मोरङमा चार दिनमा १० जना नयाँ कोरोना संक्रमित भेटिए – Nepal Press

मोरङमा चार दिनमा १० जना नयाँ कोरोना संक्रमित भेटिए

नाकामा पुनः स्क्रिनिङ शुरु

विराटनगर । मोरङमा कोरोना भाइरसका नयाँ संक्रमित भेटिन थालेका छन् । केही दिनयता भारतमा कोरोना संक्रमण दर उच्च भएसँगै सिमावारीका जिल्ला मोरङमा नयाँ संक्रमित देखापर्न थालेको हुन् ।

पछिल्लो चार दिनमा १० जनामा संक्रमण भेटिएको छ । जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताका अनुसार नयाँ फेला परेका संक्रमित मध्ये ६ जना विराटनगर, ३ जना सुन्दरहरैँचा नगपालिकाका र १ जना पथरीशनिश्चरे नगरपालिकाका रहेका छन् । संक्रमितमा चार जना पुरुष र दुई जना महिला छन् ।

विराटनगरमा दुई महिनायता कोरोना संक्रमण देखिएको थिएन । संक्रमण नदेखिएपछि महानगरपालिकाले पीसीआर परीक्षणका लागि स्वाब संकलन केन्द्र पनि बन्द गरेको थियो । तर चैत ५ गतेयता विराटनगरमा संक्रमण देखिन थालेको हो ।

चैत ६ गते विराटनगरमा एक जनामा संक्रमण देखिँदा प्रदेश-१ मा ६ जनालाई कोरोना पोजिटिभ देखिएको थियो । चैत ७ गते कोरोना संक्रमित भेटिएनन् । तर ८ गते विराटनगरमा एकसहित प्रदेशमा दुई जनामा कोरोना पुष्टि भयो ।

सीमा नाकामा पुनःस्क्रिनिङ गर्ने काम शुरु
कोरोना भाइरसका नयाँ संक्रमित देखापर्न थालेपछि भारतसँग सीमा जोडिएका प्रदेशका तराईका जिल्लाहरूको सीमा नाकामा पुनः स्क्रिनिङ शुरु गरिएको छ । झापा, मोरङ , सुनसरी र इलामका चार जिल्लाको नाकामा सतर्कता अपनाउने र नेपाल प्रवेश गर्न खोज्ने शंकास्पद व्यक्तिको एण्टिजेन परीक्षण गर्ने कामको थालनी भएको हो ।

भारतसँग सीमा जोडिएका प्रदेश -१ का झापा, मोरङ, सुनसरी र इलामका सीमा नाकाबाट नेपाल प्रवेश गर्ने स्थानमा कडाइसँगै स्क्रिनिङ शुरु गरिएको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए ।

‘पछिल्लो दिनमा नयाँ संक्रमित हुनेको संख्या बढ्दो छ । भविष्यमा पुनः महामारीको अवस्था आउन नदिन सुरुवाती चरणबाटै हामीले स्क्रिनिङ र आशंका लागेको अवस्थामा एन्टिजेन परीक्षण गर्ने व्यवस्था गरेका छौ,’ निरौलाले भने ।

यसलाई कडाइका साथ पालना गराउने काम हुने उनले बताए । पछिल्लो समय फेला परेका नयाँ संक्रमितको कन्ट्याक्ट ट्रेसिङ भने अहिलेसम्म हुन सकेकोे छैन ।

पीसीआर संकलन बन्द गरेका कारण महानगरपालिकाले कन्ट्याक्ट ट्रेसिङमा चासो नदिएको हो । विराटनगर महानगरपालिका स्वास्थ्य संयोजक रमेश कार्कीले नयाँ संक्रमितमा दोस्रो फेजको कोरोना संक्रमण भएको आशंका गरिएको बताए । संक्रमितको कन्ट्याक ट्रेसिङ महानगरपालिकाले गर्ने उनले बताए ।

कोसी अस्पताल विराटनगरमा मेडिकल सुपरीटेण्डेन्ट डा.चुमनलाल दासका अनुसार विराटनगरमा कोरोना जाँच गर्दा नयाँ संक्रमित देखिन थालेका छन् । पछिल्लो चरणमा देखिएको संक्रमण दोस्रो फेजको कोरोना हुनसक्ने उनको अनुमान छ ।

जनस्वास्थ्यविद्को भन्छन्– जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गरौं
प्रदेशमा कोरोना संक्रमण दरको उच्च भएकाले महामारी फैलन सक्ने जनस्वास्थ्यविद् को अनुमान छ । भारतसँग सिमाना जोडिएका तराईको जिल्लामा कोरोनाको नयाँया केस देखिने क्रम शुरु भइसकेकाले सबैले जनस्वास्थ्यको मापदण्ड पूर्ण पालन गर्न उनीहरूले आग्रह गरेका छन् ।
जनस्वास्थ्यविद् डा नवराज सुब्बा भन्छन्, ‘संख्यात्मक हिसाबले कम संक्रमित देखिए पनि सावधानी अपनाउन छोडेमा छिमेकी राष्ट्र भारतमाझैँ नेपालमा पनि नयाँ संक्रमित वृद्धि हुन सक्छ । त्यसैले सजग बनौं ।

होली खेल्न रोक
कोरोनाको संक्रमण समुदायस्तरमा फैलन नदिन समुदायमा होली खेल्न रोक लगाइएको छ । जिल्ला सुरक्षा समितिको बैठकमार्फत् समुदायस्तरमा होली खेल्न रोक लगाइएको प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिए ।

जमघट र भीडभाड गरेर समुदायमा होली खेल्दा कोरोना संक्रमण थप फैलने र त्यसले जनस्वास्थ्यमा गम्भीर असर पुर्‍याउने जोखिम बढेपछि होलीका रोक लगाउनुपरेको उनको भनाइ छ ।

प्रजिअ निरौलाका अनुसार यसवर्ष परिवारका सदस्यबीचमा स्वास्थ्य मापदण्ड अपनाएर मात्रै होली मनाउन बैठकमार्फत सबैमा अनुरोध गरिएको छ । त्यस्तै होलीका अवसरमा मेला तथा विभिन्न कार्यक्रम र जमघट गर्न रोक लगाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर