यती एअरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति प्राप्त गर्दै, परीक्षण उडान सम्पन्न – Nepal Press

यती एअरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति प्राप्त गर्दै, परीक्षण उडान सम्पन्न

काठमाडौं । विगत २३ वर्षदेखि नेपाली आकाशमा उडान सेवा गर्दै आएको यती एअरलाइन्सले काठमाडौं-बनारस-काठमाडौंको परीक्षण उडान (प्रुभिङ फ्लाइट) सफलतापूर्वक सम्पन्न गरेको छ ।

दक्षिण पूर्वी एसिया र दक्षिण एसियाका मुलुकहरूमा चार्टर/नन् सेड्युल फ्लाइट गर्ने उद्देश्यले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग एअरलाइन्सले अन्तर्राष्ट्रिय उडानका लागि अनुमति माग गरेको थियो ।

जसका लागि कम्पनीले परीक्षण फ्लाइट सम्पन्न गरी नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुझाउनुपर्छ । सोही प्रतिवेदनका आधारमा क्यानले उडान भर्नका लागि अनुमति प्रदान गर्नुपर्ने हुन्छ ।

यसकारण बुधबार एअरलाइन्सले परीक्षणका लागि वरिष्ठ पाइलट रमोदकुमार श्रेष्ठ तथा प्रमोद पौडेल सहितको उडान टोलीले उडान भरेको थियो । ‘नाइन एन एएमएन’कल साइन भएको एटिआर-७२ विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट बिहान १०:०७ बजे लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय हवाइ अड्डा वाराणसी, भारतका लागि उडान भरेर बेलुका ५:४८ मा पुनः काठमाडौंमा अवतरण गरेको थियो ।

उक्त उडानसँगै यतीले अन्तर्राष्ट्रिय उडानको लागि अनुमति प्राप्त गर्ने कम्पनीले जनाएको छ । बुधबारको उडानको प्रतिवेदनसँगै केही दिन भित्र यती एअरलाइन्सले अन्तर्राष्ट्रिय उडानको एओसी प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

एअरलाइन्सले आगामी दिनमा मध्यम दुरीमा उडान गर्नका लागि मध्यम सिट जहाज भित्र्याउने लक्ष्य समेत राखेको छ । आगामी दिनमा चार्टर उडान मार्फत् थप पर्यटक भित्र्याउने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।

सन् २०२१ भित्रै दुईवटा एटिआर-७२ वायुयान थप्ने योजना बनाएको यस कम्पनीले अहिले एटिआर-७२ र जेटस्ट्रिम वायुयान मार्फत् विभिन्न आन्तरिक गन्तव्यमा नियमित उडान गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर