रेशम चौधरीलाई जेलबाट छुटाउन उनकै संयोजकत्वमा वार्ता टोली – Nepal Press

रेशम चौधरीलाई जेलबाट छुटाउन उनकै संयोजकत्वमा वार्ता टोली

कैलाली । टिकापुर घटनामा दोषी ठहर भएर जेल सजाय भोगिरहेका रेशम चौधरीको रिहाइबारे वार्ता गर्न उनकै संयोजकत्वमा छ सदस्यीय वार्ता टोली गठन गरिएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले उनको रिहाइका लागि वार्ता टोली बनाएर आउन हिजो आग्रह गरेका थिए ।

कैलालीको हसुलियामा थारुवान-थारुहट राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुको नेतृत्वमा बसेको बैठकले वार्ता टोली गठन गरेको हो । समितिको संयोजकमा रेशम चौधरीलाई नै राखिएको छ भने सदस्यमा लक्ष्मण थारु, रामप्रसाद थारु, चुनिराम थारु, बिना चौधरी र यमुना चौधरी रहेका छन् ।

अदालतबाट टीकापुर घटनामा दोषी ठहर गरिएका व्यक्ति र उनीहरूका परिवारका सदस्यको संयुक्त बैठकले वार्ता टोली गठन गरेको थारुवान-थारुहट राष्ट्रिय मोर्चाका कैलाली संयोजक माधव चौधरीले जानकारी दिए । सरकारले वार्ताको वातावरण बनाएपछि वार्ता टोली गठन भएको उनले बताए । रेशम चौधरीलाई बाहिर ल्याएर मात्रै वार्ता हुने उनको भनाइ छ ।

‘टीकापुर घटनाका बन्दीको बैठकले वार्ता टोली गठन गरेको हो,’ उनले भने ‘तर, कारागारभित्र वार्ता हुँदैन । रेशम चौधरीलाई बाहिर ल्याएर वार्ता गरिनु पर्छ ।’

थारु समुदायको आन्दोलनका क्रममा ७ भदौ २०७२ मा टीकापुरमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित नाै जनाको मृत्यु भएको थियो । घटनाको योजनाकार भएको भन्दै जिल्ला अदालत कैलालीले चौधरीलाई जन्मकैदको सजाय सुनाएको थियो, जसलाई उच्च अदालत दिपायलले सदर गरेको छ ।

टीकापुर घटनामा चौधरीसहित ७ जनाले जेल सजाय भोगिरहेका छन् । लक्ष्मण थारुसहित १८ जनालाई उच्च अदालतको फैसलाले दोषी करार ठहर गरेको छ । शुक्रबारको बैठकले वार्ता टोलीको गठनसँगै चैत २० गते भित्रमा उच्च अदालतले गरेको फैसलाविरुद्ध सामूहिक रूपमा सर्वोच्च अदालतमा न्याय प्राप्तिका लागि जाने निर्णयसमेत गरिएको छ ।

बैठकले १ महिनाभित्र टीकापुर घटनालाई राजनीतिक समाधान नगरे सशक्त आन्दोलन गर्नेसमेत निर्णय गरिएको थारुवान-थारुहट राष्ट्रिय मोर्चाका कैलाली संयोजक चौधरीले बताए ।

बिहीबार एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य महेश बस्नेतले पनि रेशम चौधरीसँग डिल्लीबजार कारागारमै पुगेर भेटेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर