प्रचण्डकाे गुनासोः सर्वोच्चले दिउँसै रात पारिदियो त गर्ने के ? – Nepal Press

प्रचण्डकाे गुनासोः सर्वोच्चले दिउँसै रात पारिदियो त गर्ने के ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादीलाई छुट्याउने गरी आएको सर्वोच्चको फैसलामा ‘सेटिङ’को आशंका गरेका छन् । सर्वोच्चको फैसलालाई उनले ‘दिउँसै रात पारिएको’ संज्ञा दिए ।

नागरिक आन्दोलनद्वरा आज आयोजित अन्तरक्रियामा बोल्दै प्रचण्डले भने, ‘यो सबै सेटिङमा भएको बुझिन्छ । ७० प्रतिशतको हस्ताक्षरसहित जाँदा पनि निर्वाचन आयोगले निर्णय गरिदिँदैन । हामीले गर्ने के ? संविधानअनुसार जब केपीविरुद्ध बहुमतको हस्ताक्षर भयो भनेपछि त्यही दिन पार्टीसम्बन्धी निर्णय गरियो र दुईवटा पार्टी अलग भए ।’

प्रचण्डले सबैभन्दा अन्यायमा आफू र आफूले नेतृत्व गरेको पार्टी परेको बताए ।

‘कृष्णजी (अन्तरक्रियाका संयोजक कृष्ण खनाल) मैले गर्ने के ? यस्तो होला भन्ने कसरी कल्पना गर्ने ? जन्मिसकेको बच्चालाई फेरि आमाको गर्भभित्र सर्वोच्चले हालिदेला भनेर कसरी सोच्न सकिन्छ ? यो त प्राकृतिक नियम र न्यायिक परम्पराविपरीत छ । दिउँसै रात पार्ने काम भएको छ ।’

‘कृष्ण खनालजी ले भन्नुभयो, तैंले ओलीलाई हटाउन केही गरिनस् । मैले नगरेको हो र ? मैल त सदस्यबाटै निकाल्दिएको हो । वैधानिक, आधिकारिक ढंगले निकालेको हो नि मैले । ७० प्रतिशत केन्द्रीय सदस्यको हस्ताक्षरसहित बुझाउँदा पनि अदालतले नमानेपछि गर्ने के रु संविधानमा हुँदै नहुने कुरा जबरजस्ति गरिदिएपछि, अनि त्यसैले राष्ट्रिय अन्तर्राष्ट्रिय समर्थन पाएपछि गर्ने के ?

अदालतका विषयमा त मैले धेरै बोल्न पनि मिल्दैन । बोले भनेँ भरे के–के हुने हो । अर्को मुद्दा थपिन्छ । थप भन्नुहुन्छ भने पनि थप्दिन्छु । अर्को जनविद्रोह… जनविद्रोह भनेको हिंसा होइन है फेरि । कलरफुल रिभोलुसन । अब मैले न्याय पाउँछु कि भन्ने लागेको छ ।’

प्रचण्डले रेशम चौधरीको प्रसंग पनि निकाले ।

उनले भने, ‘अहिले रेशम चौधरीको कुरा हुन्छ, म बडो खुशी छु । अहिले त वाफ रे वाफ ! एकपछि अर्को मन्त्री, नेता रेशमजीलाई भेट्न गइरहेका छन् । तर, सबैभन्दा अप्ठेरो बेलामा म गएको थिएँ जेलमा उहाँलाई भेट्न । यो ठीक भइराख्या छैन भनेर पब्लिकली बोल्ने मै हुँ ।’

‘महन्थजी हामी त पिडित भन्नुहुन्छ । म पनि पिडित हो । मेरो टाउकोमा मुद्दा छैनन् ? मेरो आन्दालनका मान्छे अझै पनि जेलमा छन् । तपाईंलाई थाहा छ नि महन्त जी । अब पिडित–पिडित मिल्ने हो । पिडितहरुको मोर्चा बनाउने हो र लडाई जित्ने हो । प्रतिगमनकारी प्रविृत्तलाई परास्त गर्ने हो ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर