वर्सेनि ७० हजार क्षयरोगी थपिँदै, १७ हजारको मृत्यु – Nepal Press
सन्दर्भः क्षयरोग निवारण दिवस

वर्सेनि ७० हजार क्षयरोगी थपिँदै, १७ हजारको मृत्यु

रोगलाई नलुकाउन चिकित्सकको सुझाव

रुपन्देही । नेपालमा हरेक वर्ष क्षयरोगका बिरामी बढिरहेका छन् । सरकारी तथ्यांकअनुसार नेपालमा आर्थिक वर्ष २०७५–७६ मा करिब ७० हजार नयाँ क्षयरोगका विरामी थपिएका छन् । जनु तथ्यांकसरकारी स्वास्थ्य संस्थामा उपचार गराउनेको हो ।

स्वास्थ्यविज्ञका अनुसार नेपालमा ४१ हजार क्षयरोगका नयाँ बिरामी अझै पनि उपचारको पहुँच बाहिर भएको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले जनाएको छ ।

आर्थिक वर्ष २०७६–७७ मा नेपालमा क्षयरोगका बिरामी पत्ता लाग्ने दर प्रतिलाख जनसंख्यामा ९३ जना रहेका छन् । यस्तै गत आर्थिक वर्षमा १ लाख ५५ हजार ३ सय ७१ जना क्षयरोगका सम्भावित विरामीको विभिन्न विधिबाट परीक्षण गर्दा २७ हजार ७ सय ४५ जना नयाँ क्षयरोग भेटिएको थियो ।

उनीहरुलाई राष्ट्रिय क्षयरोग कार्यक्रमको नीतिअनुसार उपचार गरिएको थियो । क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षणका अनुसार नेपालमा निजी स्वास्थ्य संस्थामा क्षयरोगको निदान ९ प्रतिशत छ ।

यस्तै उपचार गराउनेको संख्या करिब १५ प्रतिशत रहेको अनुमान गरिएको छ । हाल देशभर ४ हजार ९ सय ५५ उपचार केन्द्रहरुबाट डस्ट उपचार सेवा तथा ७६५ प्रयोगशाला र ७२ वटा जीनएक्सपर्ट केन्द्र एवम् २ वटा राष्ट्रिय प्रेषण प्रयोगशालाबाट क्षयरोगको रोग निदान सेवा प्रदान गरिएको छ ।

यस्तै, औषधि प्रतिरोधी क्षयरोगका २२ वटा उपचार केन्द्र, ८१ वटा उपचार उपकेन्द्र, ६ वटा डिआर होस्टेल, एउटा डिआर होम र एउटा टिटिआरएमसीमार्फत सेवा उपलब्ध गराइएको छ । नेपालमा वार्षिक १७ हजार क्षयरोगका बिरामीको मृत्यु हुने गरेको केन्द्रले जनाएको छ ।

रोगलाई नलुकाउन चिकित्सकको सुझाव

जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका क्षय/कुष्ठ निरीक्षक टिकाराम अधिकारीले क्षयरोग अन्त्यका लागि निकै चुनौती भएको बताएका छन् । बहुऔषधि प्रतिरोधको असर, क्षयरोग एचआईभी सहसंक्रमण, मधुमेहका विरामीहरुमा क्षयरोगको जोखिम, निजी क्षेत्रबाट प्रदान भएका सेवाको तथ्यांक मूल धारमा ल्याउन नसक्नु, बसाईसराई, खुला सिमाना क्षयरोग नियन्त्रणका मुख्य चुनौती भएको उनले बताए ।

सन् २०५० सम्म क्षयरोग अन्त्य गर्ने परिकल्पना अनुसार विरामी र मृत्युदर घटाइ रोग सर्ने प्रक्रियालाई नियन्त्रण गर्ने लक्ष्य सरकारले अघि बढाएको छ ।

नेपालमा सन् १९९६ भक्तपुर, पर्सा, नवलपरासी र कैलाली जिल्लामा पाइलट कार्यक्रमका डट्स विधि शुरु भएकोमा अहिले सबै जिल्लामा लागू भएको छ । डट्सभन्दा पहिला उपचारमा रहेका विरामीहरुमध्ये करिब ३३ प्रतिशत मात्र निको हुने दर थियो भने अहिले ९० प्रतिशतभन्दा माथि रहेको उनले बताए ।

जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख डा. राजेन्द्रकुमार गिरीले डिआर टिवि उपचारमा धेरै कठिनाइ हुने गरेको बताए । सरकारको पहिलो प्राथमिकतामा यसको उपचार निःशुल्क गराएको भए पनि चेतना अभावले समस्या देखिने वरिष्ठ फिजिसियन डाक्टर नन्दु पाठकले बताए । उनले रोग लुकाउने समस्या भएका कारण यो रोगका बिरामी बढेको बताए ।

लुम्बिनी प्रदेशमा पाँच हजार बढी क्षयरोगी

लुम्बिनी प्रदेशमा ५ हजार ६ सय ६२ जना क्षयरोगका विरामी छन् । लुम्बिनी प्रदेशभित्र रुपन्देहीमा सबैभन्दा धेरै १ हजार १ सय ६३ जना क्षयरोगका बिरामी छन् । सबैभन्दा कम रुकुमपूर्वमा २५ जना छन् ।
रुपन्देही जिल्लामा १६ वटा गाउँपालिकामा उपचार केन्द्र र ९२ वटा स्वास्थ्य केन्द्रबाट औषधि उपचार उपलब्ध रहेको जनस्वास्थ्य कार्यालय प्रमुख डा. राजेन्द्रकुमार गिरीले बताए ।

लुम्बिनी प्रादेशिक अस्पताल डट्स क्लिनिकका इन्चार्ज सत्यराज शाक्यले समाजमा बिस्तारै क्षयरोगी खुल्न थालेकाले उपचारमा सहज बन्दै गएको बताए । डिआर टिबी सेवा संचालन गर्दा शुरुवातमा धेरै कठिनाई आएको स्वास्थ्य स्वयंसेवी पुष्पा न्यौपाने शर्माले बताइन् । विरामीहरु फलोअपमा नआउने, छिमेकीहरुबाट सेवा केन्द्र सार्न दबाब आएको उनले बताइन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *