कर्णालीमा माधवपक्षीय सांसद पनि सरकार ढाल्न तयार ! एमालेको एकल सरकार बनाउन गृहकार्य – Nepal Press

कर्णालीमा माधवपक्षीय सांसद पनि सरकार ढाल्न तयार ! एमालेको एकल सरकार बनाउन गृहकार्य

सुर्खेत । कर्णाली प्रदेशमा ४० मध्ये २० सिट जितेको नेकपा एमाले महेन्द्रबहादुर शाही नेतृत्वको सरकार ढाल्न एकढिक्का हुनसक्ने देखिएको छ । अब नेकपा एमालेको एकल सरकार बनाउन ढोका खुलेको नेताहरूले बताएका छन् ।

यसअघि एमालेको संस्थापन पक्षले शाहीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेर पत्रसमेत बुझाइसकेको थियो । तर, त्यसमा सोही पार्टीका माधव नेपाल पक्षधर सांसदहरू सहमत थिएनन् । पछिल्लो विकास क्रममा दुवै पक्षका सांसदहरू सरकार ढाल्न एक ठाउँ उभिएको स्रोतले बताएको छ ।

‘सर्वोच्चको फैसलापछि अहिले सबै नेकपा एमालेमा आएका छौं । अब विगतका कमी-कमजोरी सुधार गर्दै अघि बढौं भनेर संसदीय दलका नेता यामलाल कँडेलले प्रस्ताव गर्नु भएको छ,’ माधवपक्षीय एक सांसदले भने ।

यस विषयमा कँडेललले मन्त्री प्रकाश ज्वालासँग दुईवटा भेटेर कुराकानी गरिसकेको उनले जानकारी दिएका छन् ।

ती सांसद भन्छन्, ‘प्रदेशसभामा एमालेको सरकार बनाउने बारेमा शुरूमा पनि कुनै विवाद थिएन । अहिले पनि एमालेको यसमा सबै सकारात्मक नै छौं ।’

केन्द्रमा प्रधानमन्त्री एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले दलको तर्फबाट नेताहरूलाई स्पष्टीकरण सोधे पनि यहाँ नेता कँडेलले कसैलाई कुनै एक्सन लिएका छैनन् । त्यसैले एक ठाउँमा आउन सहज वातावरण भएको अर्का सांसदले बताए ।

‘यामलाल कमरेड सबैलाई मिलाएर एमालेलाई एकताबद्ध बनाएर लैजाने पक्षमा हुनुहुन्छ । बरु त्यसका लागि आफूले के गर्नुपर्छ त्यसमा तयार रहेको बताइरहनुभएको छ,’ ती सांसद भन्छन् ।

कँडेलले पछिल्लो समय नेकपा एमालेको इन्चार्ज भइसकेपछि सन्तुलनकारी क्षमता प्रदर्शन गर्दै आएको उनको टिप्पणी छ ।

‘यसले हाम्रो पक्षका सांसदहरूमा पनि उत्साह थपेको छ र मिलेर जाने वातावरण बनेको छ,’ उनले भने ।

माधव नेपाल पक्षधर प्रभावशाली नेतृ देवी ओलीले एमालेकै नेतृत्वमा सरकार बनाउने गृहकार्य भइरहेको बताइन् ।

‘हामीले पहिले पनि एमालेकै नेतृत्वमा सरकार बनाइनुपर्छ भनेर माग गरेका थियौं । अहिले पनि हाम्रै पार्टीको नेतृत्वमा सरकार बनाउनुपर्छ भन्ने पक्षमा छौं । अहिले एमाले एक्लैले सरकार बनाउने अवस्था कर्णालीमा आएको छ । यो मौका हामी गुमाउन चाहदैनौं,’ उनले भनिन् ।

यसका लागि नेताहरूबीच आवश्यक सल्लाह भइरहेको ओलीले बताइन् । समर्थन फिर्ताको निर्णयमा अबको केही दिनमा बस्ने वैठकले आवश्यक सहमति गर्ने उनको भनाइ छ ।

‘माओवादी केन्द्रबाट सांसद धर्मराज रेग्मीलाई कारवाही भएको खण्डमा यहाँ हाम्रो एकल सरकार बन्छ,’ उनले भनिन् ।

एमाले संसदीय दलमा सभामुख राजबहादुर शाहीबाहेक १९ जना छन् । उनीहरूमध्ये ओली पक्षमा १० र नेपाल पक्षमा ९ जना बाँडिएका थिए । यी दुवै पक्ष मिल्दा १९ जना पुग्नेछन । यसका अलावा माओवादी केन्द्रबाट एमालेमा सांसद धर्मराज रेग्मी पनि आइसकेका छन् ।

रेग्मीलाई केन्द्रले कारबाही गरेका खण्डमा एमालेको एक्लै सरकार बन्ने बाटो खुल्नेछ । अन्यथा एमालेले राप्रपालाई साथमा लिएर सरकार बनाउने विकल्प छ । राप्रपाको एक सिट छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर