कोरोना जोखिम : मोरङका नाकामा रोकिएन आवतजावत (भिडियो) – Nepal Press

कोरोना जोखिम : मोरङका नाकामा रोकिएन आवतजावत (भिडियो)

विराटनगर । भारतसँग सीमा जोडिएको मोरङका नाकामा दुई देशका नागरिकहरूको आवतजावत पातलिएको छैन । भारतमा कोराना संक्रमणको दर उच्च बनिरहेको बेला खुला सिमानाका कारण नेपालमा समेत जोखिम बढ्दो रहेको जनस्वाथ्यविद्हरू बताउँछन्  ।

विराटनगरमा पनि केही दिन यता नयाँ संक्रमित देखिन थालेपछि जोखिम बढेको हो । जोखिमलाई आँकलन गर्दै जिल्ला जिल्ला प्रशासन कार्यालयले मुख्य नाकामा रोक लगाएको छ । तर, अन्य बाटोहरूबाट आवतजावत गर्नेहरूलाई रोक्न सकिएको छैन ।

आइसीपी र रानीको बीचमा रहेको इस्लामपुर क्षेत्रबाट चोरबाटो हुँदै दैनिक एक हजार बढी नेपाली जोगबनी बजार पुग्ने गरेका छन् । नाका सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । तर, आँखैअघि आवतजावत गर्ने क्रम बढे पनि रोक्नतर्फ प्रहरीले चासो नदेखाएको स्थानीय महेश यादव बताउँछन् ।

‘नेपाल तर्फको मुख्य नाका तथा सहायक नाकाका प्रहरीको बाक्लो उपस्थिति रहने गर्छ,’ यादवले भने, ‘दैनिक सयौंका संख्यामा सिमापारीको बजारमा किनमेलका लागि नेपाली पुग्ने गर्छन् ।’

पूर्वका इटहरी, विराटनगर, धरान लगायतका सहरबाट नेपालीहरू किनमेलका लागि जोगवनी जाने गर्छन् ।

मुख्य नाकामा कडाइ
अन्य बाटोबाट लुकिछिपी भारतीय बजार जोगवनी गएर फर्किने नेपालीको संख्या उल्लेख्य छ । यद्यपि, मुख्य नाकामा आवतजावत गर्न त्यति सहज छैन । रानी नाकाबाट नेपालीहरूलाई भारत जान रोक लगाइएको छ ।

भारतबाट आउनेहरूलाई स्वास्थ्य परीक्षण गरेर मात्र नेपाल प्रदेश गर्ने व्यवस्था मिलाइएको छ । विराटनगर महानगरपालिकाले रानीमा हेल्थ डेस्क राखेर स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाएको छ ।

हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मी उषा मेहताका अनुसार नेपालबाट भारत प्रवेशमा रोक लगाएको छ । भारतबाट नेपाल आउने नागरिकलाई पनि परीक्षण विना प्रवेश गर्न दिइएको छैन ।

नयाँ कोरोना संक्रमति भेटिन थालेपछि मोरङ जिल्ला प्रशासनले सीमा क्षेत्र व्यवस्थित गर्ने प्रयास गरिरहेको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला बताउँछन् ।

‘खुला सीमाबाट आवतजावत गर्ने नागरिकका कारण जोखिम बढिरहेको छ । त्यसैले रानी नाकाबाट नेपाल आउनेलाई स्वास्थ्य परीक्षणका साथ केस हिस्ट्री राख्ने व्यवस्था मिलाएका छौं । नियन्त्रणका लागि अन्य तयारी पनि गरिरहेका छौं,’ प्रजिअ निरौलाले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *