भारतद्वारा खोप आपूर्तिमा अस्थायी रोक, चिनियाँ खोप सोमबार काठमाडौं आइपुग्ने – Nepal Press

भारतद्वारा खोप आपूर्तिमा अस्थायी रोक, चिनियाँ खोप सोमबार काठमाडौं आइपुग्ने

काठमाडौं । भारतले अक्सफोर्ड र अस्ट्राजेनेकाले विकास गरेको कोभिसिल्ड खोपको आपूर्तिमा अस्थायी रोक लगाएको छ । भारतीय विदेश मन्त्रालय स्रोतका अनुसार विहिबारदेखि उसले खोप वितरण रोकेको हो ।

भारतीय विदेश मन्त्रालय स्रोतलाई उध्दृत गर्दै बीबीसीले समाचार लेखेको छ । भारतभित्रै कोभिड–१९को संक्रमण बढिरहेको र घरेलु माग बढेकाले भारतले अस्थायीरुपमा आपूर्ति रोकेको जनाइएको छ ।

भारतको यो निर्णयपछि कोभ्यास योजनाअन्तर्गत रहेका १९० देशलाई असर पर्ने ठानिएको छ । जसमा नेपाल समेत छ । खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युटले दुई साताअघि नेपाललाई पनि पत्राचार गर्दै तत्काल खोप आपूर्ति गर्न नसक्ने जनाएको थियो ।

भारतले अहिलेसम्म ७६ देशमा गरी ६ करोडभन्दा बढी खोप निर्यात गरिसकेको छ र यसमा अस्ट्राजेनेका खोपको हिस्सा बढी छ । भारतभित्रै तीव्र रुपमा संक्रमण बढिरहेको बेला उसले यस्तो निर्णय गरेको हो ।

भारतले अप्रिल १ देखि ४५ वर्ष माथिकालाई पनि खोप अभियान सुरुवात गर्न लागेकाले पनि आपूर्ति रोकेको जनाइएको छ । ‘निर्यात रोक्ने यो अस्थायी उपाय हो । घरेलु मागले पहिलो प्राथमिकता पाउनुपर्छ’ विदेश मन्त्रालयका एक अधिकारीले बीबीसीलाई भनेका छन् ।

रोयटर्सका अनुसार भारतको अवस्था स्थिर नहुँदासम्म खोप बाहिरी मुलुकमा निर्यात नहुने भएको छ ।

चिनियाँ खोप सोमबार आउने
चीनले सहुलियतमा दिने भनेको ८ लाख डोज सिनोफार्म खोप आगामी सोमबार मात्रै काठमाडौं आइपुग्ने भएको छ । सरकारले खोप ल्याउन आइतबार नेपाल वायुसेवा निगमको चार्टड विमान बेइजिङ पठाउँदैछ । गत आइतबार चिनियाँ राजदूत होउ यान्छी र स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीबीच छलफल भएपछि खोप आउने टुंगो लागेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर