पुरानो वितरण प्रणालीबाट आएको पानी तत्काल पिउनयोग्य, नयाँको परीक्षण गरिने – Nepal Press
मेलम्चीः

पुरानो वितरण प्रणालीबाट आएको पानी तत्काल पिउनयोग्य, नयाँको परीक्षण गरिने

काठमाडौं । बहुप्रतिक्षित मेलम्चीको पानी आजबाट काठमाडौंका धारामा खस्न थालिसकेको छ । फागुपूर्णिमा मनाइरहेका काठमाडौंवासीले मेलम्चीको पानीले नुहाउन सक्नेछन् ।

सुन्दरीजलबाट ११ बजे मीनभवन, महांकाल, अनामनगर र ललितपुरको खुमलटारको नयाँ ट्याङकीमा पठाइएको पानी २ बजेपछि जनताको घरमा पुगेको हो । पहिलो दिन पुरानो वितरण लाइनबाट धारामा पानी छोडिएको आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार अहिले पुरानो धारामा खसेको पानी तत्काल पिउनयोग्य छ । नयाँ प्रणालीबाट वितरण गरिएको पानीको भने परिक्षण हुन बाँकी रहेको आयोजना प्रमुख कमलराज श्रेष्ठले नेपालप्रेसलाई बताए ।

उनले भने, ‘अहिले पुरानो थोक प्रणालीबाट वितरण गरेको पानीमा कुनै समस्या छैन । किनभने सुन्दरीजलमै पानी प्रशोधन भएर आएको छ । नयाँ प्रणालीमा भने पानीको स्याम्पल टेस्ट गरेपछि मात्रै थाहा हुन्छ ।’

अनामनगरको ट्याङ्कीबाट नयाँ वितरण लाइनमार्फत पानी पठाइएकाले केही दिन खान नमिल्ने उनी बताउँछन् । यसको ब्याक्टेरियल परीक्षण गरिने उनको भनाइ छ । ब्याक्टेरियल परीक्षण गर्न २४ घण्टा लाग्छ । आयोजनाले आज नै नयाँ वितरणलाइनको पानीको नमुना परीक्षण गर्ने तयारी गरेको छ ।

श्रेष्ठ भन्छन्, ‘थोक वितरण प्रणालीबाट आएको पानी सबै ठिक छ । अनामनगरको पुरानो ट्याङ्कीबाट गरेको हो । त्यहाँ केही धुलोहरु भएकाले अलि धमिलो देखेको छ । गुणस्तरको हिसाबले ठक्याक्कै पिउने अवस्था छैन । तर स्याम्पल परीक्षण गरेपछि मात्रै वास्तविक अवस्था थाहा हुन्छ ।’

उनले अगाडि थपे, ‘एकदुई दिन स्थिर हुन समय लाग्छ । सिस्टक हाम्रो नयाँ हो । ट्याङकी मात्रै पुरानो हो । त्यसमा अलि सरफसफाइ नपुगेको हो ।’

आज ४ वटा ट्यांङकीबाट ४ करोड लिटर पानी घरघरको धारामा वितरण भइरहेको छ । बालाजु, बाँसबारी, पानीपोखरी लगायतका ट्याङ्कीमा भने पानी दोस्रो चरणमा मात्रै वितरण हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर