समयमै डाक्टर नआउँदा विरामीको मृत्यु ! – Nepal Press

 समयमै डाक्टर नआउँदा विरामीको मृत्यु !

रुपन्देही । रुपन्देहीको तिनाउ इन्टरनेशनल अस्पतालमा गएराति एक विरामीको मृत्यु हुनुको कारण चिकित्सकको लापरबाही भएको आफन्तले आरोप लगाएका छन् ।

रुपन्देहीको सैनामैना सालझण्डीकी ४४ वर्षीय पार्वती घिमिरे बराललाई लगातार वान्ता र स्वासप्रस्वासमा समस्या भएपछि सोमबार अस्पतालमा भर्ना गरिएको थियो । मंगलबार मध्यरातमा असहज भएका बेला अस्पतालमा चिकित्सक थिएनन् । मध्यरातमा चिकित्सक नभएको र आउन ढिला हुँदा निधन भएको आरोप मृतकका श्रीमान सूर्य बरालले लगाएका छन् । उनीहरुले बुधबार विहानैदेखि अस्पताल परिषरमा विरोध प्रदर्शन गरिरहेका छन् ।

‘राती १ बजेर ५० मिनेटमा डाक्टरलाई कल गर्दा २ बजेर ४० मिनेटमा आइपुगे,’ उनले भने, ‘इमर्जेन्सीका ड्युटी अफिसर रुद्र भण्डारी समयमा बिरामीको उपचारमा नपुग्दा बिरामीको मृत्यु भएको हो ।’

राती १० बजेबाटै बिरामीलाई असहज भएको भन्दै बिरामीका आफन्तले आईसीयूको सेवा माग्दा पनि अस्पतालले बेवास्ता गरेको बरालले बताए ।

अस्पताल प्रशासनले भने डाक्टर सयमै पुगेको र उपचारमा कुनै कमी नगरिएको दाबी गरेको छ । ‘विरामीलाई रातको १० बजेदेखि नै असहज भएपछि ११ बजे आइसियूमा राख्न डाक्टरहरुले सुझाब दिएका थिए,’ अस्पतालका अध्यक्ष चिरञ्जिवी जोशीले नेपालप्रेससँग भने ‘चिकित्सकहरुले यसरी सल्लाह गर्दा मृतकका आफन्त तथा छोरीले बुवा (मृतकको श्रीमान) आएपछि सल्लाह गर्छौ भनेका रहेछन् । यसरी समयमा आइसियू नराख्दा बिरामीको मृत्यु भयो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *