जनगणनाका लागि मागभन्दा ६ गुणा बढीको आवेदन – Nepal Press

जनगणनाका लागि मागभन्दा ६ गुणा बढीको आवेदन

चितवन। आगामी १२औँ राष्ट्रिय जनगणनाका लागि चितवनमा दरबन्दीभन्दा करिब छ गुणा बढी दरखास्त परेको छ ।

चितवनमा गणक र सुपरीवेक्षकका लागि छ हजार ७९३ जनाको दरखास्त परेको हो ।

चितवनका जिल्ला जनगणना अधिकारी यज्ञमूर्ति भण्डारीले चितवनमा २०३ सुपरीवेक्षक तथा ८९५ गणकको दरबन्दी सिर्जना गरिएको जानकारी दिए ।

चितवनका लागि आवश्यक दरबन्दीभन्दा अनलाइनमार्फत फारम भर्नेको सङ्ख्या करिब छ गुणा बढी हो । त्यस्तै दरखास्त दिनेमा पुरुषको तुलनामा महिलाको सङ्ख्या दोब्बर छ ।

भण्डारीले चितवनमा जनगणनाका लागि तीन हजार ६१८ महिला, एक हजार ८६४ पुरुष तथा दुई जना अन्य लिङ्गीले अनलाइन फारम भरेको बताए ।

जनगणना तयारीको काम तीव्ररूपमा अगाडि बढेको भन्दै जिल्लाका सात स्थानमा आगामी वैशाख १ गते स्थानीय जनगणना कार्यालय स्थापना गरिने उने बताए । भण्डारीका अनुसार भरतपुरको भरतपुर–१०, भरतपुर–६ गीतानगर र भरतपुर–१८ चनौलीमा स्थानीय जनगणना कार्यालय स्थापना गरिँदैछ ।

त्यस्तै कालिका नगरपालिका र इच्छाकामना गाउँपालिका हेर्ने गरी कालिकामा, रत्ननगर नगरपालिका लागि रत्ननगर नगरपालिकामा तथा राप्ती र खैरहनी हेर्ने गरी राप्ती नगरपालिकामा स्थानीय जनगणना कार्यालय स्थापना हुने भण्डारीले जनकारी दिए ।

भण्डारीका अनुसार भरतपुरमा मात्रै ४६२ गणक र १०४ सुपरीवेक्षकको दरबन्दी रहेको छ । त्यस्तै माडीमा ५३ गणक र १४ सुपरीवेक्षक, रत्ननगरमा १२२ गणक र २४ सुपरीवेक्षक, कालिकामा १०५ गणक र २२ सुपरीवेक्षक तथा राप्तीमा १५३ गणक र ३९ सुपरीवेक्षक आवश्यक पर्छ ।
सुपरीवेक्षकका लागि चैत २० गते सम्पर्क मिति तोकिएको भण्डारीले बताए । उनले सुपरीवेक्षकलाई वैशाख १६ देखि २२ गतेसम्म तालिम दिइने तथा वैशाख १६ देखि जेठ १४ गतेसम्म घरपरिवार सूचीकरणको काम हुने जानकारी दिए । जेठको १० देखि १४ गतेसम्म गणक नियुक्ति तथा १७ देखि २२ सम्म तालिम हुने छ ।

मुख्य गणना भने २०७८ जेठ २५ देखि असार ८ गतेसम्म हुने भन्दै असार ८ गते नै १२औँ राष्ट्रिय जनगणना दिवस मनाइने भण्डारीले बताए । असोज मसान्तसम्म प्रारम्भिक नतिजा सार्वजनिक गरिने भण्डारीको भनाइ छ । त्यस्तै २०७९ वैशाखबाट अन्तिम नजिता प्रकाशन हुने कार्यसूची रहेको उहाँले बताउनुभयो । यसपटक १४ वटा विषयमा विषयगत प्रतिवेदन प्रकाशन हुनेछ । रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर