होलीमा एसिडले जलायो अस्मिताका खुशीहरू – Nepal Press

होलीमा एसिडले जलायो अस्मिताका खुशीहरू

काठमाडौं । सुष्मा कोइराला मोमेरियल अस्पताल साँखुको भुइँतला । एउटा क्याविनमा दुई वटा बेड छन् । एउटा बेडमा छिन्, १६ वर्षीया अस्मिता तामाङ र अर्कोमा छन् ११ वर्षीया सविन तामाङ ।

बेडनजिकैको कुर्सीमा अस्मिताकी दिदी शान्ति तामाङ झोक्राइरहेकी थिइन् । सँगै अर्को कुर्सीमा फुपूदिदी र उनकी सानी छोरी टोलाइरहेका थिए ।

अस्मिता निदाउने प्रयासमा थिइन् । तर, दुखाइले न उनलाई निदाउन दिन्छ न अडेस लागेर बस्न । घरिघरी आँखा खोल्ने असफल प्रयास गर्छिन्, तर सक्दिनन् । आधाभन्दा बढी भाग जलेको अनुहारको जलन उनका आँखाहरुमा देख्न सकिन्थ्यो ।

आँखा सुन्निएको छ । डाक्टर भन्छन्- मुख नछोप्नु । तर, सिरकले अनुहार नछोपी बस्न सक्दिनन् । दुखाइले गर्दा केही खानसमेत सकेकी छैनन् ।

‘खाली दुख्यो भनेर रोइरहन्छे,’ छेउमा टोलाएर बसेकी दिदी शान्ति सुनाउँछिन् । बहिनीको दुखाइले शान्तिलाई पनि चहर्‍याएको छ । अस्मिता त्यो घटना सम्झन त चाहन्नन् । तर, आँखामा झल्झली त्यही क्षणमात्र नाचिरहन्छ ।

हर साल रंगिन बनेर आउने होली यसवर्ष अझै उल्लासमय बन्ने सोचेकी थिइन्, सायद । बिडम्बना ! यसपालिको होलीमा जे भयो, त्यो उनको कल्पनामा पनि थिएन ।

०००

घटना आइतबार दिउँसोको हो ।

सिंगो देश होलीमा रमाइरहेको बेला शंखरापुर नगरपालिका-१  नाङ्लेभारेका बालबालिका पनि मस्तिको माहोलमा थिए । होलीको रमाउन घरबाट निस्केका अस्मिता, सविन र विशाल नाङ्लेबाट आफ्नो विद्यायलमा पुगे ।

अस्मिता र नवीन बालग्राम माविको कक्षा ९ र ४  मा पढ्थे । केही दिनअघि नै स्कूलमा होली खेल्ने योजना बनाइसकेका थिए, उनीहरूले ।

त्यसदिन उनीहरू होली खेल्न घरबाट १० मिनेटको दूरीमा रहेको विद्यालय गए । त्यसैबखत स्कूलको कम्पाउण्डमा दुईजना बाटो बनाउने कामदार देखिए, उनीहरू पनि मिसिए अस्मिताको समूहमा । मिसिनेमा १७ वर्षीय पवन पहारी र आकाश तामाङ थिए ।

स्कुलको कम्पाउण्डसँगै जोडिएको डेरी त्यतिबेला खुल्लै थियो । सबैजना रमाइरहेका थिए । त्यही क्रममा पवन डेरीनजिक गए । उनले ड्रममा राखेको पानीजस्तो देखिने तरल पदार्थ हातमा भएको रङसँग दले । अनि छेउमै रहेकी अस्मितालाई लगाइदिए । लगत्तै रहेका सविन र विशाललाई लगाइदिए ।

तर, त्यो दल्नेबित्तिकै उनीहरूको आफ्नै हात पोल्न थाल्यो । अस्मितालाई त खपिनसक्नु भइहाल्यो । उनी रुन-कराउन थालिन् । सविन र विशालको पनि उही अवस्था भयो । सबैजना पोल्यो भन्दै रुन/कराउन थाले ।

पवनले रंगसँगै पानी भनेर प्रयोग गरेको वस्तु वास्तवमा एसिड थियो ।

सबैभन्दा धेरै एसिड अस्मिताको अनुहारमा छरिएको थियो । उनको आँखा, कान, मुखलगायत सबै भागमा जलन शुरू भयो । उनी रुन कराउन थालेपछि तत्काल वरिपरिका मानिस कम्पाउण्डनिर आए । सबैले अतालिँदै सोधखोज गर्न थाले ।

रंग दलिदिएका पवनले आफूले बोतलबाट पानी ल्याएर दलेको बताए । त्यसपछि डेरी सञ्चालकबाट थाहा भयो- त्यो बोतलमा पानी होइन एसिड थियो ।

लगत्तै स्थानीयले उनीहरूलाई साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल लगे । त्यतिन्जेल अस्मिताको परिवारले घटनाबारे जानकारी पाएको थिएन । अस्पताल लगिसकेपछि दिदी शान्तिलाई गाउँकै एक दाजु पर्नेले जानकारी दिए ।

दिदी अत्तालिँदै अस्पताल पुगिन् ।

बिहानसम्म बहिनीलाई हाँसिखुशी देखेकी शान्तिले अस्पतालमा आफूलाई सम्हाल्न सकिनन् ।

‘मैले भेट्दा बहिनी रोइरहेकी थिई । अनुहार जलेको थियो । त्यो देखेर मलाई नै सम्हालिन गाह्रो भयो,’ शान्ति अघिल्लो दिनको घटना सम्झिन्छिन् ।

घरमा भएकी आमालाई केही थाहा थिएन । आमा एक महिनाकी सुत्केरी छन् । बहिनीको अवस्थाबारे शान्तिले सुनाएपछि आमा पनि अत्तालिएकी छन् । बारीमा काम गरिरहेका बुवाछोरीको हाल थाहा पाएपछि आत्तिँदै अस्पताल पुगे । छोरीलाई देखेपछि उनको पनि मन अशान्त भयो । उनले प्रहरीमा घटनाबारे उजुरी समेत दिए ।

अस्मिता आफूलाई रंग लगाउने युवकलाई, चिन्दिनन् । उनीहरू कहाँका हुन् भन्ने थाहा छैन । पछि मात्र थाहा भयो, एसिड प्रहार गर्नेहरू बाटोमा काम गर्ने मजदुर रहेछन् ।

‘डाक्टरले पोलेको कम गर्ने औषधी दिएका छन् । तर, जलन कम हुनुको साटो बढिरहेको छ,’ दिदी शान्ति मलिन स्वरमा सुनाउँछिन् ।

जलन सहन नसकेर आँसु बगिरहन्छन्, अस्मिताका आँखाबाट ।

‘अब त मेरो अनुहार पहिलाजस्तो हँुदैन होला । यस्तो अनुहार लिएर कसरी स्कुल जानु ?’ उनी सुँक्सुकाउँदै भन्छिन् ।

डाक्टरले अपरेसनपछि ठिक हुन्छ त भनेका छन् । तर उनलाई विश्वास छैन । आफन्त, साथीभाइ आउँछन्, सम्झाउछन् र जान्छन् । तर सान्त्वनाले केहीबेर मन शान्त भए पनि जलन शान्त हुँदैन ।

‘अपरेसन गरेपछि ठीक हुन्छ त मेरो अनुहार ?’ डाक्टर/नर्स अगाडिपर्नेबित्तिकै कोट्याइरहन्छिन् उनी ।

उपचारमा संलग्न डाक्टरका अनुसार उनको अनुसारको धेरै भाग एसिडले जलेकाले अपरेसन गर्नुपर्ने छ ।

‘अपरेसन गरेपछि नयाँ छाला पलाउँछ । भित्रको मासुसमेत जलेको कारण पूरै ठीक हुन समय लाग्छ ,’ उपचारमा संलग्न डा. विनोद भण्डारी भन्छन् ।

डा. भण्डारीका अनुसार अस्मिताको अनुहारको पाँच प्रतिशत भाग एसिडले जलेको छ । अपरेसनबाट मरेका छाला निकाल्नुपर्ने हुन्छ । विस्तारै नयाँ छाला पलाएपछि ठीक हुँदै जान्छ ।

तर, शल्यक्रिया गर्ने पैसा कसरी जुटाउने भन्ने चिन्तामा छ परिवार । ज्याला-मजदुरी गर्दै परिवार पाल्ने अस्मिताका बाबु बेचैनीमा छन् ।

‘पैसा कसरी बन्दोबस्त गर्ने थाहा छैन । यस्तो आपत् कहिल्यै आइलागेको थिएन,’ दिदी शान्ति निराश मुद्रामा भन्छिन् ।

अपडेट

अस्मिताको शल्यक्रिया केहीबेर अघि सम्पन्न भएको छ । डाक्टरले उनको शल्यक्रिया सफल रहेको र अहिले उनी सामान्य अवस्थामा रहेको नेपाल प्रेसलाई बताए ।

अस्मितासँगै एसिड लागेका एक बालकहरु भने सामान्य उपचारपछि घर फर्केका छन् । उनीहरुको हातमा एसिड लागेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर
नेपाल अपडेट ट्रेन्डिङ