डि भिलियर्सलाई इपीएलमा खेलाउने पहल, अख्तर भन्छन्: चाँडै सम्झौता हुन सक्छ – Nepal Press

डि भिलियर्सलाई इपीएलमा खेलाउने पहल, अख्तर भन्छन्: चाँडै सम्झौता हुन सक्छ

काठमाडौं । दक्षिण अफ्रिकाका प्रख्यात क्रिकेटर एभी डिभिलियर्स नेपालको ट्वान्टी-२० फ्रेन्चाइज लिग खेल्न आउने सम्भावना बढेको छ । एभरेस्ट प्रिमियर लिग (इपीएल) को आयोजकले सेप्टेम्बरमा हुने चौथो संस्करणका लागि उनलाई नेपाल ल्याउन पहल गरेको हो ।

इपीएलका प्रमुख कार्यकारी अधिकृत अमिर अख्तरले डिभिलियर्ससँग आफ्नो कुराकानी भइरहेको र उनले सकारात्मक जवाफ दिएको नेपाल प्रेसलाई बताए ।
उनले भने, ‘उहाँ सकारात्मक देखिनुभएको छ, तर सबै कुरा फाइनल भइसकेको छैन ।’

केही दिनभित्र डि भिलियर्ससँग सम्झौता हुन सक्ने अख्तरले संकेत गरेका छन् ।

उनी भन्छन्, ‘हामी आयोजकको तर्फबाट आवश्यक पहल गरेका छौं । तर, हामीले ल्याउने भनेर मात्रै हुँदैन । फ्रेन्चाइजहरूमा पनि भर पर्छ । कुन फ्रेन्चाइजबाट खेल्नुहुन्छ भन्ने केही दिनभित्र टुंगो लाग्छ होला ।’

इपीएलले उनलाई पुरै सिजनका लागि नभएर दुई/तीन वटा म्याच खेल्ने गरी बोलाएको हो । डि भिलियर्स यसमा इच्छुक देखिएको अख्तर बताउँछन् ।

‘उहाँले म आउँछु नै भन्नुभएको छ । तर, फिटनेस लगायतका कुराहरु हेरेपछि अन्तिम निर्णय हुन्छ,’ उनले भने ।

डि भिलियर्ससँगै अरु चर्चित नामहरू पनि इपीएलमा जोडिन सक्ने अख्तरले बताए । जसमध्ये एक हुन्- वेस्ट इन्डियन लिजेन्ड क्रिस गेल । उनले अघिल्लोपटक पनि इपीएल खेल्ने तय भएको थियो । सम्झौतासमेत भइसकेको थियो । तर, कोरोनाले इपीएल रद्द भएपछि उनलाई मैदानमा हेर्ने नेपालका फ्यानहरूको इच्छा अधुरो रह्यो ।

यसपाली पनि क्रिस गेल नेपाल आउन तयार नै रहेको अख्तरले बताए ।

उनले भने, ‘उहाँसँग त पहिले नै सम्झौता भइसकेको हो । एडभान्स पनि पठाइसकेका थियौं । यसपाली कन्ट्राक्ट रिन्यू मात्रै गर्नुपर्ने छ । कुरा गरिरहेका छौं, सायद आउनुहुन्छ होला ।’

वेस्ट इन्डिजकै ब्राभोसँग पनि कुरा भएको उनले बताए । ‘हामी अरू पनि चर्चित खेलाडीसँग कुरा गरिरहेका छौं । तर, उहाँहरुको नाम दिन सक्दैनौं किनभने उहाँहरूलाई ल्याउने भनेको फ्रेन्चाइजको हातमा हुन्छ,’ अख्तरले भने ।

आइपीएलको आगामी संस्करण सेप्टेम्बर २५ देखि अक्टोबर ९ सम्म त्रिवि क्रिकेट मैदानमा आयोजना हुनेछ । इपीएलको २०२० को संस्करण कोरोनाका कारण स्थगित भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *