जसपामा बाबुराम-उपेन्द्र धार कमजोर, ओलीलाई काँध थाप्न महन्थ ठाकुर तयार – Nepal Press

जसपामा बाबुराम-उपेन्द्र धार कमजोर, ओलीलाई काँध थाप्न महन्थ ठाकुर तयार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार विस्तारै ‘सेफ जोन’मा पुगेको विश्लेषण गर्न थालिएको छ । नेकपा एमालेको माधव नेपाल पक्षको रणनीति पर्खेर बसेको जनता समाजवादी पार्टीको बहुमत पक्ष ओली नेतृत्वको सरकारमा सामेल हुन तयार भएको छ ।

शुक्रबार एमाले संसदीय दलको बैठकमा माधव पक्ष सहभागी भएपछि अब ओली सरकारलाई समर्थन जनाउने परिस्थिति परिपक्व बनेको जसपाका एक शीर्ष नेताले बताए । रेशम चौधरी लगायतका मुद्दाहरूमा पनि सहमति नजिक पुगिएको ती नेताको भनाइ छ ।

नेपाल प्रेससँग ती नेताले भने, ‘ओलीजीले थकाएर, गलाएर माधव नेपाल पक्षलाई समेट्नुभयो । अब परिस्थिति परिपक्व बन्दै गएको । जसपाले अब ओलीलाई काँध थाप्छ । हाम्रा मुद्दाहरू ओलीजीले चाहे सम्बोधन हुने हुन्, नत्र अर्को गठबन्धन बनाए पनि एमालेले नचाहँदासम्म केही गर्न सकिन्न ।’

होलीको कार्यक्रममा जनकपुर पुगेका जसपाका अध्यक्ष महन्थ ठाकुरले पनि मधेसको मुद्दा सम्बोधन गर्न प्रधानमन्त्री सकारात्मक रहेकाले यही सरकारमा सहभागी हुने संकेत गरेका थिए ।

उनले साँसद रेशम चौधरीसहित थरुहट आन्दोलनका नाममा थुनिएका नेता कार्यकर्तालाई रिहा गर्न र मधेस आन्दोलनका बेला १२ सय नेता कार्यकर्तामाथि दर्ता गरिएको मुद्दा फिर्ता लिन प्रधानमन्त्री सकारात्मक रहेको बताएका छन् ।

अध्यक्ष ठाकुरले भने, ‘सत्ता समीकरणकारे प्रधानमन्त्रीसँग पटक पटक छलफल भएको छ । हामीले राखेको हरेक मुद्दामा उहाँ सकारात्मक हुनुहुन्छ संविधान संशोधन,नागरिकता समस्या जस्ता विषयमा पनि सकारात्मक कुरा भएको छ ।’

यसबीचमा जसपाको महन्थ ठाकुर पक्ष प्रधानमन्त्री ओली र बिष्णु पौडेल,सुवास नेम्वाङ,डा.राजन भट्टराई नेतृत्वको वार्ता टोलीसँग नियमति संवादमा छ । भित्रभित्रै सबै विषय टुंगिसकेको र माओवादीले समर्थन फिर्ता नलिए पनि जसपा सरकारमा सहभागी हुने वातावरण बनेको एक नेताले बताए ।

गृहमन्त्रीले माइतीघरमै पुगेर थारु आन्दोलनकारीसँग संवाद गर्नु र महेश बस्नेतले प्रधानमन्त्रीको दूतका रुपमा जेलमै गएर रेशम चौधरीलाई भेट्नुले एमाले जसपा गठबन्धन नजिक पुगेको नेताहरू बताउँछन् । यसबीचमा एकजना मन्त्रीले समेत चौधरीलाई भेटेका छन् ।

यता जसपाभित्र केपी ओलीलाई जसरी पनि सत्ताच्युत गनुपर्ने पक्षमा रहेका डा.बाबुराम भट्टराई र उपेन्द्र यादव एमालेमा माधव नेपाल पक्ष जस्तै रक्षात्मक अवस्थामा पुगेको पूर्व राजपा पक्षका नेताहरू बताउछन् ।

तत्कालीन समाजवादी पार्टीबाट जितेका बहुसंख्यक सांसद उपेन्द्रको विपक्षमा छन् । उनीहरूले गत वर्ष नै पार्टी फुटाएर केपी ओलीलाई साथ दिन खोजेका थिए र सरकारले दल विभाजनको लागि अध्यादेश समेत ल्याइसकेको थियो ।

जसपाका ३४ सांसदमध्ये दुई जना निलम्बित छन् । ३२ जनामध्ये २० जना भन्दा बढी सांसद महन्थ ठाकुरको पक्षमा छन् । निर्वाचन आयोगमा दर्ता रहेको ५१ सदस्यीय केन्द्रीय कार्य समितिमा पनि बाबुराम उपेन्द्र पक्ष अल्पमतमा छ ।

जसपाका एक नेताले भने, ‘जसरी एमालेको माधव नेपाल पक्ष लत्रिएर केपी ओलीसँगै रहन बाध्य भयो, हाम्रो पनि करिब करिब त्यस्तै अवस्था छ । जसपा फुटाउने सामर्थ्य उनीहरूमा छैन, मलाई लाग्छ जसपा फुट्दै र बाबुराम उपेन्द्रको लाइन पास पनि हुँदैन । हामी चाँडै केपी ओली नेतृत्वको सरकारमा हुन्छौं ।’

डा बाबुरामले आजै बिहान पनि सामाजिक सञ्जालबाट आफ्नै पार्टीको महन्थ ठाकुर पक्षलाई लक्षित गर्दै प्रतिगमनकारीसँग लेनदेन गरेर क्षणिक लाभ लिने कि,उसलाई बिदा गरेर संविधान,लोकतन्त्रको रक्षा गर्दै थप अग्रगमनको दिशामा लाग्ने भनेर प्रश्न गरेका छन् ।

जसपाभित्रको यो राजनीति बुझेरै कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने प्रचण्ड माधव नेपालको प्रस्ताव अश्वीकार गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर