अन्नपूर्ण आधार शिविर जोड्ने पदमार्ग निर्माण शुरु – Nepal Press

अन्नपूर्ण आधार शिविर जोड्ने पदमार्ग निर्माण शुरु

काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङबाट अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने पदमार्ग निर्माण शुरु भएको छ ।

पर्यटन विभागले ठेक्कामार्फत अन्नपूर्ण, नीलगिरि र तिलिचो पिक हिमालको आधार शिविर जोड्ने पदमार्ग निर्माण शुरु गरेको हो ।

विभागका इञ्जीनियर सचिन्द्रदेव यादवले दुई करोड ५० लाख रुपैयाँमा ठेक्का लिएको थानी–एनबी जेभीले पदमार्ग निर्माण शुरु गरेको बताए ।

‘पदमार्ग, पुल र पोर्टर सेल्टर (आश्रयस्थल) बनाउन लागिएको हो’, उनले भने, ‘आवश्यकताका आधारमा डिजाइनअनुसार ठेकेदारले तोकिएको परिणाममा पूर्वाधार बनाउने सम्झौता भएको छ ।’ आगामी आर्थिक वर्ष २०७८/७९ मा पदमार्ग निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

विभिन्न ठाउँमा ढुङ्गाको सिँढी चिनेर, सोलिङ गरेर, माटो, पहाड काटेर, रेलिङ राखेर दुई मिटर फराकिलो पाँच किलोमिटरभन्दा बढी पदमार्ग बनाउने लक्ष्य छ ।

हुमखोला, फुतफुते झरना, भुसकेत र दुला भन्ने ठाउँमा भरिया तथा पर्यटक बस्न मिल्ने आश्रयस्थल बनाउन लागिएको छ । यसैगरी दुई ठाउँमा पुल निर्माण गर्ने योजना छ ।

पन्ध्र किलोमिटर दू्रीको विभिन्न ठाउँमा पदमार्ग बनाउने गरी ठेकेदारले काम गरिरहेको संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले बताए ।

हिमाल आरोहण भएको ७० वर्षपछि आधार शिविर जोड्ने पदमार्ग निर्माण गर्न लागिएको हो । सन् १९५० को जुन ३ मा फ्रान्सेली नागरिक मौरिज हर्गोजले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको चुचुरोमा पहिलोपटक पाइला टेकेका थिए ।

अन्नपूर्ण आठ हजार मिटरभन्दा अग्लो पहिलोपटक आरोहण भएको हिमाल हो । नारच्याङका अगुवाहरुले विसं २०६८ मा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्यसहित मिस्ट्रीखोलाको किनारै–किनारै आधार शिविर जोड्ने पदमार्ग पहिचान गरेका थिए ।

पहिलो चरणमा मानिस मात्र हिँड्न मिल्ने पदमार्ग बनाइएको छ । अक्करे पहाड काटेर मानिस हिँड्ने बाटो बनाएको छ । कतिपय ठाउँमा काठमा टेकेर पहाड पार गर्नुपर्ने अवस्था छ ।

गाउँपालिकाले पदमार्गको नक्शा तयार पारेको छ । आधारभूतस्तरको पदमार्ग, झोलुङ्गेपुल, फड्के पुल, सिँढी निर्माण भएको छ । पदयात्रामा आउने पर्यटकका लागि सेल्टर निर्माण भएको छ ।

होटल तथा लज नभएकाले क्याम्पिङ पदयात्रा गर्नुपर्ने हुन्छ । नारच्याङबाट छोटेपा, हुमखोला, भुसकेत हुँदै तीन दिनमा आधार शिविर पुग्न सकिन्छ । हिमाल आरोहण मात्र नभएर झरना, ताल, हिमाल, वन्यजन्तु, वनस्पति पदमार्गको आकर्षण हो ।

फराकिलो फाँट भएकाले दुर्घटनाको कम जोखिम भएको अन्नपूर्ण आधार शिविरमा पुग्न सकिने यो पदमार्ग सबैभन्दा छोटो, रमणीय र सुरक्षित मानिएको छ ।

समुद्री सतहबाट चार हजार ५०० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरको प्राकृतिक सौन्दर्ययुक्त दृश्य रमणीय र मनमोहक छ ।

पदयात्राका क्रममा हिमाल, अग्ला पहाडबाट खसेका झरना, हिमताल र विभिन्न वनस्पति, फूल, चराचुरुङ्गी, वन्यजन्तुको पनि अवलोकन गर्न सकिन्छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *