फुटबल प्रशिक्षकलाई बद्री पंगेनीको टिप्सः पोस्ट चार्जमा खेलाडीलाई प्रोत्साहन गर्नुस् – Nepal Press

फुटबल प्रशिक्षकलाई बद्री पंगेनीको टिप्सः पोस्ट चार्जमा खेलाडीलाई प्रोत्साहन गर्नुस्

काठमाडौं । चर्चित लोकगायक बद्री पंगेनी फुटबलप्रेमी हुन् । खासगरी नेपालको राष्ट्रिय फुटबल टिमका कुनै पनि म्याच उनी सकभर मिस गर्दैनन् ।

नेपाल र बंगलादेश आज ट्राइ नेसन्स कपको फाइनलमा भिड्दैछन् । दशरथ रंगशालामा हुने सो म्याच बद्रीले छुटाउने कुरै भएन । तर, यसपाली उनले म्याच हेर्ने मात्र होइन, म्याच अगाडि नेपालका प्रशिक्षक बालगोपाल महर्जनलाई केही टिप्स पनि दिएका छन् । सामाजिक सञ्जालमा उनले महर्जनलाई सम्वोधन गर्दै पाँच बूँदे सुझाव दिएका हुन् ।

नेपालले पहिलो सेटमा अनुभवी खेलाडीको कमी पूर्ति गर्न भरत खवास, सुजल श्रेष्ठ र सुनील बललाई उतार्नुपर्ने बद्रीको पहिलो सुझाव छ । दोस्रो बूँदामा उनले नेपाली खेलाडीहरुले एयर बल खेल्न नसकेको भन्दै ग्रास बल खेलाउन अनुरोध गरेका छन् । तेस्रो बूँदामा बद्री लेख्छन्, ‘पोस्ट चार्ज एकदमै कम भयो । सायद खेलाडीलाई स्वार्थीको आरोप लाग्ने गरेकाले त्यस्तो भएको हुन सक्छ । खेलाडीलाई पोस्ट चार्ज गर्न प्रोत्साहन गरौं ।’

खेलाडीहरु फुटबलभन्दा फुटसलमा बढी अभ्यस्त भएको अनुभव आफूले गरेको भन्दै त्यसमा ध्यान दिन उनले प्रशिक्षकलाई अनुरोध गरेका छन् । खेलाडीको स्कील, स्टामिना, बल ट्र्यापिङ र ड्रीब्लिङमा उल्लेखनीय प्रगती भएको आफूले पाएको भन्दै बद्रीले फिनिसिङको मात्रै आवश्यकता देखिएको उल्लेख गरेका छन् । साथै उनले चोटका कारण खेल्न नसकेका स्ट्राइकर बिमल घर्तीमगरलाई सम्झेका छन् ।

नेपाल, बंगलादेश र किर्गिस्तानको युवा टोलीबीचको प्रतिस्पर्धामा नेपालले दुई म्याचमा कुनै गोल गर्न सकेको छैन । बंगलादेश र किर्गिस्तानसँग गोलरहित बराबरी खेल्दै नेपाल फाइनलमा पुगेको हो । आज नेपालको पहिलो लक्ष्य भनेको गोलको खडेरी तोड्नु नै हुनेछ । आजको म्याचमा प्रधानमन्त्री केपी शर्मा ओली पनि उपस्थित हुने कार्यक्रम छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर