कृष्ण खनाललाई ओलीको कटाक्षः डबलीमा ‘सो कल्ड’ बुद्धिजीवीलाई हेर्नुभयो होला, आहाहा… – Nepal Press

कृष्ण खनाललाई ओलीको कटाक्षः डबलीमा ‘सो कल्ड’ बुद्धिजीवीलाई हेर्नुभयो होला, आहाहा…

काठमाडौं । गत शनिबार प्रज्ञा भवनमा नागरिक आन्दोलनका नाममा आयोजना गरिएको थियो, एउटा अन्तरक्रिया । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेका वरिष्ठ नेता (हाल निलिम्बित) माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुरलाई सँगै राखेर गरिएको अन्तरक्रियाका मोडरेटर थिए बुद्धिजिवी प्रा.डा. कृष्ण खनाल ।

अन्तरक्रियामा सहजकर्ताको भूमिकामा रहेका खनालको प्रस्तुति सामाजिक सञ्जालमा चर्चाको विषय बन्यो । उनले केपी ओलीलाई कुर्सीबाट हटाउन नसकेको भनेर नेताहरुमाथि आक्रोश पोखेका थिए । नागरिक अगूवाको मुखुण्डो भिरेर ओलीविरोधि अभियान चलाएको भनेर एमाले समर्थकले उनको आलोचना गरे । यो विषयमा ओली स्वयम्को टिप्पणी प्रतिक्षित एवं अपेक्षित थियो । नभन्दै आज उनले बोले ।

रिपोर्टर्स क्लवको वार्षिकोत्सव कार्यक्रममा भाषण गर्ने क्रममा ओलीले बारम्बार ‘डबली’ को प्रसंग निकालेका थिए । त्यहाँ प्रचण्डले गरेको भाषणमाथि उनले कडा टिप्पणी गरे । ओलीको तीर कृष्ण खनालतर्फ पनि सोझियो । तथापि उनले खनालको नाम भने लिएनन् ।

‘डबलीमा देख्नुभयो अस्ति । बुद्धिजिवीहरुको कामै ओहोहोहो…. त्यहाँ मोडरेटरको काम देख्नुभयो होला तपाईंहरुले । बुद्धिजीवी मोडरेटर आहाहाहा… । क्या स्ट्यान्डर्ड थियो…’ ओलीले भने ।

‘सो कल्ड मोडरेटर… डेमोक्रेसीका लागि कति योगदान गर्या छ, कसका स्वार्थ बोकेर कुद्या छ, अनि माखोल उडाका छन् डेमोक्रेसीको । किन तपाईंहरु केपी ओलीलाई हटाउनुहुन्न ? अहिलेको मुख्य काम नै केपी ओली हटाउनु हो । किनभने यता देश विकास गर्न थालिसक्यो केपी ओलीले । यस्तो गर्न दिइरहनुहुन्छ, महन्थ जी ? मोडरेटर है । तराइका समस्या समाधान गर्न आँटिसक्यो । त्यो गर्न दिनुहुन्छ महन्थजी ? दिनुहुन्न नि । विप्लवका समस्या समाधान गरिसक्यो, सिके राउतका समस्या समाधान गरिसक्यो, मेलम्चीको पानी खसाइसक्यो, तुइन हटाइसक्यो, झोलुंगे पुल बनाइसक्यो… हद भो नि यार । छिटो हटाउनुपरो नि । सो कल्ड मोडरेटर ।’

बुद्धिजिवीहरुले देश संकटमा परेको भनेर हौवा फैलाएको प्रधानमन्त्रीले बताए ।

उनले भने, ‘खोइ कहाँ के संकट छ ? केपी ओलीलाई संकट पर्यो होला, प्रचण्डलाई, माधव नेपाललाई संकट पर्यो होला, तर देशलाई के संकट छ ? लोकतन्त्रलाई के संकट छ ? यदि चुनाव गर्न लाग्दा देश संकटमा परेको हो भने २ वर्षपछि फेरि संकट पर्ने भो नि । अनि के चुनावै नगर्ने ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर