प्रहरी सङ्गठन सुधारमा मन्त्रालय गम्भीर छः गृहसचिव न्यौपाने – Nepal Press

प्रहरी सङ्गठन सुधारमा मन्त्रालय गम्भीर छः गृहसचिव न्यौपाने

काठमाडौँ । गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले प्रहरी सङ्गठन सुधारका विषयमा गृह मन्त्रालय गम्भीर रहेको बताएका छन् । प्रहरी प्रधान कार्यालयको निरीक्षणका क्रममा बुधबार गृहसचिव न्यौपानेले शान्ति सुरक्षामा चुस्त पार्ने गरी काम गर्न पनि प्रहरीलाई निर्देशन दिएका छन् ।

निरीक्षणका क्रममा उनले प्रहरी प्रधान कार्यालय कमाण्ड सेन्टरको पनि अवलोकन गर्नुका साथै उक्त सेन्टरबाट भिडियो कन्फरेन्सबाट सातवटै प्रदेश प्रहरी कार्यालयको शान्ति सुरक्षाबारे जानकारी लिँदै प्रदेश प्रहरी प्रमुखलाई निर्देशन पनि दिएका छन् ।

उनले सबै प्रदेशको शान्ति सुरक्षाको अवस्था चुस्त दुरुस्त राख्न तथा आ–आफ्नो क्षेत्रमा तस्करी नियन्त्रण एवं राजस्व वृद्धिमा थप सक्रियता बढाउनुपर्नेमा जोड दिए । आगामी वर्ष पनि बेरुजु फछ्र्योटमा सर्वोत्कृष्ट हुनेतर्फ ध्यान केन्द्रित गरी समूह बनाएर थप सक्रियताका साथ लाग्न उनले सुझाव दिए ।

प्रहरीको भौतिक पूर्वाधार निर्माण तथा वृत्ति विकासलगायतका सवालमा पनि गृह मन्त्रालयले ध्यान दिएको गृहसचिव न्यौपानेको भनाइ थियो । उनले प्रहरी प्रधान कार्यालयबाट भए गरेका गतिविधि तथा प्रगतिसम्बन्धी जानकारी पनि लिएका छन् ।

निरीक्षणपछि आयोजित समारोहमा गृहसचिव न्यौपानेले प्रहरी कर्मचारीलाई आफ्नो आचरण एवं अनुशासनमा संवेदनशील भई पूर्ण इमान्दारिताका साथ जिम्मेवारी बहन गर्न निर्देशन दिएका छन् । उनले नेपाल प्रहरी सङ्गठनको सुदृढीकरण र शुद्धीकरणमा गृहमन्त्रालय सदैव दृढ एवं क्रियाशील रहेको बताए ।

उनले प्रहरीका कार्यालयको गतिविधि अनुगमन तथा कारवाही प्रक्रिया अघि बढाउनुपर्ने बताउँदै प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयको प्रशासन सुधार योजना कार्यान्वयनका साथै अपराध अनुसन्धान तथा नियन्त्रण, क्षमता अभिवृद्धिलगायतका कार्ययोजनामा प्रहरी सङ्गठन निरन्तर सुधारको पक्षमा लाग्नुपर्नेमा जोड दिए ।

समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक (आइजीपी) शैलेश थापाले गृहसचिवबाट प्राप्त निर्देशनलाई नेपाल प्रहरीले थप जिम्मेवारी बोधसहित कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रहरी कर्मचारीले इमान्दार भई कार्यसम्पादन गर्नुपर्ने उनको भनाइ थियो । नेपाल प्रहरीले आन्तरिक शुद्धीकरणलाई निरन्तरता दिई प्राथमिकतामा राखेर नेपाल प्रहरीलाई एउटा प्रणालीमा ल्याउने प्रयास गरिरहेको प्रहरी महानिरीक्षक थापाले बताए ।

प्रहरी कर्मचारीको आचरण व्यवहारलाई अझै सुधार गर्न नेपाल प्रहरीले विभिन्न कार्य योजना तय गरी मासिक समीक्षा गर्दै यसको पूरा कार्यान्वयनमा जोड दिएको उनको भनाइ थियो । समारोहमा प्रहरी उपरीक्षक (एसपी) मनोजकुमार केसीले नेपाल प्रहरीको गतिविधि तथा प्रगतिसम्बन्धी समीक्षात्मक प्रस्तुति प्रस्तुत गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *