मेलम्चीको पानी पर्सि काठमाडौंबासीका धारामा, यसरी हुँदैछ वितरण – Nepal Press

मेलम्चीको पानी पर्सि काठमाडौंबासीका धारामा, यसरी हुँदैछ वितरण

काठमाडौं । बहुप्रतिक्षित मेलम्चीको पानी आगामी आइतबार काठमाडौंबासीको धारामा झर्दैछ । यससँगै पानीको अपर्याप्तताले काकाकुल काठमाडौंबासीले राहत पाउने छन् ।

गत फागुन २२ गते शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा मेलम्चीको पानीलाई पहिलोपटक सुन्दरीजलमा स्वागत गरिएको थियो । अब चैत १५ गते सो पानीलाई काठमाडौंबासीको धारामा पठाइने आयोजनाले जनाएको छ । तर, सबै धाराको पानी अहिल्यै पिउनयोग्य हुनेछैन ।

मेलम्ची खानेपानी विकास समितिले नयाँ र पुरानो वितरण लाइनमार्फत् पानी पठाउन लागेको हो । नयाँ पाइपलाइन विस्तार भएको वितरण लाइनमा भने पानी पिउनको लागि नभई पाइप परीक्षणको लागि पानी पठाउन लागेको समितिले जनाएको छ ।

नयाँ वितरण लाइनमा पानी पठाए पनि पिउनयोग्य नहुने समितिका प्रवक्ता राजेन्द्र पन्तले नेपाल प्रेसलाई बताए ।

‘पुरानो वितरण लाइनबाट हामीले प्रशोधन गरेर पठाउने पानी जाने हो । त्यो पिउनयोग्य हुन्छ । तर नयाँ वितरणलाइनमा पठाएको पानी पिउनयोग्य हुँदैन,’ उनले भने ।

नयाँ वितरण प्रणालीको परीक्षण गर्न, डिसइन्फेक्सन गर्न र धारामा पानी जान समय लाग्ने उनी बताउँछन् । यसअघि सुरुङ परीक्षणको क्रममा आएको पानी दोस्रोपटक पनि बागमतीमा खसाल्ने योजना थियो । तर बागमतीमा हाल्नुको सट्टा पानी प्रशोधन केन्द्रको पनि परीक्षण हुने र नयाँ विस्तार गरिएको पाइपलाइनहरुको पनि परीक्षण हुने भएपछि सोझै वितरणलाइन मार्फत घरघरमा पठाउन लागिएको हो ।

अझै पनि सुरुङ र पानी प्रशोधन केन्द्रको परीक्षणकाल पूरा भएको छैन । यस अविधिमा सुरुङमा पानी होल्ड गरेर राखिएको छ । सुरुङमा थोरै-थोरै पानी भर्ने, होल्ड गर्ने र विभिन्न ठाउँबाट बाहिर फाल्ने सुरुङ परीक्षणको कार्यविधिमा रहेको छ ।

गत २७ गते सुन्दरीजलमा आएको पानी बागमती नदीमा मिसाइएको थियो । अहिले पनि बागमतीमै हाल्ने तयारी थियो । तर पानीको सदुपयोग गरेर पानी प्रशोधन केन्द्रको पनि काम शुरु गर्न सकिने समितिको योजना रहेको छ ।

सोही पानी थोक वितरण प्रणालीबाट गएर केही पाइपहरु सफा गर्ने समितिको सोच हो । त्यसपछि भने सुरुङभित्रको पानी पखालेर पुन: अवलोकन गरिने प्रवक्ता पन्तले बताए ।

सुरुङ दुरुस्त रहेको एकीन गर्न विज्ञहरुले हेर्ने उनले जानकारी दिए ।

पन्त भन्छन्, ‘अहिले सुरुङमा भरिएको पानी बाहिर निकाल्न लागेको हो । बागमतीमा राख्नुभन्दा पाइपलाइनमा राख्यो भने पाइपलाइनको पनि परीक्षण गर्न सकिन्छ भनेर हो ।’

उनले थपे, ‘१५ गते नयाँ पाइपबाट पठाइएको पानीमा फोहोर हुने भएकाले पिउनयोग्य हुदैन ।’

पाइप पखालिसकेपछि पहिले पाइपको प्रेसर टेस्ट गर्नुपर्छ । लिकेजहरू कहाँकहाँ छन् भन्न पत्ता लगाउनुपर्छ । टेस्ट सफल भएपछि पाइप पखाल्ने काम सुरु हुन्छ । परीक्षण सफल भएपछि लिकेज देखियो भने फेरि मर्मत गर्नुपर्छ ।

त्यसपछि लिकेजमा सफा भयो भने मात्रै डिसइन्फेक्सन गर्नुपर्ने हुन्छ । डिसइन्फेसनलाई प्रशोधित पानीले सफा गर्छ । यति भएपछि मात्रै घरघरमा खानेगरी पानी दिन सकिने पन्त बताउँछन् ।

१५ गते पानी हालिसकेपछि तुरुन्त सबै घरमा आउने कुरामा पनि सन्देह छ । त्यसका लागि वितरण सञ्जालको पनि परीक्षण गर्नुपर्ने हुन्छ । विभिन्न परीक्षणको काम भइराखेको पनि छ ।

समितिका कार्यकारी निर्देशक तिरेश खत्रीले सुरुङ परीक्षणको चरण नै नसकिए पनि काठमाडौंमा पानीको हाहाकार हुन थालेकाले परीक्षणकै क्रममा पानी पठाउन हतार गरिएको बताए । काठमाडौं उपत्यकामा पानी वितरण गर्दै आएको केयुकेएलले काठमाडौंमा पानीको हाहाकार सुरु हुन थालेको भन्दै पानी पठाउन आग्रह गरेपछि हतार गरिएको उनको भनाइ छ ।

समितिले यसअघि बैशाख दोस्रो सातादेखि पानी वितरण गर्ने भनेको थियो । तर केयुकेएलले गर्मी लागेपछि पानीको हाहाकार सुरु भएको भन्दै सुरुङ परिक्षण अवधि नलब्याउन अनुरोध गरेको हो ।

खत्रीले भने, ‘सुरुङ मात्रै परीक्षण गरेको भए अलि ढिला जान्थ्यो । परीक्षण अवधि लम्ब्यायौ । केयुकेएलले अफ्ठ्यारो परेको भनेर अनुरोध गरेपछि परीक्षण अवधि लब्याएर पानी छोड्दिन लागेका हौं ।’

सुरुङमा समस्या नदेखिएमा मुहानबाट पुरै पानी पठाइने समितिले जनाएको छ । समितिको तर्फबाट सुरुङ परीक्षण र पानी प्रशोधनको काम फाइनल भयो भने अगाडिको प्रकृया पूरा हुनेछ ।

अब कति काम बाँकी
सुन्दरीजलमा पानी खसेपछि खानेपानीको पाइप विच्छयाउनेदेखि पाइप परिक्षण गरेर घरघरमा धारा फिट गर्ने जिम्मा आयोजना कार्यान्वयन निर्देशनलायले पाएको छ । तर पानी घरघरमा पुर्‍याउने मुख्य जिम्मा पाएको आयोजना नै समस्यामा छ ।

अहिलेसम्मको तयारी भनेको ११ सय २५ किलोमिटर पाइपलाइन पाइपलाइन मात्रै विस्तार गरिएको छ । तर पानीको अभावले पाइपको परीक्षण समेत गर्न सकिएको छैन ।

बागमतीबाट ल्याएको पानी र केयुकेएलले दिएको ट्याङकरको पानी हालेर दुई सय किलोमिटर मात्रै पाइपलाइन परीक्षण गरिएको छ । बाँकी सबै केयुकेएलको मौजुदा प्रणालीबाट पानी आपूर्ति गर्नेगरी आन्तरिक व्यवस्थापन गरिएको हो ।

मेलम्चीको पानी प्राप्त भएपछि ती पाइपलाइनहरू परीक्षण गर्न सकिने निर्देशनालय प्रमुख कमलराज श्रेष्ठले नेपालप्रेसलाई बताए ।

उनले भने, ‘हाम्रो अहिलेसम्मको तयारी भनेको पाइपलाइन विस्तार मात्रै हो । पानी अभावले पाइपको परीक्षण हुन पाएको छैन । मेलम्चीको पानी प्राप्त भएपछि ती पाइपलाइनहरू परिक्षण गर्न सकिन्छ ।’

आयोजनाले ११ सय २५ किलोमिटर पाइपलाइन विच्छयाउने जिम्मा पाएको थियो । अब १० किलोमिटर मात्रै भित्री सडकहरूमा पाइपलाइन राख्न बाँकी छ भने बाँकी पाइपलाइन विच्छयाइसकेको छ ।

आयोजना प्रमुख श्रेष्ठ भन्छन्, ‘मेलम्चीको पानी आएपछि मात्रै हाम्रो कन्ट्रयाट भित्रको कामहरु फिनिसिङ गर्न सकिन्छ । ८ महिना जति लाग्छ होला हामीलाई सबै परिक्षण सकाएर नयाँ सिस्टमबाट पानी पठाउन ।’

आयोजनाले घरघरसम्मै नयाँ पाइपलाइन विछ्याउनेछ । पहिलो चरणमा १ लाख १० हजार घरमा पाइपलाइन विछ्याउने जिम्मा आयोजनाले पाएको थियो । १ लाख १० हजारमध्ये अहिलेसम्म १५ हजार घरमा मात्रै धारा तयार छ । नयाँ तयार भएको धाराहरुमा नयाँ प्रणालीबाटै पानी दिन सकिने श्रेष्ठको भनाइ छ । बाँकी रहेका धाराहरूमा परीक्षण गर्दै त्यसलाई बढाउँदै लैजाँदा आठ महिना लाग्न सक्ने आयोजनाले जनाएको छ ।

नयाँ धारा फिट नभएको हकमा भने बाध्यकारी अवस्थामै केयुकेलको सिस्टममा इन्टर कनेक्सन गरेर पुरानै धारामा मेलम्चीको पानी पठाउने तरखरमा छ आयोजना ।

श्रष्ठले गुनासो गरे, ‘पाइपलाइनको परीक्षण भइसकेपछि पानी नभएकाले हामीले आफ्नो काम पूरा गर्न सकेका छैनौँ । पानी परीक्षणकै लागि मेलम्ची कुर्नुपर्यो । बल्ल पानी आएपछि चाहिँ हाम्रो फिनिसिङ चरणको कामहरू केही स्टेप हुन्छ अनि मात्रै द्रूत गतिमा लान सकिन्छ ।’

पाइप विछ्याउने काम सकिएपछि पनि अझै विभिन्न चरणको परीक्षणहरू बाँकी नै रहेको छ ।

उनी भन्छन्, ‘टेक्निकल स्टेपहरू छन् । त्यो नगरी पानी हाल्न मिल्दैन । त्यही भएर समय धेरै खाने खालका काम छन् । लिकेज भएर भत्किन्छ, त्यसमा भत्काउनुपर्यो, जोड्नुपर्यो । यस्ता कुराहरु दोहोर्‍याएर भइरहन्छ । त्यो सिस्टम स्थिर हुन केही वषै लाग्छ । सुरुका वर्षहरुमा त्यस्ता काम धेरै गर्नुपर्छ ।’

पाइपलाइनका बाँकी काम
अहिलेसम्म रिङरोड भित्रमा विशालनगर महाराजगन्जको उत्तरी पाटो र बसपार्क, बसुन्धरा र छाउनी एरियाबाहेक सबै ठाउँमा पाइप विछ्याइसकेको छ । ती क्षेत्रहरूमा पनि अर्को चरणको काम शुरु हुँदैछ । तीन हप्ताभित्र त्यस क्षेत्रमा पाइप विच्छयाउने काम हुन्छ । हालसम्म खानेपानीको पाइप विच्छ्याउन करिब २० अर्ब खर्च भइसकेको छ ।

पाइपलाइन विस्तार गर्ने कार्यक्षेत्र आयोजना कार्यान्वय निर्देशनालयको भएकाले पाइपलाइन परिक्षण सफल नभएपछि पानी वितरणको लागि तयारी अवस्थामा रहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जनाएको छ । अझै पनि सुन्दरीजलबाट पोखरीसम्म जाने पाइपलाइनहरूको परीक्षण नै नभएकाले फेरि मर्मत गर्नुपर्ने अवस्था आउन सक्ने लिमिटेडका प्रमुख मिलन शाक्यले बताए ।

उनले भने, ‘अहिले परीक्षणको लागि पठाउन लागेको पानी सुरुमा पुरानोबाट मात्रै पठाउछौं । नयाँको परीक्षण भइसकेको छैन । नभएपछि अहिले पठाउन सकिँदैन ।

कसरी पुग्छ घरघरमा पानी ?
सुन्दरीजलबाट उपत्यकाका ६ स्थानमा भएका ७ वटा पोखरीमा नयाँ पाइप विछ्याइएको छ । सोही पाइपलाइनबाट पानी पठाइन्छ ।

तत्काल महाँकाल, महाँकाल चोक, बासँबारी, बालाजु, खुमलटार, मिनभवन, अनामनगरमा रहेको पोखरीमा पहिलो चरणमै पानी जान्छ ।सुन्दरीजल पानी प्रशोधन केन्द्रमा पानी प्रशोधन गरिसकेपछि आयोजना कार्यान्वयन निर्देशनालयले विछ्याएको नयाँ वितरण प्रणालीको पाइप परीक्षण शुरु हुन्छ ।

परीक्षण गर्ने प्रक्रियामा निर्देशनालयले पानी पोखरीमा भर्छ । त्यसपछि पुरानै पाइपलाइनहरूबाट पुरानै धारामा पानी पठाउने तयारीमा छ केयुकेएल । अहिलेलाई पानी सदुपयोग गर्न पुरानैमा पठाउन लागेको उनको भनाइ छ ।

‘पुरानो पाइपहरु फुटेको हुन्छ । त्यसलाई मर्मत गर्दै सञ्चालन गर्ने तयारी गरेका छौँ,’ उनले थपे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर