एमाले-जसपा वार्ता: सकारात्मक तर निष्कर्षविहीन (भिडियो) – Nepal Press

एमाले-जसपा वार्ता: सकारात्मक तर निष्कर्षविहीन (भिडियो)

काठमाडौं । नयाँ सत्ता समीकरणलाई लिएर नेकपा एमाले र जनता समाजवादी (जसपा) बीच भएको वार्ता सकारात्मक भएको बताएका छन् । तर, वार्ता भने कुनै निष्कर्षमा पुग्न सकेको छैन ।

दुवै पक्षका नेता मंगलबार बिहान सम्भावित सत्ता सहकार्यको लागि छलफलमा जुटेका थिए । जसपा नेता महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला छलफलका लागि बालुवाटार पुगेका थिए।

वार्ता सकारात्मकरूपमा अघि बढेको भन्दै नेता महतोले भने, ‘मुद्दा मामिलाको सन्दर्भमा गृहकार्य सकारात्मक रूपमा अगाडि बढेको छ । काम होस् भन्ने हामीले चाहेको । पहिले मुद्दा मामिलाको अगाडि बढोस् न । अनि बाँकी कुरा पनि गरौँला नी त ।’

जसपाका अर्का नेता लक्ष्मणलाल कर्णले प्रधानमन्त्री ओलीसँगको भेटमा आफ्ना मागहरूको विषयमा कुरा भएको बताए । माग पूरा गर्ने आश्वासन आएको भए पनि देखिने गरी काम नभएको बताए ।

‘हामीले त्यहाँ ४ वटा विषयहरू उठाइरहेका छौँ,’ उनले भने, ‘आश्वासन अस्तिदेखि पाइराख्या छौं । तर देखिने गरी काम आएकै छैन । काम हुनुपर्‍यो । त्यसपछि मात्रै हामी निर्णय गर्छौं भन्ने कुरा गर्‍यौँ ।’

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले भने जसपा र एमालेबीचको सम्बन्धमा कुनै सर्त नभएको बताए । रेशम चौधरीको रिहाइ, मधेस आन्दोनसँग सम्बन्धित विषयमा कुरा भएपनि सत्ता साझेदारीको विषयमा कुरा नउठेको उनको भनाइ छ ।

उनले भने, ‘कुनै पनि सर्तबन्दी छैन हाम्रो सम्बन्धमा । उहाँहरूले कुनै पनि सर्तबन्दी राख्नुभएको छैन । रेशम चौधरी, मधेस आन्दोलनलगायतका विषयमा उहाँहरूले भन्नुभएको छ । सत्ता साझेदारी गर्ने कुरा त्यहाँ उठिरहेको छैन ।’

एमाले र जसपाका नेताहरूबीच यो विषयमा सोमबार साँझ पनि छलफल भएको थियो । पछिल्लो समय तत्कालीन राजपा पक्षधर नेताहरूले ओलीसँग सामिप्यता बढाएपछि तत्कालीन संघीय समाजवादी पार्टीका नेताहरू बाबुराम भट्टराई, उपेन्द्र यादवलगायत सशंकित छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर