मुख्यमन्त्री शाहीको निर्देशन- सरकार ढल्छ भनेर काममा ढिलाइ नगर्नुस्, बजेट कार्यान्वयनमा लाग्नुस् – Nepal Press

मुख्यमन्त्री शाहीको निर्देशन- सरकार ढल्छ भनेर काममा ढिलाइ नगर्नुस्, बजेट कार्यान्वयनमा लाग्नुस्

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बजेट कार्यान्वयनमा ढिला नगर्न मन्त्री र सचिवलाई निर्देशन दिएका छन् ।

बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना गरिएको दोस्रो चौमासिक समीक्षा गोष्ठीमा शाहीले तत्काल बजेट कार्यान्वयनमा जोड दिएका हुन् ।

उनले भने, ‘अब बजेट कार्यान्वयनमा यो समस्या भयो, त्यो भयो भनेर बस्ने अवस्था छैन । साँच्चिकै समस्या आएको हो भने हामीकहाँ ल्याउनु होला । क्याविनेटको बैठक बसेर ती समस्या फुकाउन हामी तयार छौं तर यो वा त्यो बहानामा काम गर्न ढिला गर्ने चलन अब स्वीकार्य हुँदैन । यसमा गम्भीर रूपमा लाग्नुहोस् ।’

‘विगतमा कोरोना थियो । अन्य बहाना थिए तर अब बहानावाजी चल्दैन । मन्त्रालयका सचिवज्यूले हरेक कर्मचारीसँग दैनिक कामको विवरण माग गर्नुहोस् । मन्त्रीलाई हप्तामा विवरण दिनुहोस् ’,शाहीले कडा निर्देशन दिँदै भने, ‘सबै माननीय मन्त्री ज्यूले पनि हरेक सातामा मलाई के काम भयो, कति भयो र कसरी भइरहेको छ भन्ने जानकारी दिनुहोला । अब जुनसुकै हालतमा पनि काम गर्न आवश्यक छ । बजेट कार्यान्वयनको लक्ष्यमा पुग्न आवश्यक व्यवस्था गरेर अघि बढ्नुहोस् ।’

मुख्यमन्त्री शाहीले बाहिर सरकार फेरिने हल्ला चल्ने र त्यसैका आधारमा कर्मचारीले काममा ढिलाइ गर्ने चलन बसाल्न अनुपयुक्त भएको बताए ।

‘सरकार ढल्दैन । तपाईंहरू काम गर्नुहोस् । हामी अहिले पनि बहुमतमा छौं । त्यसैले बाहिर कसले के भन्छ भन्नेमा भन्दा पनि आफ्नो मन्त्रालयको वित्तीय प्रगति देखाउनुहोस् । जनताले महसुस गर्ने गरी काम अघि बढाउनुहोस् । सरकार तपाईंहरुलाई परेका समस्या सुल्झाउन तयार छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर