रोमान्चक खेलमा ७ रनको जितसहित इंग्ल्याण्डबिरुद्धको शृंखला भारतले जित्यो – Nepal Press

रोमान्चक खेलमा ७ रनको जितसहित इंग्ल्याण्डबिरुद्धको शृंखला भारतले जित्यो

एजेन्सी । भारतले इंग्ल्याण्डसँगको तीन एकदिवशीय क्रिकेट शृंखला २–१ ले जितेको छ । साम करनको शानदार प्रदर्शनका बाबजुद इंग्ल्याण्डले शृंखला जित्न सकेन ।

आइतबार तेस्रो तथा निर्णायक खेलमा ३ सय ३० रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय २२ रनमात्र जोड्न सकेपछि भारत ७ रनले विजयी रह्यो । यसअघि पहिलो एकदिवशीय भारत र दोस्रोमा इंग्ल्याण्ड विजयी भएका थिए ।

करनले करिअरकै उत्कृष्ट प्रदर्शनसहित अविजित ९५ रन बनाए । सातौं नम्बरमा ब्याटिङमा आएका उनले ८३ बलमा ९ चौका र ३ छक्का प्रहार गरे ।

अन्तिम ओभरमा इंग्ल्याण्डलाई १४ रन आवश्यक थियो । टी नटराजनको पहिलो बलमा दुई रन लिने चक्करमा तालमेल नमिल्दा मार्क उड रनआउट हुन पुगे । करनले उडसँग नवौं विकेटका लागि ६० रनको साझेदारी गरेका थिए ।

दोस्रो बलमा एघारौं नम्बरमा आएका पिस तोप्लेले १ रन लिएर करनलाई स्ट्राइक दिए । तेस्रो र चौथो बलमा करनले रन लिएनन् । बाउण्ड्री प्रहारको धुनमा लागेका उनले एक दुई रनको आवश्यकता देखेनन् र इंग्ल्याण्डलाई अन्तिम दुई बलमा जितका लागि १२ रन आवश्यक थियो ।

पाँचौं बलमा करनले चौका प्रहार गरे । अन्तिम बलमा नटराजनले अतिरिक्त रन नआउने गरी बल फाल्दा भारतको जित निश्चित थियो । उनले त्यसै गरे, करनले रन लिएनन् भारत ७ रनले विजयी रह्यो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *