मेलम्चीको उद्घाटन राष्ट्रपतिबाट हुने, भृकुटीमण्डपमा धारा बनाइँदै – Nepal Press

मेलम्चीको उद्घाटन राष्ट्रपतिबाट हुने, भृकुटीमण्डपमा धारा बनाइँदै

काठमाडौं । बहुप्रतिक्षीत मेलम्चीको पानी आइतबारबाट काठमाडौंवासीको धारामा झर्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले धाराको टुटी खोलेर मेलम्चीको पानी उद्घाटन गर्ने भएकी छन् ।

आइतबारदेखि घर–घरमा मेलम्चीको आए पनि त्यसको एक सातापछि राष्ट्रपतिले औपचारिक उद्घाटन गर्ने भएकी हुन् । उद्घाटनका लागि भृकुटीमण्डपमा मेलम्चीको पानी आउने गरी सार्वजनिक धारा बनाइने भएको छ । सो धाराको टुटी खोलेर राष्ट्रपतिले उद्घाटन गर्ने तयारी रहेको आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख कमलराज श्रेष्ठले नेपालप्रेसलाई बताए ।

उनले भने, ‘१५ गते पानी छाड्छौं । तर राष्ट्रपतिबाट उद्घाटन भने २२ गतेतिर मात्रै हुन्छ होला । अहिले हामी उद्घाटन कार्यक्रमको तयारीमा छौं ।’
यसअघि आयोजनाले २० गते उद्घाटन गर्ने तयारी गरेको भए पनि राष्ट्रपतिबाटै हुने भएपछि मिति तलमाथि हुन सक्ने भएको हो ।

उद्घाटन हुने दिन इच्छुक आम सर्वसाधरण आउन चाहन्छन, उनीहरु सबैलाई साक्षी राखेर त्यहाँ स्थायी धाराको उद्घाटन हुने उनले बताए ।
उक्त धारा सर्वसाधरणले प्रयोग गर्न पाउनेगरी निर्देशनालयले त्यहाँ निर्माण गर्न सुरु गरिसकेको छ ।

उद्घाटन हुने दिनसम्म भने केही ठाउँमा पानी दिइसकेको हुनेछ । प्रमुख श्रेष्ठ भन्छन्,‘त्यतिखेर सम्ममा सर्वसाधरणलाई पनि एउटा विश्वास पनि रहन्छ । हाम्रो घरतिर त पानी आइसकेको छ । उद्घाटन गर्यो रामै्र भयो यो ठीक हो भन्ने सन्देश पनि हुन्छ भनेर हो ।’

उनले अगाडि थपे,‘लगभग उद्घाटन हुने दिनसम्म हामीले एकहप्ता पानी वितरण गरिसकेका हुन्छौ । दिनदिनै पानी आइराखेको हुन सक्छ कतिपय ठाउँमा । सर्वसाधरणलाई विश्वास पनि रहने भयो । त्यसरी हामीले उद्घाटनको तयारी गरेका छौ । ’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *