कारबाहीअघि प्रचण्डसँग भेट गरेका थिए नेपाल र रावलले – Nepal Press

कारबाहीअघि प्रचण्डसँग भेट गरेका थिए नेपाल र रावलले

काठमाडौं। पार्टीहित विपरित काम गरेको भन्दै सोधिएको स्पष्टीकरको जवाफ नदिएको भन्दै नेकपा एमालले नेताद्वय माधवकुमार नेपाल र भीम रावललाई पार्टीको साधरण सदस्यबाट समेत निलम्बन गरेको छ।

६ महिनाका लागि उनीहरुलाई निलम्बन गरिएको हो । सच्चिएर आए लिम्बन अवधि घटाउने र नसच्चिए अझैं थप कारबाही गर्ने चेतावनी अध्यक्ष केपी शर्मा ओलीले दुवै जनालाई बुझाएको पत्रमा उल्लेख गरिएको छ।

कारबाहीको पत्र साँझतिर मात्रै पुगेको भए पनि यसको सूचना भने नेपाल र रावलले सोमबार बिहानै पाएका थिए। उक्त सूचना पाएपछि नै उनीहरुले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका थिए।

कोटेश्वरस्थित व्यापारी टपिन्द्र तिम्सिनाको घरमा भएको छलफल करिब दुई घण्टा चलेको थियो । नेता नेपालले अध्यक्ष ओलीको कारबाही नमान्ने र खारेज गर्ने प्रारम्भिक प्रतिक्रिया दिएका छन्।

नेपाल प्रेससँग कुरा गर्दै नेपालले भने, ‘केपी ओली एमालेको अध्यक्ष नै होइनन्, यो उनको अराजकतामात्र हो। यस्ता कारबाही स्वीकार गरिन्न, चाँडै बैठक बसेर हामी निर्णय लिन्छौं।’

अर्का नेता रावलले यसलाई अध्यक्ष ओलीको ‘तानाशाही निर्णय’ भन्दै त्यो अस्वीकार्य भएको प्रतिक्रिया दिएका छन् । एक वक्तव्य निकाल्दै रावलले एमालेको नवौं महाधिवेशनको अध्यक्ष स्वयं अवैधानिक भएको दावी गरेका छन् र कारबाहीको निर्णय पूर्णरूपमा अस्वीकार गर्ने उल्लेख गरेका छन्।

पार्टीको कारबाहीपछि नेता नेपाल समूहले कस्तो कदम चाल्ने हो भन्नेतर्फ धेरैको चासो छ। नेता नेपालले त्यसबारे रणनीति बनाउन छिट्टै जुट्ने बताएका छन्।

माओवादी अध्यक्ष प्रचण्डसँग नेपाल लगायतका नेताहरुले गरिरहेको तारन्तर भेटतर्फ लक्षित गर्दै एमाले संस्थापन पक्षले शंकाको नजरले हेरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर