रुपन्देहीमा अरबौंको लगानीमा आवास योजना – Nepal Press

रुपन्देहीमा अरबौंको लगानीमा आवास योजना

रुपन्देही । रुपन्देहीमा अरबौंको लगानीमा आवास योजना सुरु भएको छ । केही समयअघि तिलोत्तमा–७ भलवारीमा करिब ६ विगाह क्षेत्रफलमा लुम्बिनी अष्टदीप मल्टिनेशनल प्रालिले १ सय २३ वटा आवास विकास परियोजना सुरु गरेको थियो । यसैगरी बोधी होल्डिङ प्रालिले ओमसतिया गाउँपालिका–४ स्थित ‘बोधी होम्स’ हाउजिङ परियोजना निर्माण सुरू गरेको छ ।

बोधीले हाउजिङ, पाँचतारे होटललगायत बैंक तथा वित्तीय क्षेत्रमा अनुभवी टोलीले बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रमा सामुदायिक आवासको संस्कार बसाल्ने अभियानसहित भैरहवामा हाउजिङ परियोजनाको निर्माण सुरु गरेको हो ।

पहिलो चरणमा १ सय ५ र दोस्रो चरणमा १ सय ९५गरी ३ सय घर निर्माण हुने बोधी होम्समा अध्यक्ष जलेश्वर पाण्डेले जानकारी दिए ।
अध्यक्ष पाण्डेका अनुसार ओमसतिया गाउँपालिका–४ स्थित करिब १४ बिगाह क्षेत्रफलमा बन्ने बोधी होम्सका घर खरीदका लागि बुकिङ खुला गरिएको छ । पहिलो चरणमा बन्ने १ सय ५ घर तथा दुई र चार वर्षभित्र दोश्रो परियोजना पनि पूरा हुनेछ ।

यो लुम्बिनी प्रदेशकै ठूलो आवासीय परियोजना रहेको सञ्चालकहरूको दाबी छ । साथै, हाउजिङ परियोजनामा निर्माण हुने घर १३ धुरदेखि १८ धुरसम्मका हुनेछन् । जसमा ३ सय घर साढे २ तलासहित ४ वटा विभिन्न डिजाइनमा निर्माण गरिने योजना छ ।

‘बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार भैरहवा एक परम्परागत सहर हो, पछिल्लो समय काठमाडौंपछिको आधुनिक रुपमा विकसित हुनका लागि सम्भावित सहर भैरहवा हो । साथै निकट भविष्यमा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनेछन् । त्यसैले सम्पूर्ण व्यवसायीले अध्ययन गरेको निर्माण सुरु गरेको हो,’ सञ्चालक प्रमोद कुमार यादवल भने ।

आधुनिक सुविधासहितका घरसँगै परियोजनाभित्र स्विमिङ पुल, २४ फिटको चौडा बाटो, हेल्थ क्लव, कार्यक्रम गर्नका लागि कम्युनिटी हल, जीम, बगैंचा हुनेछ । पर्याप्त पार्किङ क्षेत्र, सुरक्षा, सपिङ सेन्टर लगायत आधुनिक हाउजिङ परियोजनामा हुने सम्पूर्ण सुविधा उपलब्ध हुनेछ ।
अहिलेसम्म १५ वटा घरको लागि प्रि–बुकिङ भइसकेको र अब बुकिङ खुला भएको सञ्चालक यादवले जानकारी दिए ।

२०७८ वैशाखभित्र बुकिङ गर्नेलाई ११ देखि १४ धुर जग्गा तथा २ हजार ३ सय ३३ वर्गमिटरको घरको मूल्य १ करोड ६० लाख र १७ धुर जग्गा तथा २ हजार ६ सय ९७ वर्गमिटरको घरको मूल्य १ करोड ९० लाख निर्धारण गरिएको उनले बताए ।

यो मूल्यमा २०७८ वैशाखपछि १२।५ प्रतिशतले वृद्धि हुने जनाइएको छ । बुकिङ गर्दा मूल्यको १० प्रतिशत भुक्तानी दिनुपर्नेछ । बोधी होल्डिङले मूल्यको ६० प्रतिशत रकम ग्लोबल आईएमई बैंकबाट सबैभन्दा सस्तो ब्याजदरमा २० वर्षे कर्जा उपलब्ध गराउने सम्झौता समेत गरिसकेको छ । यसले घर खरीद गर्ने ग्राहकलाई नपुग रकम कर्जा लिन सहज हुने देखिएको छ ।

यो परियोजनामा पर्यटन तथा बैंक व्यवसायी पाण्डेसहित प्रतिनिधिसधा सांसद प्रमोद कुमार यादव, चार्टर एकाउण्टेण्ट ९सिए० दीपक पाण्डे, दिनबन्धु पोखरेल, एनआरएनए छविलाल कुँवर र रविन्द्र कुँवर लगायत अन्य व्यवसायी संलग्न छन् ।

यसैगरी तिलोत्तमामा आधुनिक बस्ती निर्माणका लागि लुम्बिनी अष्टदीप मल्टिनेशनल प्रालिले आवास विकास परियोजना सुरु गरेको छ । तिलोत्तमा–७ भलवारीमा करिब ६ विघा क्षेत्रफलमा १ सय २३ वटा अत्याधुनिक सुविधा सम्पन्न घर निर्माण गर्न लागेको हो ।

सिद्धार्थ राजमार्ग अन्तरगत भैरहवा–बुटवल सडक–खण्डको भालबारी चोकदेखि १४ सय मिटर पूर्वमा निर्माण गरिने एकीकृत बस्तीमा खेल मैदान, बाल उद्यान, जीमखाना, स्वीमिङ पुल, कभर्ड हल, बास्केटबल कोर्ट, हेल्थ क्लब, रेष्टुरेण्ट, शैलुन तथा मन्दिरसमेत निर्माण गरिने छ । २६ फुट मूल बाटो तथा २४ फुटको सहायक बाटो रहने गरी नेपाल सरकारको सहरी विकास मापदण्ड अनुसार घर निर्माण गरिने प्रालिका अध्यक्ष नेत्रलाल वनले जानकारी गराए ।

उक्त परियोजनामा जग्गा र घरको क्षेत्रफलको आधारमा पहिलो समूहमा १४ धुर जग्गामा २९ सय स्क्वायर फिटको घर निर्माण गरिने छ भने दोस्रो समूहमा १० धुर क्षेत्रफलमा २२ सय स्क्वायर फिटका घर निर्माण गरिने प्रालिले जनाएको छ ।

एन्ट्रास्पेस टेक्निकल कन्सल्टद्वारा डिपीआर तयार पारी काम भइरहेको एकीकृत बस्तीमा पहिलो समूह अन्तर्गत घरका लागि २ करोड ५० लाख तथा दोस्रो समूह अन्तर्गतका घरका लागि सूचिकृत मूल्य १ करोड ७५ लाख कायम गरिएको छ ।

२ अर्ब बढी लागत अनुमान गरिएको परियोजनाका लागि प्रालिले सेन्चुरी कमर्शिल बैंकसँग सहकार्य गरी घर लिन चाहनेहरूलाई अधिकतम २५ वर्षसम्मको फाइनान्स सुविधा उपलब्ध गराउने छ ।

३ वर्षभित्रमा परियोजना सम्पन्न गर्ने गरी काम गरिरहेको प्रालिले कुनै पनि ग्राहकले घर बुकिङ गरेको कम्तिमा ६ महिनाभित्र उपलब्ध गराउने बताएको छ । हालसम्म निर्माण गर्न लागिएको आधुनिक बस्तिका लागि १५ वटा घरको बुकिङ भइसकेको कम्पनीले जानकारी गरायो ।

परियोजना अन्तर्गत बन्ने घरको निर्माण सकेर बिक्री भइसकेपछि सार्वजनिक स्थान तथा बस्तीका लागि निर्माण गरिएका पार्क तथा विभिन्न संरचना सोही बस्तिलाई हस्तान्तरण गरिने अध्यक्ष वनले बताए ।

‘सरकारी कर्मचारी, बैंकका कर्मचारी तथा विदेशमा रहेका नागरिकलाई लक्षित गरी एकै आर्थिक अवस्था भएका व्यक्तिहरू जो आधुनिक र सुरक्षित बस्तीको चाहना राख्छन् । उनीहरूलार्य परियोजनाले समेट्ने छ,’ अध्यक्ष वनले भने, ‘सरकारको योजनालाई सहयोग गर्नेगरी एकीकृत र आधुनिक सहर विकासमा सहयोग पुग्ने हाम्रो अपेक्षा हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर