बालिका अपहरण गरी करणी गरेको आरोपमा दुई जना पक्राउ – Nepal Press

बालिका अपहरण गरी करणी गरेको आरोपमा दुई जना पक्राउ

रूपन्देही । रुकुमपूर्वमा बालिकालाई अपहरण गरी शरीर बन्धक र जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।  १४ र १५ वर्षीया दुई बालिकालाई अपहरण गरी करणी गरेको आरोपमा रुकुमपूर्वकै दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा २३ वर्षीय पुरुष र १४ वर्षीय बालक रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गनेशबहादुर श्रेष्ठले जानकारी दिए । उनकाअनुसार उनीहरूलाई सोमबार पक्राउ गरिएको हो । गत चैत्रको १ गते घरबाट हराएका  बालिकाहरु ९ दिनसम्म पनि परिवारको सम्पर्कमा नआएपछि सोमबार मात्रै प्रहरीमा आफन्तको निवेदन परेको डिएसपी श्रेष्ठले बताए ।

निवेदन परेलगत्तै प्रहरीले अनुसन्धान थालेको र सोही दिनै अभियुक्त दुई जनालाई रुकुमकोटबाटै पक्राउ गरिएको उनले जानकारी दिए ।  दुई बालिकालाई २३ वर्षको पुरुषको कोठामा शरीर बन्धक बनाइ जबरजस्ती करणी गरेको अवस्थामा फेला पारी उद्धार गरिएको प्रहरीले जनाएको छ । १ गते अपहरण गरेर कोठामा बन्धक बनाएर राखेको दिनबाटै बालिकाहरूमाथि करणी हुँदै आएको अनुसन्धानबाट खुल्न आएको डिएसपी श्रेष्ठले बताए ।

‘बालिकाहरुलाई बिहान ५ बजे  दिसा पिसाब गराउनको लागि आफैं ट्वाइलेट पुर्‍याउने र त्यसपछि दिनभरि कोठामा थुनेर राख्ने गरेको खुल्न आएको छ । बालीकाहरू रुने, चिच्याउने गरेमा विभिन्न धम्की दिएर डराइरहेको रहेछ, डिएसपी श्रेष्ठले भने ।

अभियुक्त दुई जनामाथि अपहरण, शरीर बन्धक र जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको छ । बालिकाहरूको  स्वास्थ्य परीक्षण भइरहेको र प्रहरीको संरक्षणमा राखिएको छ । डिएसपी श्रेष्ठका अनुसार बालिकाहरूको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर