तराई-मधेसमा आज होली मनाइँदै, धनुषामा मदिरा निषेध – Nepal Press

तराई-मधेसमा आज होली मनाइँदै, धनुषामा मदिरा निषेध

जनकपुरधाम । तराई–मधेसका जिल्लामा रंगको पर्व होली आज मनाइँदै छ । आइतवार जनकपुरको अन्तरगृह परिक्रमा पश्चात १५ दिने माध्यमिकी परिक्रमा सम्पन्न भएपछि आज सद्भाव, सौन्दर्य र रसरंगको पर्वसमेत मानिएको होली मनाउन लागिएको हो ।

पूर्णिमाका दिन होलिका दहन गरी मनाइने भएकाले यसलाई ‘होली’ भनिएको हो । फागु पर्वलाई मैथिली भाषामा ‘फगुआ’ र ‘होरी’ भानिन्छ । यो प्रेम र स्नेहको चाड पनि हो । सबैलाई एउटै रंगमा रंगाउने होली पर्व समानता र सद्भावको प्रेरणा स्रोत रहिआएको छ ।

रसरंग, नाचगान, खानपिन, मनोरञ्जन र आफ्नो रंगमा अरूलाई रंग्याउने, ढोल, डम्फु ,झाल, मृदङ्ग बजाउँदै भेदभाव, मनमोटाव त्याग्दै भ्रातृत्व भावना बढाउने पर्व हो होली । असत्यमाथि सत्यको, छलमाथि निष्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक होलीले अनेकतामा एकता कायम गर्दै आएको छ ।

राम खेलए होरी हो
लक्ष्मण खेलए होरी…
रामजीके हाथ कनक पिचकारी
सियाजीके हाथ अबिर झोली…

यस प्रकारका गीत साथै जोगीरा सरर…को भाका बीच उत्साहजनक वातावरणमा आलिंगन र सानोले ठूलोको पाउ छोई आशीर्वादले वैमनस्यता हराउने संस्कृतिविद् बताउँछन् ।

दैत्यराज हिरण्यकश्यपले आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले आगोले छुन नसक्ने वरदान पाएकी बहिनी होलिकालाई छोरासहित आगोमा पस्न लगाउँदा होलिका भष्म भएकी र प्रह्लाद बच्न सफल भएको खुशियालीमा होली मनाउने गरिएको धार्मिक ग्रन्थमा उल्लेख छ ।

होलीको अवसरमा आज तराई-मधेसका जिल्लामा सार्वजनिक विदा दिइएको छ ।

धनुषामा मदिरा निषेध

जिल्ला प्रशासन कार्यालय धनुषाले आज र भोलि मदिरा विक्री वितरण तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाएको छ । होलीमा मदिरा सेवन गर्ने प्रबृति बढेको र यसैकारण विभिन्न अपराधिक घटना घट्ने गरेकाले प्रतिबन्ध लगाइएको प्रशासनले बताएको छ ।

चैत १६ र १७ गते सूर्योदयदेखि सूर्यास्तसम्म सार्वजनिक स्थानमा मदिरा सेवन गर्न/गराउन निषेध गरिएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाद्वारा जारी सूचनामा उल्लेख छ । होली पर्वलाई परिवारभित्रै कोभिड १९ सम्बन्धी सुरक्षाका मापदण्ड पालना गरी मनाउन पनि अनुरोध गरिएको छ ।

यस्तै सडक, चोक लगायतका सार्वजनिक स्थानमा होलीसँग सम्बन्धित साँस्कृतिक र अन्य कार्यक्रमहरु नगर्न नगराउन पनि प्रमुख जिल्ला अधिकारी बास्तोलाले निर्देशन दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *