उड्ययन प्राधिकरणले पाँच अर्ब गुमायो, एयरलायन्स कम्पनीको घाटा १२ अर्ब – Nepal Press
लकडाउनको एक वर्ष

उड्ययन प्राधिकरणले पाँच अर्ब गुमायो, एयरलायन्स कम्पनीको घाटा १२ अर्ब

काठमाडौं । कोरोना कहरका कारण हवाइ क्षेत्रको नियामक निकाय नागरिक उड्ययन प्राधिकरणको वार्षिक आम्दानी ७५ प्रतिशतले घटेको छ । कोरोना संक्रमण र लकडाउनका कारण हवाइ उडान कम भएपछि प्राधिकरणको आम्दानी घटेको हो ।

प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार विगतका वर्षमा करिब ९ अर्ब आम्दानी गर्दै आएको प्राधिकरणले यो वर्ष २ अर्ब रुपैयाँ मात्रै कमाएको छ ।

कोरोना र लकडाउनका कारण करिब पाँच महिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक तथा अन्तराष्ट्रिय तथा आन्तरिक उडान भएनन् । उक्त समयमा नेपाली वायुसेवाले आन्तरिक र बाह्य गरेर पाँच अर्ब घाटा व्यहोरेको हो ।

आन्तरिकतर्फका वायुसेवा कम्पनीले भने करिब १० अर्ब ६२ करोड र अन्तर्राष्ट्रिय उडान भर्ने हिमालयन एयरलाइन्सले करिब २ अर्ब रुपैयाँ बराबरको घाटा ब्यहोरेको क्षेत्रीले जानकारी दिए ।

कोरोनाका कारण बन्द भएको हवाई क्षेत्र पाँच महिनापछि गत सेप्टेम्बरमा खुला गरिएको थियो । पछिल्लो समय आन्तरिक उडानले क्रमशः गति लिन थालेको बताउँछन् क्षेत्रीले बताए । उनका अनुसार आन्तरिकतर्फ ५० प्रतिशत उडान हुन थालेको छ ।

अघिल्ला वर्षहरुमा यो समयमा दैनिक २२०देखि २२५ आन्तरिक उडान भएको थियो । यस वर्ष भने १०७ उडान मात्रै भएको तथ्यांक छ ।

यसैगरी अन्तर्राष्ट्रिय उडानमा गत वर्ष यो सिजनमा दैनिक ५०–५५ उडान हुने गरेकोमा अहिले १० देखि १५ मात्रै भएका छन् । यो विगतका वर्षको भन्दा ७५ प्रतिशतले कमी हो । अन्तर्राष्ट्रिय उडानमा यात्रु संख्या ३५ प्रतिशत पुगेको छ । आन्तरिक र अन्तर्राष्ट्रिय आवगमन गर्ने यात्रुको संख्या अहिले दैनिक तीन हजार छ ।

पछिल्लो समय भने प्राधिकरणको आम्दानी बढ्न थालेको बताउँछन् प्रवक्ता क्षेत्री । प्राधिकरणको मुख्य आम्दानीको स्रोत ग्राउण्ड ल्याण्डिङ हो । यसैगरी पीएससी, ल्याण्डिङ, नेभिगेसन, रेन्ट, पार्किङ, हेङ्गर, जहाज ६ घण्टाभन्दा बढी समय बसेमा थप चार्ज, रेडार प्रयोग चार्ज, एरोनोटिकल, ननएरोनोटिकललगायतका शीर्षकमा क्यानले रकम उठाउँदै आएको छ । यी सबैबाट उठेको रकम नै प्राधिकरणको आम्दानी हो ।

प्रवक्ता क्षेत्रीका अनुसार २०७५ चैतदेखि माघ २०७६ सम्म प्राधिकरणको अम्दानी ८ अर्ब ४४ करोड ५४ लाख २७ हजार ५४७ रुपैयाँ भएको थियो । २०७६ चैतदेखि २०७७ माघसम्ममा प्राधिकरणको आम्दानी ७५ दशमलव ८१ प्रतिशतले घटेर २ अर्ब ४ करोड २५ लाख रुपैयाँमा खुम्चन पुगेको छ । हाल प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थलबाट महिनामा ४० करोड रुपैयाँ उठाएको छ । कोरोना कहरअघि प्राधिकरणले दैनिक ९० करोड रुपैयाँ उठाउने गरेको थियो ।

क्षेत्री अुनसार नेपालले कुनै पनि अन्तर्राष्ट्रिय उडानलाई रोक लगाएको छैन । तर, कोभिडका कारण अझै पनि धेरै देशले उडान गर्न भने सकेका छैनन् । भुटान, थाइल्याड, मलेसियाका एयरलायन्सले उडान नै गरेका छैनन् । चीनले छ ओटा उडान गर्नु पर्नेमा अहिले दुई ओटामात्र उडान गर्ने गरेको बताउँछन् क्षेत्री । उनका अनुसार युरोपबाट नेपालमा हुने उडान पनि भएको छैन । हाल टर्किस एयरलाइन्स, फ्लाइट दुवही, एयर अरबीया, एयर इन्डिया, नेपाल एयरलाइन्स, हिमालयन एयरलाइन्स, हङकङको ड्रागन एयर, सिङगापुरको शिल्क एयरले नियमित उडान गरिरहेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्स र हिमालयन कम्पनीसहित २८ वटा कम्पनीले विदेश उडान गर्दै आएका छन् । यसैगरी आन्तरिक उडानमा ‘फिष्ट वीङ’ यात्रु बोक्ने ९ वटा कम्पनीका जहाज र १० ओटा हेलिकप्टरले उडान भरिरहेका छन् ।

सन् २०१९ मा ४१ लाख ३८ हजार ४८२ यात्रु हवाइमार्ग हुँदै नेपाल आएका थिए । सन् २०२० मा केही महिनाअघिसम्म१० लाख ३९ हजार ३२२ जनाले हवाइमार्गबाट यात्रा गरेको तथ्यांक छ । जुन गत वर्षको तुलनामा करिब ७२ प्रतिशतले कम हो ।

कोभिडका कारण नेपालले विदेशीलाई नेपाल आउन प्रतिवन्ध लगाएको र आउनेले पनि विभिन्न झण्झटिलो प्रक्रिया पूरा गर्नु पर्ने भएकाले अन्तर्राष्ट्रिय उडान हुन नसकेको बताउँछन् प्रवक्ता क्षेत्री । ‘यहाँ खुलेआम मानिस आवात–जावत गरिरहेका छन् तर, विदेशीले पीसीआर टेष्ट गरेर आउँदा पनि विभिन्न झन्झट दिइन्छ’, उनले भने । अब पीसीआर गरेर आएका विदेशीलाई रोक्नु नहुने क्षेत्रीको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर