पत्रकारको चुनावमा माधव पक्ष कांग्रेस-माओवादी गठबन्धनमा गएपछि गोकुलले सोधे योगेशलाई यस्तो प्रश्न – Nepal Press

पत्रकारको चुनावमा माधव पक्ष कांग्रेस-माओवादी गठबन्धनमा गएपछि गोकुलले सोधे योगेशलाई यस्तो प्रश्न

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले पार्टीमा एकताको माग गर्ने माधव नेपाल पक्षले पत्रकार महासंघको चुनावमा विपक्षी गठबन्धनसँग सहकार्य गरेकोमा प्रश्न उठाएका छन् ।

बास्कोटाले एमालेको तत्कालीन प्रचार विभाग प्रमुख योगेश भट्टराई र सचिव बिष्णु रिजालको नामै लिएर प्रश्न उठाएका हुन् । पत्रकार महासंघको चुनावमा माधव नेपाल पक्षका प्रेस चौतारीका नेताहरुले कांग्रेस-माओवादी गठबन्धनलाई साथ दिएका छन् ।

बास्कोटाले भनेका छन्, ‘पार्टीमा एकताको माग गर्न साथीहरुले पत्रकार महासंघको चुनावमा चौतारीका नाममा अरुसँग गरेको सहकार्य कसरी मिलाउनु हुने हो ? सोध्न र व्यवहार हेर्न मन लाग्या छ । योगेश भट्टराई र बिष्णु रिजाल के सोच्दै छन् होला ?’

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य बास्कोटा काठमाडौं जिल्ला शाखाका मतदाता समेत हुन् ।

चैत २५ हुने पत्रकार महासंघको निर्वाचनमा एमाले सम्बद्ध पत्रकारहरुको संगठन प्रेस चौतारी विभाजित भएको छ । चौतारीले अध्यक्षमा निर्मला शर्मा र बरिष्ठ उपाध्यक्ष माधव नेपालसहितको प्यानल चुनावी मैदानमा पठाएको छ ।

तर माधवकुमार नेपाल पक्षधर चौतारीले भने कांग्रेस माओवादी गठबन्धनबाट सचिव सहित केही सदस्य लिएर चुनावमा भाग लिँदैछ । एमालेमै बसेर माधव नेपाल पक्षले संघर्ष गर्ने भनिरहेका बेला देशभरका १४ हजारभन्दा बढी पत्रकारले मतदान गर्ने चुनावमा त्यस पार्टी निकट पत्रकार विभाजित भएरै चुनावमा गएका छन् ।

कांग्रेस माओवादी गठबन्धनमा माओवादी निकट प्रेस सेन्टरले पाएको कोटाबाट माधव नेपाल पक्षलाई भागबण्डा मिलाइएको छ । यद्यपी माओवादी पक्षले आफूहरुलाई हेपेको भन्दै माधव नेपाल पक्षधर चौतारीका नेताहरुले सामाजिक सन्जालबाट सार्वजनिक रुपमै अशन्तुष्टि जनाइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर