अर्थमन्त्रीको चेतावनी- राजस्व चुहावट गर्नेलाई उन्मुक्ति दिँदैनौं – Nepal Press

अर्थमन्त्रीको चेतावनी- राजस्व चुहावट गर्नेलाई उन्मुक्ति दिँदैनौं

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व चुहावट नियन्त्रणका लागि सबै सामर्थ्य प्रयोग गर्ने बताएका छन् । उनले अनियमित कार्यमा संलग्न हुनेमाथि कठोर रूपमा प्रस्तुत हुने पनि चेतावनी दिए ।

केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा व्यवसाय विस्तार र संरक्षणलाई ध्यान दिँदै राजस्व चुहावटप्रति सरकारले कडाइ गर्ने बताएका हुन् ।

अर्थमन्त्री पौडेलले निर्दोष नपर्ने र दोषीले उन्मुक्ति नपाउने गरी काम गर्न निर्देशन दिँदै राजस्व परिचालनमा नकारात्मक असर नपरोस् भन्नेमा पनि सजकता अपनाउन विभाग र सुरक्षा निकायलाई आग्रह गरेका छन् ।

स्थानीय र केन्द्रीय तहमा अनुगमन बढाउन भन्दै उनले समस्या समाधानलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिए । उनले प्रणालीमा रहेका कमजोरीहरूलाई सुधार गर्दै प्रविधिको प्रयोग र त्यसमा रहेका कमजोरीलाई हटाउँदै काम गर्ने जानकारी गराए ।

अर्थसचिव शिशिरकुमार ढुंगानाले मन्त्रालय, विभाग र सुरक्षा निकायबीच सूचना आदान-प्रदानको आवश्यकता ‌औंल्याए । राजस्वसचिव रामशरण पुडासैनीले चुहावट नियन्त्रणका लागि नीतिगत र प्रणालीगत सुधार गरिरहेको उल्लेख गरे ।

गृहसचिव महेश्वर न्यौपानेले दोषीलाई कानुनअनुसार कारबाही गरिने बताएका छन् ।

नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापाले राजस्व चुहावट नियन्त्रणका लागि सबै सहयोग गर्न गर्ने प्रतिवद्धता जनाए । सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले निमयित अनुगमनको आवश्यकता औंल्याए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर