सार्वजनिक सवारीसाधनबाटै यात्रा गर्छन् भारतबाट फर्किएका ‘कोरोना संक्रमित’, जोखिम बढ्दो – Nepal Press

सार्वजनिक सवारीसाधनबाटै यात्रा गर्छन् भारतबाट फर्किएका ‘कोरोना संक्रमित’, जोखिम बढ्दो

कैलाली । कैलालीको गौरिफन्टा नाकाहुँदै शनिबार ४०३ जना नेपाली घर फर्किए । तीमध्ये १२० जनामा कोरोना संक्रमणको लक्षण देखिएको थियो । उनीहरुको एन्टिजेन परीक्षणमा गर्दा १० जनामा पोजेटिभ देखिएको छ । उनी सार्वजनिक सवारीसाधन चढेरै घर गए ।

भारतका विभिन्न क्षेत्रबाट नेपाल आएका उनीहरू कैलाली, डोटी र बझाङ घर भएका नागरिकहरू हुन् । उनीहरूको पिसिआर परीक्षणका लागि नमुना समेत संकलन गरिएको गौरीफन्टा हेल्थ डेस्क इन्चार्ज दिनेश ठकुल्लाले बताए ।

एन्टिजेन परीक्षणका क्रममा पोजेटिभ देखिएका सबैमा पिसिआर समेत पोजेटिभ आउने उनको भनाइ छ । तर, एन्टिजेन पोजेटिभ भएकाहरूलाई यही राख्ने व्यवस्था नहुँदा सार्वजनिक सवारीमै घर पठाउनु पर्ने बाध्यता रहेको उनी बताउँछन् ।

‘१० जनालाई हामीले सम्झाएर पठाएका छौँ’ उनले भने ‘स्वाबको नमूना पनि संकलन गरेका छौं । पिसिआर परीक्षण हुन्छ त्यसमा पनि पोजेटिभ आए हामी खबर गर्छाै ।’

पछिल्लो एक सातामा ७६६ जनाको एन्टिजेन परीक्षण गरिएको छ । तीमध्ये ३४ जनामा पोजेटिभ देखिएको छ । अधिकांश अहिलेसम्म सम्पर्कमा छैनन् ।

एन्टिजेन परीक्षणमा संक्रमितहरु सम्पर्कमा नहुँदा संक्रमण फैलिन सक्ने खतरा बढेको छ । जिल्ला स्वास्थ्य कार्यालय कैलालीले पनि एन्टिजेन परीक्षणका क्रममा पोजेटिभ देखिएकाहरू सार्वजनिक सवारीमै गन्तव्यसम्म पुग्दा थप जोखिम बढेको जनाएको छ ।

‘अहिलेसम्म संक्रमितहरु होम आइसोलेसनमा हुनुहुन्छ । लापरबाहीले थप जोखिम बढेको छ’ स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले भने, ‘केही समय भित्रै हामीले उहाँहरूलाई आइसोलेसनमा राख्ने व्यवस्था गर्छाै ।’
भारतमा कोरोनाको दोस्रो लहर सुरु भएको छ । संक्रमणको उच्च जोखिम क्षेत्रबाट आएका र कोरोना लक्षण देखिएकाहरुको एन्टिजेन परीक्षणका गरिएको हो ।

थपिँदै संक्रमित

कैलालीमा कोरोना संक्रमितको सङ्ख्या बढिरहेको छ । शनिबार थप दुई जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको छ । तीमध्ये एक जना भारतबाट आएका हुन् ।

कैलाली धनगढी उपमहानगरपालिका ३ का ३८ वर्षीय पुरुष र कञ्चनपुर भीमदत्त नगरपालिका ६ क २४ वर्सिया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

धनगढीका पुरुष केही दिनअघि भारतको गुजरातबाट आएका थिए भने कञ्चनपुरकी महिला कोरोना संक्रमित आफन्तको कुरुवा बसेकी थिइन् ।

अहिले धनगढीका पुरुषको सेती प्रादेशिक अस्पताल र कञ्चनपुरकी महिलाको महाकाली अस्पतालमा उपचार भइरहेको छ । हालसम्म सेती प्रादेशिक अस्पतालमा ४ जना कोरोना संक्रमितको उपचार भइरहेको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *