खोप बुझ्दै प्रधानमन्त्रीले भने- नेपाल र चीन सम्बन्ध एक कदम अघि बढ्यो (भिडियो) – Nepal Press

खोप बुझ्दै प्रधानमन्त्रीले भने- नेपाल र चीन सम्बन्ध एक कदम अघि बढ्यो (भिडियो)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल-चीन सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन् ।

बालुवाटारमा सोमबार आयोजित चिनियाँ खोप हस्तान्तरण कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले दुई मुलुकबीचको सम्बन्ध एक कदम अगाडि बढेको बताएका हुन् ।

‘कोभिडविरुद्धको लडाइमा नेपाल र चीनका नीति समान छन्’ उनले भने, ‘जनताको जीवन छ भने देश पनि चल्छ भन्ने मान्यता हामी अडिग छौं ।’ चीनबाट प्राप्त आठ लाख डोज खोपले नेपालको खोप कार्यक्रमलाई अगाडि बढाउने उनले बताए ।

भारतबाट समेत प्राप्त खोपलाई मिश्रण नगरिकन दुबै डोज खोप लगाइने स्पष्ट पार्दै प्रधानमन्त्रीले खोपको प्रभावकारितालाई लिएर कतिपयले अवरोध सिर्जना गर्न सक्ने आंशका गरे । ‘उनीहरुको आशंकालाई मेट्न जानकारी दिनुपर्ने हुन्छ’ उनले भने ।

उनले दुबै छिमेकी मुलुकबाट प्राप्त खोपहरु प्रभावकारी रहेको समेत बताए । प्रधानमन्त्रीले खोपका लागि चीन सरकारलाई धन्यवाद समेत दिए । प्राकृतिक विपत्तिमा दुबै मुलुक मिलेर अगाडि बढ्नुपर्ने उनले बताए ।

खोपको औपचारिक हस्तान्तरण कार्यक्रममा चिनियाँ राजदूत होउ यान्छी र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली समेत उपस्थित थिए । चिनियाँ राजदूत यान्छीले नेपालको विकासमा मित्रराष्ट्र चीन सँधै उभिने बताउँदै चीनको पञ्चवर्षिय योजनामा मित्रराष्ट्रको हित पनि समावेश भएको बताइन् ।

चीनले सिनोफार्मले विकास गरेको ८ लाख डोज भेरोसेल नेपाललाई उपलब्ध गराएको हो । सरकारले आपतकालिन प्रयोगका लागि अनुमति दिएपनि सार्वजनिक प्रयोगका लागि भने सरकारले विश्व स्वास्थ्य संगठनको अनुमति कुरेर बसिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर