धादिङमा टेलिमेडिसिन सेवा सञ्चालन गर्न बेलायतका नेपालीको पहल – Nepal Press

धादिङमा टेलिमेडिसिन सेवा सञ्चालन गर्न बेलायतका नेपालीको पहल

लन्डन । बेलायतका नेपाली धादिङमा टेलिमेडिसिन सेवा सञ्चालन गर्ने विषयमा  स्वीनफेन च्यारिटेबल ट्रष्ट सकारात्मक देखिएको छ । टेलिफोन र इन्टरनेटमार्फत स्वास्थ्य परामर्श दिइने उक्त सेवा उपलब्ध गराउन बेलायतस्थित स्वीनफेन च्यारिटेबल ट्रष्टले पूर्ण साथ दिने बताएको छ ।

धादिङको विकट रुबी भ्याली, गंगाजुमना, खनियाबास र नेत्रावती डेम्बजोङ गाउंपालिकामा टेलिमेडिसिन सेवा लैजाने सम्बन्धमा शनिबार सरोकारवाला व्यक्तिहरूसँग ट्रष्टले छलफलसमेत गरेको छ ।

छलफलपश्चात रामशरण सिम्खडाको संयोजकत्वमा एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ, लेफ्टिनेन्ट चन्द्र गुरुङ, धादिङ नुवाकोट समाज यूकेका धन तामाङ र अन्तरराष्ट्रिय धादिङ समाजका वरिष्ठ उपाध्यक्ष दिनेश तामाङ सदस्य रहेको एक स्टेरिङ कमिटी बनाइएको छ । उक्त कमिटीमा संघीय सांसद खेम लोहनी, प्रदेश सांसद जगत बहादुर सिम्खडा र प्राध्यापक पदम सिम्खडा सल्लाहकार छन् । निर्देशक लर्ड रोजल स्वीनफेन र सहनिर्देशक श्रीमती लेडी प्याट स्वीनफेन रहेको उक्त ट्रष्टले संसारका ७८ देशमा करिब ८ सय बढी स्वास्थ्यकर्मी र विज्ञबाट परामर्श दिइरहेको छ ।

एक साताभित्रै स्टेरिङ कमिटीको बैठक बसेर कार्ययोजनासहित यथासक्य सेवा सुरु गर्ने लक्ष्य रहेको संयोजक सिम्खडाले बताएका छन् ।

सम्बन्धित क्षेत्रमा विद्युत, मोबाइल, कम्प्युटर, इन्टरनेट लगायतका आवश्यक आधारभूत पूर्वाधारहरू तयार भएलगत्तै सेवा सञ्चालन गर्ने योजना रहेको सिम्खडाले जानकारी दिए ।

कार्यक्रममा सांसदहरूले नेपाल सरकारका तर्फबाट आवश्यक सबै सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाएका थिए । धादिङको उत्तरी भेगका अन्य गाउंपालिकामा पनि सेवा लैजान आग्रह गर्दै जनप्रतिनिधिले भौतिक संरचनाको जिम्मा आफूहरूले लिने बताएका छन् ।

स्वीनफेनको टेलिमेडिसिन सेवा नेपालमा पहिलोपटक पर्वतको चार भञ्ज्याङ क्षेत्रमा सेवा ८ वर्षदेखि सुचारु छ । नेपालका अरु केही ठाउंमा पनि स्वीनफेनको यो सेवा उपलब्ध छ ।

एनआरएनए यूकेको पहल र आइसीसी सदस्य रामशरण सिम्खडाको संयोजनमा आयोजित छलफल कार्यक्रममा ट्रष्टका निर्देशक लर्ड रोजल स्वीनफेन, सहनिर्देशक श्रीमती लेडी प्याट स्वीनफेन, धादिङका संघीय सांसद खेम लोहनी, प्रदेश सांसद जगतबहादुर सिम्खडा, एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ, पर्वत फलेवास नगरपालिकाका मेयर पदमपाणि शर्मा, स्वीनफेन च्यारिटेबल ट्रष्टका ट्रष्टीहरु क्याथरिन डेभिस, मेजर ह्यू बार्डेल, धादिङ नुवाकोट समाज यूकेका अध्यक्ष सिबी तामाङ, महासचिव धन तामाङ, सल्लाहकार मेजर विष्णु घले, अन्तरराष्ट्रिय धादिङ समाजका अध्यक्ष एनके अर्याल, वरिष्ठ उपाध्यक्ष दिनेश तामाङ, महासचिव प्रमोद भट्ट, डा. भरत सिम्खडा, डा. इन्दिरा रेग्मी लगायत सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर