म्यानमारमा रक्तपात : सेनाको गोलीबाट आजै ९१ जना मारिए – Nepal Press

म्यानमारमा रक्तपात : सेनाको गोलीबाट आजै ९१ जना मारिए

याङ्गुन । सैन्य कू विरोधी शान्तिपूर्ण प्रदर्शनमा म्यानमार सेनाले गोली चलाउँदा शनिबार एकैदिनमा ९० भन्दा बढी प्रदर्शनकारी मारिएका छन् । सीएनएनले यसलाई सत्ता विप्लवपछिको सबैभन्दा रक्तपातपूर्ण घटना भनेको छ ।

यो घातक हिंसा म्यानमारको सैनिक दिवसकै दिनमा भएको छ । जुन्ता (म्यानमार सेना) प्रमुख जनरल मिङ आन हाइङले राजधानी न्यापितामा आयोजित सैन्य परेडलाई सम्बोधन गर्दै सेनाले लोकतन्त्रको रक्षा गर्ने बताएका छन् ।

राज्य नियन्त्रित टेलिभिजनले शुक्रबार प्रदर्शनकारीको टाउको र ढाडमा गोली चल्न सक्ने बताएको थियो । तर, यो चेतावनीको बाबजुद नागरिकहरु याङ्गुन, माण्डले र अन्य प्रमुख सहरमा सेनाले माघ १९ मा गरेको कू विरुद्ध सडकमा उत्रिएका हुन् ।

म्यानमारको नाउ न्यूज पोर्टलका अनुसार सुरक्षाकर्मीको गोली लागेर शनिबार ९१ जनाको मृत्यु भएको छ । माण्डलेमा ५ वर्षे बालकसहित २९ जनाको मृत्यु भएको छ । याङ्गुनमा मात्र २४ जना मारिएका छन् ।

थाइल्यान्डको सीमानेर म्यानमारको सशष्त्र आदिवासी समूह करेन नेसनल युनियनका एक कमाण्डर र लडाकुसहित १० थप मारिएका छन् । सैनिक प्रवक्ताले चाहिँ यो हताहतीबारे कुनै टिप्पणी गरेका छैनन् ।

सेनाले सत्ता आफ्नो हातमा लिएयता भएको प्रदर्शनमा शनिबारसहित ४ सय जना सर्वसाधारणको ज्यान गएको जनाइएको छ । गत नोभेम्बरको चुनावमा धाँधली भएको भन्दै सेनाले निर्वाचित नेतालाई अपदस्थ गर्दै शक्ति आफ्नो हातमा लिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर