमा, विधान मस्यौदा कार्यदल गठन – Nepal Press

चार महिनापछि डोरमणि र अष्टलक्ष्मी एकै बैठकमा, विधान मस्यौदा कार्यदल गठन

काठमाडौं । केन्द्रमा नेताहरु अलग पार्टीको अभ्यासमा लागिसकेका बेला वागमती प्रदेशको संसदीय दलमा भने नेकपा एमालेका दुवै पक्ष एकै ठाउँमा बसेर विधान मस्यौदा समिति गठन गरेका छन् ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले प्रमुख सचेतक केशव पाण्डे, नारायण सिलवाल र उर्मिला कर्माचार्य रहेको विधान मस्यौदा कार्यदल गठन गरेको हो ।

मस्यौदा समितिका तीनमध्ये उर्मिला माधव नेपाल पक्षधर हुन् । पुस ५ गते प्रतिनिधिसभा विघटन भएलगत्तै साबिक नेकपा विभाजनपछि दुई ध्रवमा लागेका डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्यसहित सबै सांसदहरु बुधबार पहिलोपटक एउटै बैठकमा बसेका हुन् ।

पुस १० गते साबिक प्रचण्ड–माधव पक्षले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएको थियो । सो प्रस्तावमा मुख्यमन्त्रीको वैकल्पिक उम्मेदवार शाक्यलाई बनाइएको थियो । एमाले ब्युँतिएसँगै अविश्वास प्रस्तावबाट बुृधवारै अष्टलक्ष्मी शाक्य पक्ष फिर्ता भएको छ ।

सांंसद रचना खड्काले आजको पहिलो बैठक सौहाद्रपूर्ण भएको र संघीय संसदीय दल र पार्टीमा केपी ओलीले देखाएको जस्तो निषेधपूर्ण व्यवहार प्रदेशसभा संसदीय दलमा नदेखिएको टिप्पणी गरिन् ।

नेपाले प्रेससँग कुरा गर्दै अष्टलक्ष्मी पक्षधर सांसद खड्काले भनिन्– लामो समयपछि एकै ठाउँमा बसियो एक प्रकारले पुनर्मिलन जस्तो बैठक हो । माथि अध्यक्ष केपी ओलीले जुन व्यवहार गरिरहनु भएको छ, तल त्यस्तो देखिएन । पार्टी एकता कायम हुनुपर्छ भन्ने नै हो ।

बैठकमा शाक्यले पार्टीलाई माथिदेखि तलसम्म एकताबद्ध बनाएर लैजान सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने बताएकी थिइन् । शाक्यले बिगतमा पनि बजेट पारित समेत नहुने अवस्था भएको बेला ह्वीप लगाएर आफूले सांसदहरुलाई मुख्यमन्त्रीको पक्षमा उभ्याएको स्मरण गराएकी थिइन् ।

बैठकमा मुख्यमन्त्री पौडेलले पनि आफू सबैलाई मिलाएर लैजाने पक्षमा रहेको बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर