खुवालुङको ‘च्याप्टर क्लोज’, प्रदेश सरकारले पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने – Nepal Press

खुवालुङको ‘च्याप्टर क्लोज’, प्रदेश सरकारले पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने

विराटनगर । प्रदेश–१ सरकारले किरातीहरुको आस्था र धरोहरको केन्द्रको रुपमा रहेको खुवालुङको संरक्षण गदै धार्मिक पर्यटकीय क्षेत्रकोरुपमा विकास गर्ने गुरुयोजना अघि सारेको छ ।

पछिल्लो सयम सरकारले खुवालुङ फुटाउने या सार्ने बन्ने बिषय जोडिएपछि सप्तकोशी नदीको बीचमा रहेको यो ढुंगोको चर्चा चुलिएको थियो । मंगलबार मुख्यमन्त्री शेरधर राईले खुवालुङ क्षेत्रको स्थलगत निरीक्षणसमेत गरेका छन् ।

उनले किरात समुदायका अगुवा र स्थानीयसँगको छलफलमा खुवालुङ फुटाउने या सार्ने भन्दा पनि यसको संरक्षण गदै विकास गर्ने सरकारको नीति रहेको प्रष्ट पर ।

‘प्रदेश सरकार खुवालुङको संरक्षण गदै धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजनामा छ,’ मुख्यमन्त्री राईले भने, ‘बाहिर आएको हल्ला जस्तो खुवालुङ फुटाउने या सार्ने सरकारको कुनै नीति छैन ।’ मुख्यमन्त्री राईले जलमार्गको अध्ययन गर्ने क्रममा नै रहेकोले खुवालुङ फुटाउने बारे कुनै छलफल नभएकोले अनावश्यक र भ्रमक प्रचारको पछि नलाग्न पनि आग्रह गरे ।

धनकुटा, भोजपुर र उदयपुर जिल्लाको सिमानामा पर्ने तीन ठूला नदीहरू अरुण, तमोर र दूध कोशीको सङ्गमस्थल त्रिवेणीमा रहेको खुवालुङलाई भत्काएर सहज रूपमा जल यातायत सञ्चालन गर्ने सरकारको योजना सार्वजनिक भएको थियो । अब प्रदेश सरकारले नै यसको संरक्षणमा गुरुयोजना अघि सारेपछि यसको सम्भावित विनाशको ‘च्याप्टर क्लोज’ भएको छ ।

सप्तकोशीमा जल यातायात सञ्चालनका लागि अध्ययन गरिरहेका विज्ञ टोलीका सदस्य विपलराज पाण्डेले सर्भेको क्रममा रहेकोले नदीको बीचमा रहेको खुवालुङका विषयमा सरकारसँग राय मात्रै मागेको बताए ।

उनले खुवालुङको दायाँ–बायाँबाट जेटबोट सञ्चालनका लागि च्यानल बनाएर खुवालुङ बचाई ५–५ मिटर दाँया–बाँया निषेधित क्षेत्र तोकेर जहाज सञ्चालन गर्नेबारे अध्ययन भइरहेको पनि जानकारी दिए । प्रदेश योजना आयोगले सप्तकोशी नदीमा ठूला आकारका जहाज सञ्चालनका लागि नदीको वहाव र गहिराईबारे डिसेम्बारदेखि प्रविधिकको एक टोली परिचालन गरी सर्भेको काम गरिरहेको छ ।

टोलीले सप्तकोशीदेखि दोलालघाट सम्म जलयात्रासञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्नेछ । मुख्यमन्त्री राईसँगको छलफलमा किरात समुदायका अगुवाहरुले खुवालुङ लाई सार्ने या फुटाउने भन्दापनि यसको संरक्षणमा सरकार लाग्नु पर्नेमा जोड दिएका थिए ।

प्राविधिक सहितको टोली लिएर खुवालङ क्षेत्रको स्थलगत अवलोकनमा पुगेका मुख्यमन्त्री राईले किरात राई यायोक्खाको पदाधिकारीसँग पनि छलफल गरेका थिए ।

सप्तकोशी नदीमा स्टिमर सञ्चालनमा नदीको बीचमा रहेको ठूलो ढुङ्गो खुवालुङले अवरोध पुर्‍याउँदै आएको छ । तर फुटाउने योजनाको किराँत समुदायले विरोध गरेपछि सरकार पछि हटेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ७ गते विराटनगरमा आयोजित आमसभामा जलयात्राको अवरोधकका रुपमा रहेको खुवालुङ ढुंगा फुटाउने बताएपछि चौतर्फी विरोध भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर