थ्री नेसन्स कपमा बंगलादेशको विजयी सुरुआत – Nepal Press

थ्री नेसन्स कपमा बंगलादेशको विजयी सुरुआत

काठमाडौं । बंगलादेशले थ्री नेसन्स कपको पहिलो खेलमा मंगलबार किर्गिस्तान यु-२३ लाई १-० गोलको नतिजामा पराजित गरेसँगै प्रतियोगितामा सुखद् सुरुआत गरेको छ ।

दशरथ रंगशालामा भएको खेलको २९औं मिनेटमा किर्गिज डिफेन्डर कुमारबाज युलु बैमानले गरेको आत्मघाति गोलसँगै बंगलादेशले अग्रता लिएको थियो ।

पहिलो हाफमा लिएको १-० को अग्रताको बचाउ गर्दै बंगलादेशले कठिन जित सुनिश्चित गर्‍यो । २०१३ पछि पहिलो पटक दशरथ रंगशालामा आयोजित अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा घरेलु टोली नेपालसहित किर्गिस्तान यु-२३ र बंगलादेश सहभागी छन् ।

राउन्ड रोबिन पद्धतिमा जारी प्रतियोगिताको पहिलो चरणबाट शीर्ष दुई टोलीले फाइनल खेल्ने छन् । आयोजक टोली नेपालले आफ्नो पहिलो खेलमा बिहीबार किर्गिस्तान यु-२३ को सामना गर्नेछ ।

विश्वकप छनोट अन्तर्गतको पूर्व निर्धारित खेल पुन: स्थगित भएपछि एन्फाले थ्री नेसन्स कपको अयाोजना गरेको हो ।

१५ हजार क्षमताको दशरथ रंगशालामा १२ हजारमात्र टिकट बिक्री गरिने एन्फाले बताएको छ । प्रत्यक्ष खेल हेर्नका लागि साधारण प्यारापिटतर्फ ७ सय र भीआईपी प्यारापिटका लागि १५ सय रुपैयाँ टिकट निर्धारण गरिएको छ ।

प्रतियोगिताको विजेताले ५ हजार तथा उपविजेताले ३ हजार अमेरिकी डलर प्राप्त गर्नेछन् । त्यस्तै, प्रतियोगिताको मोस्ट भ्यालुएबल प्लेयरले ५ सय डलर तथा म्यान अफ दी म्याचले २५० डलर प्राप्त गर्ने आयोजकले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *