कतारस्थित नेपाली दूतावासद्वारा कोभिड एड्भाइजरी जारी – Nepal Press

कतारस्थित नेपाली दूतावासद्वारा कोभिड एड्भाइजरी जारी

काठमाडौं । कोरोना संक्रमण बढेको भन्दै कतार सरकारले जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्न विदेशी नागरिकलाई समेत निर्देशन दिएको छ ।

बुधबार बसेको कतारी मन्त्रिपरिषद् बैठकले भाइरसबाट सतर्कता र सुरक्षाका सम्बन्धमा ३३ बुँदे निर्देशन जारी गरेको हो । बुधबारदेखि लागु हुने गरि नियम कार्यान्वयनमा ल्याइने सरकारले जनाएको छ ।

सरकारी एवं नीजि क्षेत्रमा काम गर्ने कर्मचारीले बैठक गर्नुपर्दा ५ जनाभन्दा बढी उपस्थित हुन नपाइने, अनावश्यकरुपमा सामाजिक भेटघाट नगर्न र बन्द घरभित्र पनि पाँचजना भन्दा बढी भेला हुन नपाइने उल्लेख छ ।

कतारमा रहेका सबै सार्वजनिक पार्क, सामुन्द्रिक किनार, कर्निस लगायतका थलोलाई बन्द गर्ने र ती स्थानमा एकैपरिवारका २ भन्दा बढी भेला हुन नपाइने भएको छ ।

१२ वर्षभन्दा कम उमेरका बालबच्चालाई व्यापारिक भवनमा जान बन्देज लगाइएको छ । सवारी साधन वा गाडी प्रयोग गरि सार्वजनिक थलोमा जाँदा मास्कको अनिवार्य प्रयोग गर्न भनिएको छ ।

घरबाट कुनै पनि कामका लागि बाहिर निस्कँदा एतिराज एप्लिकेसन (ट्रयाकिङ प्रणाली) साथमा हुनैपर्ने उल्लेख छ । प्रस्तुत बुँदाहरु पालना नभए दण्ड अथवा जरिवाना समेत कतार सरकारले जनाएको छ । दोहास्थित नेपाली दुतावासले मापदण्ड पालना गर्न नेपाली नागरिकलाई आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *