आदिवासी जनजाति लेखक महासंघलाई इतर आवाजको बधाई – Nepal Press

आदिवासी जनजाति लेखक महासंघलाई इतर आवाजको बधाई

काठमाडौं । इतर आवाज साहित्य समाज दक्षिण कोरियाले आदिवासी जनजाति साहित्यकार/लेखक महासंघको नवनिर्वाचित केन्द्रीय कार्यसमितिलाई बधाई ज्ञापन गरेको छ । आइतबार कोटेश्वरमा आयोजित एक कार्यक्रम मार्फत् समितिलाई बधाई तथा शुभकामना दिएको हो ।

गत चैत  ८ गते सम्पन्न महासंघको दुई दिने राष्ट्रिय भेलाबाट लेखक राजन मुकारुङको अध्यक्षतामा प्रथम केन्द्रीय कार्यसमिति निर्वाचित भएको थियो । भेलाबाट महासंघले प्राज्ञिक परिषद पनि गठन गरेको थियो ।

कार्यक्रममा इतर आवाज साहित्य समाज, दक्षिण कोरियाको तर्फबाट प्रतिनिधिका रुपमा खोम गुरुङ र मातृका नेम्बाङ उपस्थित थिए ।कलाकार तथा साहित्यकारहरू बिमला तुम्खेवा, प्रकाश आङ्देम्बे, स्वप्निल स्मृति, चन्द्रवीर तुम्बापो, छम गुरुङ, श्याम शाह, ब्रबिम शेर्मा, अनिल सुब्बा, उत्तम लिम्बू, लक्ष्मी योङ्हाङ, जेपी नेम्बाङलगायत महासंघका सदस्यहरुको उपस्थिति थियो ।

कार्यक्रममा  बोल्दै  खोम गुरुङले पहिचानको आन्दोलनलाई गति दिनका लागि महासंघले परिणाममुखी काम गरेर देखाउनुपर्ने बताए ।
अध्यक्ष राजन मुकारुङले पहिचानको बहसलाई महासंघले थप वैचारिक र प्राज्ञिक बनाउँदै लैजाने बताए ।

पहिचानको आन्दोलनलाई सशक्त बनाउनका लागि मुद्दा मिल्ने संस्थाबीच कार्यगत एकता आवश्यक रहेको उनले बताए । ‘नेपालको शिक्षापद्धति नै त्रुटिपूर्ण रहेकोले यसको परिमार्जन गर्दै आदिवासी जनजाति र सिमान्तकृत समुदायको सौन्दर्यशास्त्रलाई विद्यालयदेखि विश्वविद्यालय तहसम्म पठनपाठन गराउनका लागि पाठ्यक्रम निर्माण गर्ने लक्ष्य महासंघको छ,’ मुकारुङले भने ।

इतर आवाज साहित्य समाज, दक्षिण कोरियाका प्रतिनिधि मातृका नेम्वाङले कविताकृति ‘इतर कविता’माथि विमर्श कार्यक्रम पनि केही दिनभित्रै आयोजना गर्ने तय भएको जानकारी दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर