बेलारुसको पोष्टमा बेल्जियमको ८ गोल, लक्जेम्वर्गमाथि पोर्चुगलको पुनरागमन जित – Nepal Press

बेलारुसको पोष्टमा बेल्जियमको ८ गोल, लक्जेम्वर्गमाथि पोर्चुगलको पुनरागमन जित

एजेन्सी । कतारमा अर्को वर्ष हुने विश्वकपका लागि युरोपियन छनोट अन्तर्गत बेल्जियमले बेलारुसमाथि ८–० गोलअन्तरको फराकिलो जित हासिल गरेको छ ।

गएराति भएको खेलमा समूह ई को शीर्ष स्थानमा रहेको बेल्जियमले पहिलो हाफमै ४–० को अग्रता बनाएको थियो । बेल्जियमका लागि हान्स भानाकेन र लान्द्रो ट्रोसर्डले २–२ गोल गरेका थिए ।

यही समूहको अर्को खेलमा वेल्सले चेक रिपब्लिकमाथि १–० को कठिन जित निकाल्यो । खेलमा दुवै टोली १० खेलाडीमा समेटिएको थियो ।

दोस्रो हाफको सुरुमै चेक स्ट्राइकर प्याट्रिक चिक रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि टोली १० खेलाडीमा समेटियो । ७७ औं मिनेटमा वेल्स मिडफिल्डर कोनर रोवर्टस दोहोरो पहेलो कार्ड पाउँदै मैदान बाहिरिनुपर्‍यो ।

त्यसको चार मिनेटपछि वेल्सले गोल गर्न सक्यो । उसका लागि ड्यानियल जेम्सले गोल गरेका हुन् । गोका लागि ग्यारेथ बेलले पास उपलब्ध गराएका थिए ।

यता समूह एमा लक्जेम्वर्गमाथि ३–१ गोलअन्तरको जितसहित पोर्चुगल शीर्ष स्थानमा पुगेको छ । उसले ३ खेलबाट ७ अंक भएको छ ।

घरेलु टोलीका लागि ३० औं मिनेटमा रोड्रिग्वेजले गोल गरी अग्रता दिलाए पनि त्यसयता पोर्चुगलले तीन गोल थप्यो । डिएगो जोटाले पहिलो हाफको इन्जूरी समयमै गोल गरी खेल बराबरीमा ल्याएका थिए ।

दोस्रो हाफ सुरु भएलगत्तै क्रिष्टियानो रोनाल्डोले गोल गरे । ८० औं मिनेटमा जोआओ पाल्हिनाले गोल गरेपछि पोर्चुगल ३–१ ले विजयी भयो । यो समूहमा सर्विया पनि समान ७ अंकसहित दोस्रो स्थानमा छ ।

समूह जी अन्तर्गत दोस्रो स्थानमा रहेको नेदरल्याण्ड्सले जिव्राल्टरमाथि ७–० गोलको फराकिलो जित निकाल्यो । उसका लागि मेम्फिस डिपेले २ गोल गरेका थिए । यो समूहमा टर्की ७ अंकसहित शीर्ष स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *