दशरथ रंगशालामा फुटबल खेल्न ‘सुपर एक्साइटेड’ छन् फुटबल कप्तान – Nepal Press

दशरथ रंगशालामा फुटबल खेल्न ‘सुपर एक्साइटेड’ छन् फुटबल कप्तान

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले आज थ्री नेसन्स कपमा किर्गिस्तान यु २३ विरुद्ध प्रतियोगितामा आफ्नो पहिलो खेल खेल्दै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५:३० बजे नेपाली राष्ट्रिय टोली मैदानमा उत्रिँदा ६ वर्षदेखि घरेलु मैदानमा सिर्जित अन्तर्राष्ट्रिय फुटबलको खडेरीमा आनन्ददायी वर्षा हुनेछ ।

नहोस् पनि किन ? नेपालको सर्वाधिक लोकप्रिय खेल हो, फुटबल । र, नेपाली फुटबलको पर्याय हो, दशरथ रंगशाला । सन् २०१५ को मार्चमा नेपालले विश्वकप छनोटमा भारतविरुद्ध अन्तिम अन्तर्राष्ट्रिय खेल रंगशालामा खेलेको थियो । तर, सोही वर्षको अप्रिलमा गएको विनाशकारी भूकम्पले तहसनहस भएको रंगशाला पुन:निर्माण हुनै चार वर्ष लागेको थियो । र, करिब दुई वर्ष कोरोना महामारीले रंगशलामा फुटबल नसिब हुन दिएन । अन्तत: अखिल नेपाल फुटबल संघ (एन्फा)ले थ्री नेसन्स कपको आयोजना गरेर प्रतियोगिता नै सुरु गरिसकेपछि ६ वर्षको अनावृष्टिमा पूर्णविराम लाग्दै छ ।

र, भूकम्पपछि रंगशालामा अन्तर्राष्ट्रिय फुटबलको नयाँ अध्याय सुरु हुँदैछ । सोही नयाँ अध्यायका लागि नेपाली टोलीको कप्तानी जिम्मेवारी पाएका गोलकिपर किरण चेम्जोङ आजको खेलका लागि ‘सुपर एक्साइटेड’ रहेको बताउँछन् । व्यावसायिक फुटबलका लागि भारतमा रहेका किरण सोमबार नेपाल आएका थिए । राष्ट्रिय टोलीसँग आजसँगै रंगशालामा अभ्यास गरेका किरणले आजको खेलका लागि पुरै टोलीमा रहेको उत्साह, जोश र योजना यसरी सुनाए ।

रंगशालामा यतिका वर्षपछि खेल्न हामी ‘सुपर एक्साइटेड’ छौं । करिब ६ वर्ष भयो दशरथ रंगशालामा समर्थकको ‘क्राउड’ अगाडि हामीले खेल्न नपाएको त्यसैले ‘सुपर एक्साइटेड’ ।

किर्गिस्तान र बंगलादेश उत्तिकै राम्रा टोली छन् । म सँधै भन्ने गर्छु बंगलादेश राम्रो टोली छ । हामीले प्रत्येक पटक खेल्दा बंगलादेशले एकदमै प्रतिस्पर्धा दिन्छ ।

त्यसैले हामीले कसैलाई पनि ‘अन्डरस्टिमेट’ गर्नुहुन्न । र, हामी दुवै टोलीलाई फेस गर्न तयार छौं ।

प्रशिक्षकलाई टोली छनोट गर्न एकदमै कठिन थियो । किनभने, ‘स्क्वाड’ निकाल्न एकदमै चुनौतीपूर्ण हुन्छ । कति कुराहरूमा गाली पनि खानुपर्छ । सामाजिक सञ्जालमा पनि आलोचना सहनुपर्छ । समर्थकहरूको आफ्नो आफ्नो मन पर्ने खेलाडी हुन्छ, तर फाइनल स्क्वाड त भन्नै पर्छ । त्यहाँ सबैको मनपर्ने खेलाडी नहुन सक्छ ।

कप्तानको हैसियतले भन्दा प्रशिक्षकले उत्कृष्ट टोली छनोट गर्नुभएको छ । कसैलाई पनि व्यक्तिगत रुपमा नराम्रो गर्नु भएको छैन ।

यो कुरा हामी सबैले र फ्यानहरूले पनि स्वीकार्नु पर्छ । उहाँहरूले ‘बेस्ट अफ दी बेस्ट’ खेलाडीलाई समेटेर टोली बनाउनुभएकोमा म विश्वस्त छु ।

पछिल्लो ६ महिनादेखि कोचले हेरिराख्नु भएको छ, र त्यसैको आधारमा छनोट गर्नु भएको छ । र, फुटबल भनेको सधैँ प्रतिस्पर्धा हो, यसमा नामले मात्रै हुँदैन पफर्मेन्स पनि दिन सक्नुपर्छ ।

त्यसैले मलाई कोही खेलाडी छुटेको जस्तो पनि लाग्दैन । सम्भवत: सबैको ‘पफर्मेन्स’मा ‘अस्प एन्ड डाउन्स’ हुन्छ । हामीले त्यो कुरा स्वीकार गर्नुपर्छ ।

म पनि नियमित रूपमा फुटबल खेलेर आएको छु, र नेपालमै भएका खेलाडी पनि नोभेम्बरदेखि नियमित अभ्यासमा छन् । र, म पनि आफ्नो बेस्ट दिन तयार छु । टोलीलाई सहयोग गर्छु । मेरो क्षमताअनुसारको ‘पफर्मेन्स’ दिन्छु ।

मलाई सानैदेखि राष्ट्रिय टोलीबाट खेल्ने शौख थियो । तर, कहिल्यै पनि कप्तान बन्छु र टोलीको नेतृत्व गर्छु भन्ने सोचेको थिइँन । तर, यो सबै समयको खेल हो ।

हामी समयअनुसार अगाडि बढ्नु पर्छ । र, आज मलाई राष्ट्रिय टोलीको नेतृत्व गर्न र ‘ग्रो अप’का लागि मौका दिनु भएको छ, म यसलाई अवस्य स्वीकार गर्छु र आफूले गर्न सक्ने सबै कुरा गर्छु र टोलीलाई सहयोग गर्छु ।

यस्तै प्रशिक्षक बाल गोपाल महर्जन पनि पहिलो खेलका लागि तयार रहेको र आवश्यकता अनुसारको टोली निर्माण गरेको बताउँछन् । आफ्नो २३ जनाको टोलीमा अपेक्षित नामहरू– नवयुग श्रेष्ठ, विकाश खवास, विशाल श्रेष्ठ, आशिष लामा लगायतका खेलाडीलाई समावेश नगरेका प्रशिक्षक महर्जन प्रदर्शनको आधारमा खेलाडी छनोट गरेको बताउँछन् ।

किर्गिस्तान यु २३ र बंगलादेशबीचको खेल हामीले पनि हेर्‍यौं, किर्गिस्तान यु २३ लाई हामीले अझै माथिल्लो स्तरको सोचेका थियौं । तर, बंगलादेशविरुद्धको खेलमा त्यस्तो देखिएन ।

पहिलो खेल भएकाले पनि हुन सक्छ । त्यसैले किर्गिस्तान यु २३ विरुद्धको खेलमा हामी ‘अन्डरस्टिमेट’ गरेर खेल्दैनौं ।

विश्वकपका लागि तयारी गरिरहेको टोलीले अभ्यास खेलमा खेलेको जस्तो मात्रै खेल्यो भने पनि नतिजा हाम्रो पक्षमा आउनेमा म विश्वस्त छु ।

तर, कुनै टोलीलाई कमजोर आँकेको होइन, हिजोको खेलमा त्यो भन्दा माथिल्लो स्तरको खेल्नु पर्ने थियो । त्यो पहिलो खेल भएर पनि हुन सक्छ ।

हामीविरुद्ध उनीहरूका लागि ‘डु अर डाइ’ छ, त्यसैले उनीहरू ‘आक्रामक फर्मेसन’मा खेल्न आउँछन् । त्यसका लागि हामी तयार हुनुपर्छ र कुनै पनि हालतमा अंक गुमाउनु हुँदैन ।

तर, मसँग भएका खेलाडीले जुन स्तरको खेलिरहेको छ त्यति मात्रै खेले पनि हामी अंक हासिल गर्छौं जस्तो लाग्छ ।

दबाब सबै खेलमा हुन्छ । चाहे जितोस् वा हारोस् । खेल्नुभन्दा अगाडि पनि हुन्छ र पछाडि पनि हुन्छ । त्यो दबाबलाई थेग्न सक्ने क्षमता हुनुपर्छ ।

किर्गिस्तानविरुद्धो खेलमा नै फोकस गर्नुपर्ने देखिन्छ । त्यसपछि मात्रै बंगलादेशको बारेमा सोच्नु राम्रो हुन्छ ।

तीन महिनाको दौरानमा उत्कृष्ट प्रदर्शनको आधारमा टोलीमा राखेका छौं । जो, उत्कृष्ट छ, जो क्षमतावान् छ, जो अफोर्डेबल छ, जो टिमलाई आवश्यक छ, त्यो अनुसार नै टोली छनोट गरेको हो ।

त्यसमा म लगायत मेरो टेक्निकल टोलीको पनि भूमिका छ ।

यो विश्वकप छनोट तयारीका लागि मैत्रीपूर्ण खेल मात्रै हो । अहिले यो थ्री नेसन्समा परिणत भयो । तर, हामीले अन्तत: खेल्ने भनेको विश्वकप छनोटका खेलहरू नै हो । त्यसमा अस्ट्रेलिया, जोर्डन चाइनिज ताइपेइसँग खेल्नुपर्छ । त्यो आधारमा मैले टोलीका लागि आवश्यक खेलाडीहरूलाई प्राथमिकता दिएको छु ।

अहिले टोलीबाट हटाइएका खेलाडीहरूलाई यो टोलीको प्रदर्शनको आधारमा एक महिनापछि फेरि बोलाइने छ । र, यो भन्दा राम्रो खेलाडी आयो भने त्यसले पनि टोलीमा मौका पाउन सक्छ ।

टोलीमा समावेश भएका खेलाडीप्रति विश्वस्त र आशावादी छु । उनीहरूसँग जुन क्षमता छ, त्यसमा म सन्तुष्ट छु ।

आवश्यकताअनुसार टोलीमा समेटिएका नयँ खेलाडीले सुरुआतदेखि नै र सब्टिच्युटमा पनि खेल्न सक्छन् ।

मिडफिल्ड, डिफेन्स र अट्याकिङमा पनि हामीले बलियो बनाएका छौं । जस्तै दर्शन गुरुङ युवा खेलाडी हो, डेब्यू गरेर पनि राम्रो प्रदर्शन गरिसकेको छ ।

पछिल्लो तीन महिनाको दौरानमा पनि उसले आफूलाई राष्ट्रिय टोलीमा स्वागत योग्य साबित गरेको छ । त्यस्तै अञ्जन विष्टले पनि राम्रो प्रदर्शन गरिरहेको छ । संजोग पनि राम्रो छ ।

अनन्त तामाङ पूर्ण रूपमा फिट छ । इन्जुरी भएको हो । तर, उसलाई ट्रायल गरिसकिएको छ । फिजियोसँग सल्लाह गर्दा पनि उसको फिटनेसमा केही समस्या नभएको कुरा छ ।

अनन्तले  किर्गिस्तानविरुद्धको खेलमा सुरुआती ११ मै स्थान बनाउने पनि सम्भावना छ । त्यो अवस्था हेरेर हुन्छ ।

फर्मेसन्सभन्दा पनि हामी अंक हासिल गर्नका लागि खेल्छौं ।

रंगशालामा घरेलु समर्थक अगाडि खेल्दा दबाबभन्दा पनि ‘मोटिभेसन’ हुन्छ । किनभने धेरै पछि खेल्न पाइरहेका छौं । तसर्थ केही हदसम्म दबाब पनि हुन्छ । तर, धेरै हदसम्म टोलीलाई ‘मोटिभेसन’ पनि हुन्छ ।

तीन कि एक अंक हासिल गर्ने भन्ने कुरा चाहिँ पहिलो खेलको नतिजामा भरपर्छ ।

नेपालको टोली

गोलकिपर: किरण लिम्बु, बिकेश कुथु, दीप कार्की

डिफेन्डर: रन्जित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, विराज महर्जन, छिरिङ गुरुङ

मिडफिल्डर: त्रिदेव गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, एरिक विष्ट, संजोग राई, बिशाल राई, सुनिल बल, रविशंकर पासवान

फरवार्ड: अन्जन विष्ट, दर्शन गुरुङ, अभिषेक रिजाल, भरत खवास


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर